Rumpum Advertisement
Dazzu

तस्करीको सुन दुबईबाट नेपाल, बैंकमा शंकास्पद कारोबार

तस्करीको सुन दुबईबाट नेपाल, बैंकमा शंकास्पद कारोबार

चोरी, तस्करी, द्वन्द्वग्रस्त मुलुकहरूबाट सुन कारोबार गर्ने दुबईका दुई कम्पनीमार्फत नेपालमा सुनको कारोबार हुन्छ । यो शंकास्पद कारोबारमा नेपाली बैंकहरूको पनि संलग्नता देखिन्छ ।

विराटनगर, ४ मंसिर । ‘फिनसेन फाइल्स’ ले दुबईमा तस्करीको सुन किनबेच गर्ने कम्पनीहरूको नाम खुलासा गरेको छ । हामीले तिनको नेपाल कारोबारका सम्बन्धमा अनुसन्धान गर्‍यौं । अनुसन्धानबाट नेपालमा पनि ती कम्पनीहरूमार्फत सुन भित्र्याइएको भेटियो । तस्करीको सुन खरीदबिक्री गर्ने भनेर आरोप लागेको दुबईको ‘कालोटी ज्वेलरी इन्टरनेशनल डीएमसीसी’ र ‘भिरेन ज्वेलर्स’ बाट नेपालमा सुन भित्र्याउने गरेको खुलासा भएको हो ।

९ माघ २०७४ मा सार्वजनिक भएको ‘३३ किलो सुन तस्करी प्रकरण’ का मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ ले ‘भिरेन ज्वेलर्स’ बाट धेरैजसो सुन खरीद गरेर नेपाल ल्याउने गरेको जिल्ला अदालत मोरङमा बयान दिएका छन् । त्यसैगरी अर्को कम्पनी ‘कालोटी’ बाट तत्कालीन ललितपुर उप–महानगरपालिका–८, बालकुमारी ठेगाना उल्लेख भएको ‘सास्ता ट्रेडिङ कम्पनी लिमिटेड’ ले सुन ल्याएर ‘शंकास्पद कारोबार गरेको’ फिनसेनका गोप्य कागजातहरूले देखाएको छ ।

‘फिनसेन’ ले तयार पारेका कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले गरेको खुलासा अनुसार दुबईको कालोटी ज्वेलरी इन्टरनेशनल डीएमसीसी कम्पनीले चोरी तस्करी, आपराधिक क्रियाकलाप र द्वन्द्वग्रस्त मुलुकहरूबाट सुन खरीद गर्ने काम गर्छ ।

यही कम्पनीबाट नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीका अध्यक्ष समेत रहेका नेपाली व्यवसायी त्रिभुवनधर तुलाधरको ‘सास्ता ट्रेडिङ कम्पनी लिमिटेड’ ले नेपालमा सुन ल्याई बिक्री गर्ने गरेको यसअघि फिनसेन फाइल्सको नेपाल नातामा सार्वजनिक भइसकेको छ ।

दुबईका यी कम्पनीहरूबाट नेपालमा भएको सुन कारोबारबारे खोज पत्रकारिता केन्द्र (खोपके) ले गरेको अनुसन्धानले नेपालमा ‘३३ किलो सुन प्रकरण’ काण्ड पनि अन्तर्राष्ट्रिय तस्करीमा जोडिन पुगेको देखिन्छ । किनकि गोरेले सुन खरीद गर्ने दुबईको ‘भिरेन ज्वेलर्स’ र नेपाली कम्पनी ‘सास्ता’ ले सुन ल्याउने ‘कालोटी’ अन्तर–सम्बन्धित रहेको अनुसन्धानबाट देखिन्छ ।

यो अन्तर–सम्बन्ध थाहा पाउन ‘फिनसेन’ ले उल्लेख गरेका शंकास्पद कारोबारसम्बन्धी विवरणहरू केलाउनुपर्छ । फिनसेनका अनुसार, तत्कालीन ललितपुर उप–महानगरपालिका–८, बालकुमारी ठेगाना उल्लेख भएको ‘सास्ता ट्रेडिङ कम्पनी लिमिटेड’ ले सुन खरीदका नाममा अमेरिकाको न्यूयोर्कस्थित स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट ठूलो रकम नेपाल भित्र्याएको देखिन्छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक न्यूयोर्क शाखाको समीक्षा भनेर ‘फिनसेन’ ले उल्लेख गरे अनुसार, १ जनवरी २००८ देखि २९ अगष्ट २०१२ सम्म सास्ता ट्रेडिङ कम्पनी प्रालिसहित चार विदेशी कम्पनीले २ अर्ब ७७ करोड ८५ लाख ९ हजार ४४५.२८ अमेरिकी डलर शंकास्पद कारोबार गरेका थिए ।

सोमध्ये ३ करोड १५ लाख ७२ हजार ८६४ अमेरिकी डलर नेपालको सास्ता ट्रेडिङले ८ जुलाई २००९ देखि १४ जनवरी २०११ सम्म ५३ पटकमा न्यूयोर्कको स्ट्याण्डर्ड चार्टर्ड बैंकमार्फत प्राप्त गर्‍यो । जुन रकम न्यूरोडको प्राइम कमर्सियल बैंक र कमलपोखरीको बैंक अफ काठमाण्डूमा रहेको सास्ताको खातामा जम्मा भएको ‘फिनसेन’ ले उल्लेख गरेको छ ।

तर पछि सोही रकम बराबरको अंक दुबईको ‘कालोटी ज्वेलरी इन्टरनेशनल डीएमसीसी’ र हङकङको ‘अडिट ओभरसिज’ लाई भुक्तानी भएको देखिन्छ । कालोटी ज्वेलरीलाई मात्रै बिस्कुट आकारको सुन र चाँदी आयातका लागि भन्दै २७ जुलाई २००९ देखि १४ जनवरी २०११ भित्र ५१ पटकमा ३ करोड ७ लाख १८४ अमेरिकी डलर पठाइएको छ ।

बाँकी ८ लाख ७२ हजार ६८० अमेरिकी डलर सास्ताले हङकङको अडिट ओभरसिजलाई ७ अगष्ट २००९ मा र ८ अप्रिल २००९ मा पठाएको थियो । फिनसेनले यसलाई शंकास्पद गतविधिसम्बन्धी रिपोर्ट (सार) को सूचीमा राखेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरबाट प्राप्त कागजातअनुसार, ‘सास्ता’ का लगानीकर्ताहरूमा काठमाडौं महानगरपालिका २७ का शान्ति प्रभा तुलाधर, त्रिकालधर तुलाधर, त्रिभुवनधर तुलाधर, तुलसाधर तुलाधर र सम्यकधर तुलाधर हुन् ।

उल्लिखित शेयर सदस्यहरूमध्ये व्यापारको मुख्य काम त्रिभुवनधर तुलाधरले हेर्ने गरेको उनी निकट स्रोत बताउँछ । तुलाधर नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीका अध्यक्ष हुन् । हामीले टेलीफोनमार्फत तुलाधारसँग पटक–पटक प्रतिक्रिया लिन खोज्यौँँ । तर, उनले ‘आधा घण्टापछि सम्पर्क गर्नुहोस्’ भन्दै टारिरहे ।

यसैगरी ‘फिनसेन’ ले शंकास्पद कारोबार गर्ने सूचीमा राखेको कालोटी र नेपालमा ३३ किलो सुन प्रकरण भनेर चिनिने तस्करी मामिलाको साइनो बुझ्न सो काण्डका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’ ले जिल्ला अदालत मोरङमा दिएको बयान हेर्नुपर्ने हुन्छ ।

उनले दिएको बयानअनुसार, नेपाल ल्याइने धेरैजसो सुन दुबईको देइरास्थित ‘भिरेन ज्वेलर्स’ बाट खरीद गरिन्थ्यो ।

प्रहरी अभियोग पत्रअनुसार, पाँच पटक नेपाल सुन ल्याउनेमा पनि ‘भिरेन ज्वेलर्स’ को नाम उल्लेख छ । जसअनुसार ३ फेब्रुअरी २०१६ मा १५ केजी, ४ मा ४ केजी, ८ मा ३८ केजी, ९ मा १५ केजी र १० मा १७ केजी गरेर जम्मा ८९ केजी सुन ल्याएको देखिन्छ ।

‘भिरेन ज्वेलर्स’ र ‘कालोटी’ सुन कारोबारमा अन्तर–सम्बन्धित कम्पनीहरू हुन् । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ‘सोसाइटी अप थ्रेटन्ड पिपुल्स’ (एसटीपी) को एक प्रतिवेदनअनुसार, सन् २०१२ मा कालोटीले ‘भिरेन ज्वेलर्स’ बाट १२ हजार ७५२.७ किलो सुन खरीद गरेको थियो । अरू विभिन्न अध्ययनहरूले पनि ‘उनीहरूबीच पटक–पटक सुन खरीद-बिक्री हुने गरेको’ उल्लेख गरेका छन् ।

एसटीपीले २०१८ अप्रिलमा प्रकाशित गरेको प्रतिवेदनअनुसार कालोटीले सन् २०१२ मा कान्ज ज्वेलरीबाट ९२ किलो सुन खरीद गरेको थियो । त्यसैगरी ‘कालोटी’ ले ‘भिरेन ज्वेलर्स’ सँग सन् २०१२ मा मात्रै ४५ करोड १४ लाख १८ हजार ४१०.८५ अमेरिकी डलर रकमको कारोबार गरेको थियो । एसटीपी प्रतिवेदनअनुसार, उक्त दुई कम्पनीहरूले सशस्त्र समूहले कब्जा गरेका र अन्य विवादास्पद सुन बजारमा ल्याउने काम गरेका उदाहरणहरू छन् ।

युनाइटेड नेशन्स सेक्युरिटी काउन्सिलको रिपोर्ट अनुसार, कंगोमा सशस्त्र समूहहरूले कब्जा गरेको सुन युगाण्डाको ‘सिल्भर मिनरल्स’ ले सप्लाई गरेको थियो । दुबईका ‘कान्ज ज्वेलरी’ र ‘योगेश ज्वेलरी’ ले ‘सिल्भर मिनरल्स’ बाट सुन लिने काम गरेका थिए । ‘भिरेन ज्वेलर्स’ ले ‘योगेश ज्वेलरी’ मार्फत् सुन लिने गरेको थियो । ‘कालोटी’ ले ‘भिरेन ज्वेलर्स’ र ‘कान्ज ज्वेलरी’ बाट सुन लिने गर्छ । दुबईको ‘योगेश ज्वेलरी’ ‘सिल्भर मिनरल्स’ को आधिकारिक व्यावसायिक साझेदारसमेत हो ।

दुबईका उल्लिखित कम्पनी र नेपालमा सुन ल्याउने समूहबीचको सम्बन्धमा थप तथ्य खुल्न सक्ने सम्भावना रहे पनि नेपालले ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान कति अघि बढाउला अहिल्यै केही भन्न सकिन्न ।

किनकि अनुसन्धान गर्न बनेको विशेष टोलीले दुबईमा कसरी सुन खरीदबिक्री हुन्थ्यो र त्यो कसरी नेपालसम्म आइपुग्थ्यो भन्ने बारेमा द्विपक्षीय सम्झौताको अभावमा कानूनी जटिलताले भन्दै विस्तृत अनुसन्धानबाट सरकार पन्छिइसकेको छ ।

तर, मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) ले दिएको दुबईका कम्पनीसँग सम्बन्धित सूचनाले पनि थप नयाँ तथ्य फेला पर्ने सम्भावना देखाउँछ । ‘गोरे’ ले जिल्ला सरकारी वकिल कार्यालय मोरङमा दिएको बयानअनुसार, दुबईको देइरास्थित भिरेन ज्वेलर्स एउटा ठूलो सुन पसल हो । ऊसँग सुन कारोबार गर्न नेपालीहरूको एउटा समूहले दुबईमा ‘वागमती ट्रेडिङ एलएलसी’ कम्पनीसमेत दर्ता गरेका थिए ।

दुबईमा गोरेका भाइ रमेश उप्रेती, रोशन भन्ने गुप्तलाल भुषाल, काले भन्ने किसनकुमार अग्रवाल, हरिशरण खड्का, बेनु श्रेष्ठले दुबईको कारोबार हेर्ने गर्दथे । उनीहरूले दुबईमा ‘याक एण्ड यती सुन पसल’ तथा ‘याक एण्ड यती रेस्टुरेन्ट’ र ‘याक एण्ड यती ट्राभल कम्पनी’ समेत चलाइरहेका छन् ।

नेपालमा गरिएको सुन तस्करीमा याक एण्ड यती सुन पसलको समेत संलग्नता देखिएको थियो । याक एण्ड यती ज्वेलर्सले बिक्री गर्ने सुन पनि ‘भिरेन ज्वेलर्स’ बाट खरीद हुन्थ्यो । २०७३ सालमा बरामद भएको साढे ३३ किलो सुनको स्रोत ‘याक एण्ड यती ज्वेलर्स’ नै भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को दाबी छ ।

तस्करीकै क्रममा हराएको ३३ किलो सुन खोजी गर्ने क्रममा गोरेको समूहले १८ फागुन २०७३ मा उर्लाबारी–१ स्थित सोल्टी खोला किनारको जंगलमा करेन्ट लगाई यातना दिएर सनमको हत्या गरेको थियो । सनम, उर्लाबारीकै मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की, विमानस्थलका कर्मचारी तक्ले भनिने पुण्यप्रसाद लामा लगायतलाई सुन लुकाएको आरोप लगाइएको थियो ।

याक एण्ड यती ट्राभल एजेन्सीको आवरणमा उनीहरूले हुण्डीको कारोबार चलाएको सीआईबीको अनुसन्धानबाट पनि खुलेको थियो । यो समूहका अधिकांश व्यक्तिहरू २१ पुस २०७३ मा गौशालामा बरामद भएको साढे ३३ किलो सुन तस्करीको अर्को घटनामा पनि जोडिएका थिए त्यतिबेला एसएसपी श्याम खत्री तथा भन्सारका केही कर्मचारीहरू पक्राउ पर्नेदेखि तस्कर समूहभित्रै केही व्यक्तिको हत्यासमेत भएको थियो ।

तर, सुन तस्करीको क्रम भने रोकिएन । सुन तस्करीको पैसा भने उनीहरूले हुण्डीबाट पठाउने गरेको विशेष टोलीका संयोजक रहेका सहसचिव ईश्वरराज पौडेल बताउँछन् ।

छानबिनको क्रममा केही भारतीय र केही अरबी नागरिकको समेत संलग्नता खुलेको थियो । भारतको केरलाका सलिम खानको गोरेको समूहसँग सम्बन्ध रहेको खुलेको थियो । “उनी अन्डरवर्ल्ड समूहका व्यक्ति हुन् भन्ने सूचना हामीले पाएका थियौं” टोलीका एक सदस्य भन्छन्, “तर, प्रतिवेदन नै थन्क्याउने काम भएपछि गिरोहबारे थप खोजबिन भएन ।”

१६ साउन २०७५ मा समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझायो । त्यो प्रतिवेदन अहिलेसम्म प्रधानमन्त्री कार्यालयमा नै थन्किएको छ । प्रतिवेदनमा थप अनुसन्धान गर्नुपर्ने २०० भन्दा धेरै व्यक्तिको नाम रहेको एक प्रहरी अधिकारी बताउँछन् । जसमा सुन मात्र नभई नेपालबाट हुण्डीको कारोबार गर्ने व्यक्तिहरूबारे समेत सूचना रहेको ती प्रहरी अधिकारीको भनाइ छ ।

तस्करीमा संलग्न गिरोहका अधिकांश व्यक्ति विगतमा कामदारका रूपमा दुबई पुगेर सुन र हुण्डीको कारोबार गरी पैसा कमाएका व्यक्तिहरू रहेको प्रहरीको प्रारम्भिक छानबिनबाट खुलेको थियो । चूडामणि उप्रेती, हरिशरण खड्का, गुप्तलाल भुषाल कामदारका रूपमा यूएई पुगेका थिए । सुन तस्करीमा भरिया हुँदै पछि उनीहरूले आफैं तस्करी थालेका थिए । पाँच वर्षको अवधिमा उनीहरूले ३ हजार ८०० केजी सुन तस्करी गरेको दाबीसहित जिल्ला अदालत मोरङमा दायर गरेको मुद्दामा रु.१७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ जरिवाना माग गरिएको छ ।

के हो कालोटी ?

आईसीआईजेका अनुसार, कालोटी दुबईस्थित सुनको व्यापार तथा प्रशोधन गर्ने कम्पनीहरूको समूह (ग्रुप अफ कम्पनिज्) हो । ‘फिनसेन प्रतिवेदन’ अनुसार, कालोटीले शंकास्पद धनको कारोबार गरेको ५२ वटा फाइल फेला परेका छन् । आईसीआईजेले प्रकाशित गरेको रिपोर्टअनुसार शंकास्पद हुँदाहुँदै पनि केही बैंकले कालोटीलाई ‘चुपचाप आफ्नो ग्राहकको रूपमा छाड्ने निर्णय गरेको’ अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसको अनुसन्धानले पत्ता लगाएको थियो ।

“अमेरिकी अनुसन्धानकर्ताहरूले कालोटीमाथि तीन वर्ष लामो खोजतलासपछि प्रमाणहरूको पहाडै जम्मा गरेका थिए” आईसीआईजेले भनेको छ, “तर पनि विश्वकै ठूलो सुन व्यापारी कालोटी ग्रुपविरुद्धको मुद्दालाई बन्द गरियो ।”

सन् २०१४ मा गठन भएको एउटा टास्क फोर्सले अमेरिकाको डिपार्टमेन्ट अफ ट्रेजरीलाई कालोटीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन सिफारिश गरेको थियो । तर ट्रेजरी विभागले कालोटीविरुद्ध कुनै कारबाही अघि बढाएन ।

अमेरिकाका पूर्व ट्रेजरी अधिकारीहरूले बताएअनुसार युएई अमेरिकासँग रिसाउन वा चिढिन सक्ने डरले कालोटीविरुद्धको मुद्दा स्थगित भएको थियो ।

युएई मध्यपूर्वमा अमेरिकाको प्रमुख सहयोगी मुलुकका रूपमा चिनिन्छ । आईसीआईजेसँग कुरा गर्दै अमेरिकाका पूर्व अनुसन्धानकर्ताले कालोटीविरुद्ध मुद्दा अघि नबढेको कुराले आफूहरूलाई चकित र निराश बनाएको बताएका थिए ।

कालोटीले सन् २००७ देखि २०१५ सम्मको अवधिमा विभिन्न बैंकहरूमार्फत ९.३ बिलियन अमेरिकी डलर शंकास्पद धनको कारोबार गरेको फिनसेन प्रतिवेदनमा उल्लेख छ । तर, कालोटीका प्रवक्ताले एक विज्ञप्तिमार्फत ‘कम्पनी दुराचारसम्बन्धी कुनै पनि आरोपको कडा निन्दा गर्दछ’ भनेका छन् ।

आईसीआईजेले उल्लेख गरेअनुसार, सन् २०१४ कोे फेब्रुअरीमा भएको एक ‘डाटा लिक’ अनुसार, कालोटीले संदिग्ध सुन आपूर्तिकर्तासँग कारोबार गर्ने गरेको देखाएको थियो । कालोटी चोरी तस्करी, आपराधिक क्रियाकलाप र द्वन्द्वग्रस्त मुलुकहरूमा प्रयोग भएको सुन खरीद गर्ने काममा संलग्न भएको देखिएको थियो ।

सन् २०१२ मा कालोटीले सुन खरीद गर्न ५.२ बिलियन अमेरिकी डलर नगद भुक्तानी गरेको थियो । बैंकिङ प्रणालीबाट कारोबार हुँदा शंकास्पद धनको पहिचान हुने सम्भावनालाई छल्न सुन खरीदका लागि यो कम्पनीले नगदमार्फत नै काम गर्ने गरेको थियो ।

यो कम्पनीको सेवालाई सन् २०१० मा ‘दुबई गुड डेलिभरी’ मा सूचीकृत गरिएको थियो । तर पछि यसले त्यो मान्यता गुमायो । ‘दुबई गुड डेलिभरी’ सुन वा चाँदी उत्पादनको गुणस्तर र प्राविधिक विशिष्टताका लागि तय गरिएको अन्तर्राष्ट्रिय बेन्चमार्क हो । यसले गुणस्तरीय सुन निर्माणको कामलाई सुनिश्चित गर्छ । यो दुबई मल्टीकमोडिटी सेन्टरले सन् २००५ मा विकास गरेको एउटा मानक हो ।

आईसीआईजेका अनुसार ‘दुबई गुड डेलिभरी’ को सूचीबाट हट्नु अघिसम्म कालोटी दुबईमा सबैभन्दा ठूलो सुन प्रशोधन कम्पनी थियो । यसले आफैंलाई सुनको शहर भनेर चिनाउँथ्यो । त्यसो त अहिले पनि कालोटीलाई दुबईमा सुन कारोबारको महत्वपूर्ण खेलाडी हुनबाट कसैले रोक्न सकेको छैन ।

दुबईको मल्टी कमोडिटी सेन्टरका अनुसार, दुबई विश्वकै सुन र डायमण्डको एक अग्रणी व्यापारिक केन्द्र हो । दुबईबाट वार्षिक ७५ अर्ब अमेरिकी डलर रकम बराबरको सुन तथा डायमण्डको कारोबार हुन्छ ।

पाँच वर्षमा ५०७ केजी

नेपालमा पाँच वर्षमा ५०७ किलो तस्करीको सुन प्रहरीले बरामद गरेको छ । जसमध्ये सबैभन्दा धेरै चीनबाट आएको सुन बरामद भएको छ, त्यसपछि दुबईबाट आएको । तर, कतिपय सुन कुन देशबाट आएको भनेर पत्ता नलाग्ने भएकाले पनि यससम्बन्धी यकिन तथ्यांक प्रहरीसँग छैन ।

सबैभन्दा धेरै आर्थिक वर्ष २०७४/७५ मा २११ केजी सुन बरामद भएको छ । विमानस्थलबाट एउटा समूहले मात्रै कम्तीमा ३ हजार ८०० केजी सुन तस्करी गरेको छानबिनमा खुले पनि बरामद भने थोरै मात्र भएको थियो ।

पछिल्ला वर्ष सुन तस्करीका घटनामा कमी आएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतको दाबी छ । बरामद भएको सुन चीनपछि दुबईको बढी भएकाले यीनै मुलुक हुँदै सुन तस्करी धेरै हुने सहज अनुमान लगाउन सकिन्छ ।

बरामदमा चीन अघि रहे पनि बाहिर सार्वजनिक हुन नसकेका सुन तस्करीका घटना दुबईसँग नै बढी हुने प्रहरीको विभिन्न आन्तरिक अनुसन्धानहरूले देखाएको छ ।

वैध सुनमा पनि दुबई नै

वैध बाटोबाट सुन आयात पनि दुबईबाट नै सबैभन्दा बढी हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । विभागको तथ्यांकअनुसार, हिजोआज झन्डै २० देखि ३० वटा मुलुकहरूबाट सुन आयात गरिन्छ । आर्थिक वर्ष २०७१/७२ मा १ हजार ८०३ किलो सुन आयात भएकोमा दुबईबाट मात्रै १ हजार ७०३ किलो सुन आएको थियो ।

त्यसपछिका आर्थिक वर्षहरूमा पनि दुबईबाट नै बढी सुन आउने गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा आयात भएको ४ हजार १६५ किलो सुनमध्ये २ हजार ९५० किलो सुन दुबईबाट आयात भएको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा त झन् कुल सुन आयातको करीब ९१ प्रतिशत सुन दुबईबाट आएको देखिन्छ । उक्त वर्ष ५ हजार ४५० किलो सुन आयात भएकोमा ४ हजार ९५० किलो दुबईबाट आएको थियो ।

त्यस्तै २०७५/७६ मा पनि विभिन्न देशहरूबाट आयात भएको कुल सुनमध्ये दुबईबाट ल्याइएको हिस्सा ठूलो छ । अर्थात् यो वर्ष ७ हजार ४९३ किलो सुन आयात भएकोमा दुबईबाट मात्रै ५ हजार ८५८ किलो सुन ल्याइएको छ ।

विश्वव्यापी कोरोनाभाइरसका कारण गत आर्थिक वर्ष निकै कम सुन आयात भए पनि सबैभन्दा बढी भने दुबईबाटै आएको छ । अर्थात् आर्थिक २०७६/७७ मा २ हजार ४०० किलो सुन आयात भएकोमा १ हजार ६५० किलो सुन दुबईबाट आयात भएको हो ।

राष्ट्र बैंकले तोकिदिएको नियमअनुसार एक बैंकले मासिक २० किलो सुन आयात गर्न पाउँछन् । बैंकहरूले ल्याउने सुन पनि दुबईबाटै आउने र दुबईमा सुनसँग सम्बन्धित यी विवादास्पद विवरणले यस्तो आयातमा समेत शंका गर्ने ठाउँ रहन्छ ।

सुन तस्करी र कारोबार प्रकरणले नेपाल र यूएईबीच हुन नसकेको सुपुर्दगी सन्धिलाई पनि सम्झाइदिएको छ । यूएईले आठ महिनाअघि नेपालसँग राखेको सुपुर्दगी सन्धिको प्रस्ताव अहिलेसम्म अगाडि बढेको छैन ।

परराष्ट्र मन्त्रालयले सो प्रस्तावमा अध्ययन गरी नेपालको दृष्टिकोण निर्माण गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । गृह मन्त्रालय अहिलेसम्म यस मामिलामा स्पष्ट नहुँदा यो प्रक्रिया अघि बढ्न सकेको छैन । तर, मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा यूएईसँगको सुपुर्दगी सन्धि छिट्टै अघि बढाइने बताउँछन् ।

खोज पत्रकारिता केन्द्रबाट

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ