Rumpum Advertisement
Dazzu

आज विश्व शौचालय दिवस

आज विश्व शौचालय दिवस

काठमाडौ, ४ मंसिर । आज विश्व शौचालय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

देश खुला दिसामुक्त घोषणा भए पनि शौचालयको प्रभावकारी प्रयोग नभइरहेको अवस्थामा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाइँदैछ । नेपाल खुला दिसामुक्त क्षेत्र घोषणा भए पनि अझै कतिपय शौचालय अव्यवस्थित र प्रयोगविहीन छन् ।

देशका विभिन्न ठाउँमा रहेका सार्वजनिक शौचालयहरुको व्यवस्थापन हुन नसक्दा वातावरण प्रदूषण त भएको छ नै विभिन्न रोग फैलाउने डर पनि उत्तिकै छ । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा एक लाख १५ हजार बालबालिकाको ज्यान जाने गरेको छ ।

दिवसकै अवसरमा ललितपुर महानगरपालिकाको मंगलबजारमा बनेको स्मार्ट सार्वजनिक शौचालय उद्घाटन गरिएको छ । स्मार्ट शौचालयको उद्घाटनपछि महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपालभरि बनेका सार्वजनिक शौचालयमध्येको व्यवस्थित र उच्चस्तरको शैचालय मंगलबजारमा निर्माण भएको बताए ।

महानगरपालिकाले यही अवधारणाअनुसार अन्य ठाउँमा शौचालय निर्माणको काम अघि बढाइने पनि महर्जनले बताए । उनले महानगरपालिकाभित्र खाली जग्गामा पार्क निर्माण गर्नेदेखि महानगरलाई प्रविधिमैत्री बनाउने काम पनि भइरहेको बताए ।

सो सार्वजनिक शौचालय अपांगता भएका, वृद्धवृद्धा र महिलामैत्री छ । साथै महिलाहरुको महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याड पनि मेसिनबाट आफैं निकाल्न सकिने व्यवस्था रहेको छ ।

एरोसान स्टेनेबल स्यानिटेसनले २५ लाखको लागतमा शौचालय निर्माण गरेको हो । शौचालय भवन र बायोग्यासलगायतका अन्य सुविधासमेत रहेकाले लागत २५ लाख पुगेको एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले बताए ।

विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । विश्वव्यापी दिगो विकासको लक्ष्यअन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको पहुँच शौचालयमा पुग्ने लक्ष्य तय गरिएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ