Rumpum Advertisement
Dazzu

विद्यालय शिक्षा कार्यढाँचा जारी, विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई

विद्यालय शिक्षा कार्यढाँचा जारी, विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई

काठमाडौ, ३ मंसिर । सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई दिनेगरी कार्यढाँचा सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहले विद्यालयहरुलाई विभिन्न मोडालिटीमा सञ्चालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरी विद्यालय बन्द गर्ने कुरालाई कार्यढाँचाले व्यवस्थित गरेको बताए ।

उनले भने, ‘कार्यढाँचाले विद्यालयको जोखिम नभएका स्थानहरुमा, जोखिम कम हुँदै गएका स्थानहरुमा स्थितिको आँकलन समीक्षा गरेर स्थानीय तहले विद्यालयहरुलाई विभिन्न मोडालिटीमा सञ्चालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरी विद्यालय बन्द गर्ने यी दुईवटै कुरालाई व्यवस्थित गरेको छ ।’

विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचाको अधिनमा रहेर निर्णय गर्ने अधिकार स्थानीय तहलाई हुने पनि उनले बताए । त्यसको कार्यान्वयनको अनुगमनसमेत स्थानीय तह आफैंले गर्नसक्ने शर्माले बताए । कुन विद्यालय कहिले खोल्ने भन्दा पनि कुन–कुन अवस्थामा विद्यालय खोल्न सकिन्छ र कुन अवस्था भयो भने विद्यालय बन्द गर्नुपर्छ भन्ने कुरा कार्यढाँचामा स्पष्ट पारिएको छ ।

यस्तै एकपटक विद्यालय खोलेपछि फेरि बन्द गर्नुपर्ने अवस्था भयो भने के–कस्तो प्रक्रिया अपनाउनुपर्ला भन्ने सम्बन्धमा पनि कार्यढाँचाले स्पष्ट गरेको शर्माले बताए ।

कोभिड–१९ रोकथामका लागि सरकारले गठन गरेको ‘कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति’को गत चैत ५ गतेको निर्णयले देशैभरका शिक्षण संस्थाहरु बन्द गरेको थियो । यो अवस्थामा कतिपय विद्यालयहरुले अनलाइन माध्यमबाट अध्ययन अध्यापन सञ्चालन गरिरहेका छन् । तर सबै विद्यार्थीहरुको पहुँचमा अनलाइन प्रणाली पुग्न सकेको छैन ।

कार्यढाँचा जारी भएपछि भने अबदेखि जोखिम मूल्याङ्कन गरी स्थानीय सरकारले विद्यालय सञ्चालन गर्न दिन पाउने भएका हुन् । विद्यालय सञ्चालन गर्दा जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डहरु भने पूर्णरुपमा पालना गर्नुपर्नेछ । त्यसको अनुगमन स्थानीय सरकार आफैंले गर्न सक्नेछ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ