Rumpum Advertisement
Dazzu

सीमा बन्द भए पनि हजारौं नेपाली भारतीय बजारमा

सीमा बन्द भए पनि हजारौं नेपाली भारतीय बजारमा

विराटनगर, ४ मंसिर । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएका कारण नेपाल भारत सीमा बन्द गरिए पनि किनमेलका लागी प्रहरीकै सामुन्ने दैनिक हजारौं नेपाली उपभोक्ताहरु भारतीय बजार पुग्ने गरेका छन् ।

भारत प्रवेश गर्ने मुख्यद्धार बन्द हुँदा पनि विभिन्न चोरबाटो हुँदै दिनहुँ हजारौं नेपाली उपभोक्ताहरु भारतीय बजार जोगबनी पुग्ने गरेका हुन् । कोरोना संक्रमणको दर न्यूनीकरणका लागि गत चैत्र ११ गतेदेखि सरकारले भारतीय सीमा नाका बन्द राखेको छ । सरकारको निर्णय बमोजिम भारतीय सीमाहरु हालसम्म बन्द भए पनि चाडपर्वको अवसर पारेर प्रहरीकै अगाडि दिनहुँ हजारौं उपभोक्ता भारतीय बजार जोगवनीदेखि फारबिसगञ्जसम्म पुग्ने गरेका छन् ।

बिहान हुने बित्तिकै विराटनगरको दक्षिण गेट, दशगजा क्षेत्र, दरैया बस्ती र ईस्लामपुरबाट दिनहुँ हजारौंको संख्यामा नेपाली उपभोक्ताहरु भारतीय बजार पुग्ने गरेको स्थानीय मोहम्मद मुख्तार हुसैनले बताए । उनका अनुसार सरकारले सीमा क्षेत्रमा विशेष निगरानी तथा कडाई नगर्दा दिनहुँ सो क्षेत्रबाट हजारौंको संख्यामा नेपाली उपभोक्ताहरु भारत पुग्ने गरेका छन् । दशगजा क्षेत्रमा फालिएको फोहोर बालेर धुँवाको आडमा मोरङ र सुनसरीका अधिकांश नेपाली उपभोक्ता बजार पुग्ने गरेको स्थानीयले बताएका छन् ।

स्वास्थ्य उपचार, औषधी खरिद र आफन्तसँग भेटघाट बाहेक चाडपर्वको अवसर पारेर किनमेलकै लागी भारतीय बजार जोगबनी पुग्ने सर्वसाधारणको संख्या पनि ठूलो छ । विशेष गरि अहिले हिन्दु धर्मालम्बीहरुको महान चाड छैठ पनि सुरु भएको हुनाले चाडपर्व लक्षित किनमेलका लागि उपभोक्ताहरु भारतीय बजार पुग्ने र सीमावारि तयारी अवस्थामा बसेको सिटी सफारीमा आफ्नो घरसम्म फर्किने गरेको स्थानीयले बताएका छन् । चामल, पिठो, तेल, नरिवल, चिनी र केरा लगायतका सामाग्रीहरु नेपालभन्दा भारतीय बजारमै सस्तो पाईने भएकाले किनमेलका लागी जोगबनी पुगेको जहदा गाउँपालिका ३ का स्थानीय देवन रामले बताए ।

नेपाल सरकारले आफ्ना सम्पुर्ण सीमाहरु बन्द राखेको भएता पनि छिमेकी मुलुक भारतले भने गत कात्र्तिक ६ गतेदेखि आफ्ना सम्पूर्ण सीमा नाकाहरु खोलिदिएको छ । भारतीय पक्षबाट कुनै रोकटोक नहुँदा पनि नेपाली उपभोक्तालाई भारतीय बजार पुग्न सहज भएको स्थानीय शिव सहनीले बताए । उनले सीमाक्षेत्रमा काँडेतार लगाईदिए जरैबाट यो समस्याको सामाधान हुने कुरामा स्वयंम बिश्वस्त रहेको जानकारी दिए । आजको हाम्रोमत दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ