Rumpum Advertisement

छठ प्रकृति र सभ्यताको अनुपम उदाहरण : मन्त्री भट्टराई

छठ प्रकृति र सभ्यताको अनुपम उदाहरण : मन्त्री भट्टराई

काठमाडौं, ४ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सूर्योपासनाको पर्व छठ प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताएका छन् ।

छठका अवसरमा आज शुभकामना व्यक्त गर्दै मन्त्री भट्टराईले मानव अस्तित्वसँग जोडिएको ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यको आराधना गरेर मनाइने छठको प्रयोगात्मकरुपमा वैज्ञानिक महत्व भएको उल्लेख गरेका छन् ।

‘छठ पर्व एउटा समुदाय, एउटा भूगोलविशेषमा मात्र सीमित छैन, विगतमा मुख्यरुपमा तराई–मधेसमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकालगायत मुलुकका अन्य भू–भागमा पनि धुमधामसँग मनाउन थालिएका कारण हाम्रो मौलिक संस्कृतिको आयतन फराकिलो बनेको छ,’ मन्त्री भट्टराईले शुभकामना सन्देशमा भनेका छन्, ‘जातीय, धार्मिक र साम्प्रदायिक विविधता भएको हाम्रो जस्तो मुलुकमा सांस्कृतिक आयतन जति फराकिलो बन्दै जान्छ, त्यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहार्दतालाई पनि प्रगाढ र सुमधुर बनाउने छ ।’

मन्त्री भट्टराईले पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको उल्लेख गदै यो एकताले निश्चय नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को महाभियानलाई सफल बनाउन ठूलो टेवा मिल्ने विश्वास व्यक्त गरे ।

उनले सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताको धरोहर छठले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता, मेलमिलाप र मुलुकको समृद्धिका लागि गोलबद्ध हुन थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । रासस

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ