Rumpum Advertisement
Dazzu

ला लिगा मेस्सीको बहिर्गमनका लागि तयार

ला लिगा मेस्सीको बहिर्गमनका लागि तयार

विराटनगर, ३ मंसिर । स्पेनिस ला लिगाका अध्यक्ष जाभियर टेबासले बार्सिलोनाका कप्तान लियोनल मेस्सीको बहिर्गमनका लागि आफूहरू तयार रहेको उल्लेख गरेका छन् ।

हालै एक अन्तर्वार्ताका क्रममा टेबासले अर्जेन्टिनी फरवार्ड मेस्सी बार्सिलोनाबाट बिदा हुँदाको प्रभाव ला लिगाले सहनसक्ने बताए ।

केही समययता सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले स्पेन छोड्ने चर्चा छ । ३३ वर्षीय स्टार मेस्सीले ला लिगा छोड्दा स्पेनिस लिग प्रभावित हुने आँकलन गरिन्छ । यसअघि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र ब्राजिलियन खेलाडी नेयमार स्पेनबाट अन्यत्र जाँदा ला लिगामा नकारात्मक प्रभाव परेको बताइन्थ्यो ।

टेबास आफैंले पनि उनीहरूको बहिर्गमनबाट ला लिगामा असर परेको उल्लेख गर्दै आएका थिए । मेस्सीलाई बिदा गर्नुपर्दा लिगमा असर पर्ने बताउँदै टेबासले उनी बार्सिलोना नछोड्नेमा आफू विश्वस्त रहेको जनाउँदै आएका थिए ।

तर, अब भने टेबासले मेस्सीको बहिर्गमनका लागि ला लिगा तयार रहेको बताएका हुन् । ‘हामी मेस्सी ला लिगामै बसेको हेर्न चाहन्छौं । रोनाल्डो र नेयमारले ला लिगा छोड्दा हामीले कुनै अन्तर पाएनौं । मेस्सीले छोड्दा पनि हामी तयार छौ’, उनले भने ।

यसैगरी टेबासले मेस्सीमाथि इंग्लिस क्लब म्यानचेस्टर सिटीको चासो रहेको पनि सुनाए । ‘यहाँ सिटी मात्र एउटा क्लब हो जसले मेस्सीमाथि नजर लगाएको छ । सिटीलाई कोरोना महामारीले प्रभाव पारेको छैन । उनीहरू आर्थिक रूपमा फरक छन् । तथापि, म यसबाट चिन्तित छैन,’ उनले थपे ।