Rumpum Advertisement
Dazzu

डेनमार्कमाथि जित निकाल्दै बेल्जियम सेमिफाइनलमा

डेनमार्कमाथि जित निकाल्दै बेल्जियम सेमिफाइनलमा

विराटनगर, ४ मंसिर । बेल्जियम यूईएफए नेशन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कमाथि ४–२ गोलको जित निकाल्दै बेल्जियमले अन्तिम चारमा स्थान बनाएको हो ।

बेल्जियमको मैदानमा घरेलु टोलीलाई जिताउन रोमेलु लुकाकुले दुई गोल गर्दा युरी टाइलेमान्स र केभिन डी ब्रुनेले समान १–१ गोल गरे । डेनमार्कका जोनास ओल्डर वान्डले एक गोल गरे । डेनमार्कले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

खेलको तेस्रो मिनेटमा नै टाइलेमान्सले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाए । १७औं मिनेटमा वाइन्डले गोल गरेपछि डेनमार्क खेलमा फर्कियो ।

५७औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए । ६९औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरेपछि बेल्जियमले आफ्नो अग्रता दोब्बर बनायो ।

८६औं मिनेटमा बेल्जियमका नासर चढ्लीले आत्मघाती गोल गरेका थिए । सो गोलपछि डेनमार्क खेलमा फर्किने प्रयासमा रह्यो । तर, ८७औं मिनेटमा केभिन डी ब्रुनेले गोल गर्दै बेल्जियमलाई ४–२ गोलले जिताए ।

जितसँगै बेल्जियम समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । उसले ६ खेलबाट १५ अंक बनायो । दोस्रो स्थानको डेनमार्कले १० अंक जोड्यो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ