Rumpum Advertisement
Dazzu

कोरोनाविरुद्धको खोपले स्वीकृति पाउने सम्भावना

कोरोनाविरुद्धको खोपले स्वीकृति पाउने सम्भावना

विराटनगर, ४ मंसिर । कोरोना भाइरसविरुद्ध बन्दै गरेको खोपले चाँडै स्वीकृति पाउने सम्भावना बढेको छ ।

विभिन्न अध्ययन र अनुसन्धानबाट कोरोनाविरुद्धको खोप तयार गर्ने काम भइरहेको छ । तर अहिलेसम्म खोप पत्ता लागिसकेको छैन । बन्दै गरेको फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले प्रभावकारी नतिजा दिएपछि युरोपेली तथा अमेरिकी नियामक निकायले मध्य डिसेम्बरसम्म स्वीकृत प्रदान गर्ने सम्भावना बलियो बनेर गएको छ ।

जर्मन उत्पादकका प्रमुख कार्यकारी उगुर साहिनले बुधबार खोपलाई अमेरिकी तथा युरोपेली निकायले आकस्मिक प्रयोगका लागि मध्य डिसेम्बरसम्ममा स्वीकृति प्रदान गर्ने बताएका हुन् । रोयटर्स टिभीसँगको कुराकानीमा खोप निर्माता तथा जर्मन बायोटेक्नोलोजी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी साहिनले सबै प्रक्रिया सही रुपमा अघि बढेमा अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले आकस्मिक प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बताए ।

यस्तै युरोपियन युनियनले पनि केही शर्तसहित खोपको प्रयोगका लागि डिसेम्बरको दोस्रो हप्तासम्ममा स्वीकृति प्रदान गर्ने सम्भावना रहेको उनले उल्लेख गरेका छन् । साहिनले भनेका छन्, ‘हामीलाई प्राप्त हुने आग्रह र त्यसमा रहेका शर्तहरुले स्वीकृतिलाई निर्धारण गर्ने छ ।’

फाइजरको खोपको प्रभावकारिता ९० प्रतिशत देखिएको छ । तर बुधबार सार्वजनिक भएको विभिन्न उमेर समूहका व्यक्तिमा गरिएको परीक्षणमा खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको छ । सबैभन्दा पहिले स्वीकृति प्राप्त गर्ने खोपको माग विश्वभरबाट उच्च हुने र सुरुका केही महिना सोही खोपको दबदबा कायम रहने साहिनले बताउका छन् ।

अमेरिकी कम्पनी मोदेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता ९४.५ प्रतिशत देखिएको छ र सो खोप पनि अन्तिम चरणको परीक्षण पूरा गरि स्वीकृति प्राप्त गर्ने प्रक्रियामा छ । यस्तै अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा एस्ट्राजेनेकाले विकास गरिरहेको खोप पनि यो वर्षको अन्त्यसम्ममा तयार हुने अपेक्षा छ ।

प्रतिक्रिया

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ