Rumpum Advertisement
Dazzu

यस्ता छन् जाडोमा इन्फ्लुएन्जा र निमोनियाको खोप लगाउनुका फाइदा

यस्ता छन् जाडोमा इन्फ्लुएन्जा र निमोनियाको खोप लगाउनुका फाइदा

विराटनगर, ३ मंसिर । कोरोना भाइरसको संक्रमण चिसोमा धेरै फैलिनसक्ने जोखिमका कारण जाडो महिनामा जोखिममा रहेका उमेर समूहले थप सावधानी अपनाउनुपर्ने बताइएको छ ।  

यस्तैमा विज्ञहरूले इन्फ्लुएन्जा र निमोनिया नियन्त्रणका लागि यीविरुद्धको खोप लगाउनु राम्रो हुने सुझाव दिएका छन् ।

इन्फ्लुएन्जा र निमोनियाका खोपले कोभिड-१९ को संक्रमणबाट नजोगाउने भएपनि ज्येष्ठ नागरिकलाई इन्फ्लुएन्जा र निमोनिया जस्ता प्राणघातक रोगबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्नसक्ने चिकित्सकहरू बताउँछन् ।

प्रत्येक वर्ष जाडोको मौसममा  नेपालमा इन्फ्लुएन्जा र निमोनियाका बिरामी उल्लेख्य रूपमा बढ्ने गरेको पाइएको छ । ह्याम्स अस्पतालकी पल्मोनरी एण्ड क्रिटिकल केअर विशेषज्ञ डा. रक्षा पाण्डेका अनुसार इन्फ्लुएन्जाका खोप ६ महिना नाघेका सबैले लिएको राम्रो हो ।

साथै, निमोनियाको खोप ६५ वर्ष नाघेका सबै ज्येष्ठ नागरिकले लिएको खण्डमा त्यसले फाइदा पुर्‍याउने उनको भनाइ छ ।

६५ वर्ष नपुगेको भएपनि फोक्सो, मुटु वा कलेजोको रोग, मधुमेह वा क्यान्सर भएका तथा रोग प्रतिरोधी क्षमता कम भएका जुनसुकै उमेरका व्यक्तिले निमोनियाको खोप लिनु राम्रो हुन्छ ।

हरेक वर्ष विश्व स्वास्थ्य सङ्गठनको सिफारिसमा ‘भाइरसको स्ट्रेन’ हेरेर नयाँ इन्फ्लुएन्जाको खोप आउने गर्छ ।

खोप लगाएकामा प्रतिरोधी क्षमता हुन्छ जसकारण जोखिममा रहेका व्यक्तिलाई रोग सार्ने सम्भावना कम हुन्छ ।

गर्भवती महिलामा कडा इन्फ्लुएन्जा हुने सम्भावना धेरै रहेको हुँदा धेरै ध्यान दिनुपर्ने हुन्छ । डा. पाण्डेका अनुसार फ्लू र निमोनियाको खोपले ज्यान जाने कडा रोग लाग्नबाट बचाउँछ । त्यही भएर यी खोपहरू लगाउनुपर्ने उनी बताउँछिन् ।

प्रतिक्रिया

Comments are closed.