Rumpum Advertisement
Dazzu

नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यू गर्न सफल ६ खेलाडी

नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यू गर्न सफल ६ खेलाडी

विराटनगर, ३ मंसिर । निकै लामो समयको अन्तरालपछि नेपाली फुटबल फर्किएको छ । आफ्नै देशमा नभए पनि बंगलादेशको भूमिमा नेपाली फुटबल खेलाडीले दुई मैत्रीपूर्ण खेल खेलेका छन् ।

सोचेअुरुप प्रदर्शन र सुखद नतिजा आत्मसाथ गर्न नसके पनि लामो समयको पर्खाइपछि नेपाली फुटबल फर्किँदा सबै हर्षित छन् । बंगलादेश फुटबल संघको निमन्त्रणा स्वीकार गर्दै ‘मुजिब बोर्साे फिफा इन्टरनेशल फुटबल सिरिज २०२०’ अन्तर्गत दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएको नेपाली टोलीले पहिलो खेलमा हार र दोस्रो खेलमा बराबरीको नतिजा निकालेको छ ।

पहिलो खेलको तुलनामा दोस्रो खेलमा निकै सुधारिएको प्रदर्शन गरेको नेपाली फुटबल टिमले लामो समयपछि ‘म्याच एक्सपोजर’ त पायो नै सँगै ६ नयाँ राष्ट्रिय फुटबल खेलाडी पनि पाएको छ ।

चोट र कोरोना संक्रमणका कारण पहिलो रोजाईका केही खेलाडीले बंगलादेश भ्रमण गर्ने अवसर गुमाएपछि नौ नयाँ अनुहारसहित प्रशिक्षक बाल गोपाल महर्जन बंगलादेश उडेका थिए । नौमध्ये दुई खेलको शृंखलामा ६ खेलाडी आफ्नो नामअंकित नेपालको जर्सी पहिरएर मैदान उत्रन सफल भए ।

गोलरक्षकद्वय विशाल श्रेष्ठ र दीप कार्की र डिफेन्डर दिलेन लोक्तामबाहेक डिफेन्डरद्वय विकास खवास र छिरिङ गुरुङले नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् । यी दुईबाहेक एरिक विष्ट, सेसेहाङ आङदेम्बे, दर्शन गुरुङ र पुजन उपरकोटीले पनि राष्ट्रिय टोलीबाट डेब्यू गर्ने मौका पाएका छन् ।

बंगलादेशविरुद्धको दुई खेलको शृंखलामा नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका ६ फुटबल खेलाडीका बारेमा यहाँ छोटो परिचय प्रस्तुत गरेका छौंः

विकास खवास, डिफेन्डर

नेपाल आर्मीका भरपर्दा डिफेन्डर हुन्, विकास खवास । विपक्षी खेलाडीलाई सजिलोसँग बल खेल्न नदिनु खवासको बलियो पक्ष हो । स्पीड, ट्याक्लिङ, एरियल क्लियरेन्स सबैमा यिनी निपुर्ण छन् । बंगलादेश जाने नेपाली टोलीमा खवास नयाँ अनुहार थिए तर प्रशिक्षक महर्जनले खवासलाई पहिलो खेलमा नै प्लेइङ एलेभेनमा समावेश गर्दै राष्ट्रिय टोलीबाट डेब्यू गराए । पहिलो र दोस्रो दुवै खेलमा पूरै समय खेलेका खवासको दुई खेलमा पोजिसन भने केही फरक रह्यो ।

पहिलो खेलमा अनन्त तामाङ र अजित भण्डारीलाई डिफेन्सको मुख्य जिम्मेवारी दिएर प्रशिक्षक महर्जनले खवासलाई राईट ब्याक र सुमन अर्याललाई लेफ्ट ब्याकको जिम्मेवारी सुम्पिएका थिए । तर बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा तामाङ र भण्डारीको तालमेल खासै मिल्न नसकेपछि दोस्रो खेलमा खवासलाई भण्डारीका स्थानमा मुख्य डिफेन्सको जिम्मेवारी दिँदै महर्जनले मैदान उत्रारे ।

२०७५ सालको ए डिभिजन लिगका उदीयमान खेलाडी घोषित भएका खवासले यू–१२ उमेर समूहदेखि नै एन्फा एकेडेमीबाट खेलेका हुन् । आर्मीको उमेर समूहको टोली हँुदै सिनियर टिमको अनुभव बटुलिसकेका खवास नेपाल आर्मी क्लबका मुख्य खेलाडी हुन् ।

दर्शन गुरुङ, मिडफिल्डर

बंगलादेशविरुद्धको दुई म्याचको सिरिजको पहिलो खेलमा डेब्यू गर्ने तीनमध्ये एक खेलाडी हुन्, दर्शन गुरुङ । एन्फा एकेडेमीका उत्पादन गुरुङ खेलको ६८औं मिनेटमा रवि पासवनको स्थानमा मैदान छिरेका थिए । गत वर्ष सम्पन्न भएको शहिद स्मारक ‘ए’ डिभिजन लिगमा उदयीमान खेलाडी घोषित भएका गुरुङ न्यू रोड टिम (एनआरटी) का भरपर्दा मिडफिल्डर हुन् । निकै आक्रामक मिडफिल्डरको रूपमा परिचय बनाइसकेका गुरुङ फरवार्ड र विंगर तीनै भूमिकामा खेल्न सक्ने सामर्थ्य राख्छन् ।

दोस्रो खेलमा प्रशिक्षक महर्जनको पहिलो रोजाईमा पर्दै मैदान उत्रिएका उनले पूरै समय भने खेलेनन् । खेलको ७१औं मिनेटमा गुरुङलाई रिप्लेस गर्दै नेपालका अर्का युवा मिडफिल्डर सेसेहाङ आङदेम्बे मैदान प्रवेश गरेका थिए ।

छिरिङ गुरुङ, डिफेन्डर

पहिलो खेलमा टोलीमा नपरेका छिरिङ गुरुङले बंगलादेशविरुद्धको दोस्रो खेलमा प्लेइङ एलेभेनमा पर्दै राष्ट्रिय टिमबाट डेब्यू गरेका हुन् । प्रशिक्षक महर्जनले विकास खवासलाई राइट ब्याकबाट अनन्त तामाङसँगै डिफेन्सको मुख्य जिम्मेवारी दिएर अजित भण्डारीलाई विश्राम दिएपछि छिरिङले दोस्रो खेलभरि नेपालको राइट डिफेन्स सम्हालेका थिए ।

गत सिजन च्यासल फुटबल क्लबबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलेका गुरुङको प्रदर्शन तारिफयोग्य थियो । बंगलादेशविरुद्धको खेल अवधिभरि उनको प्रदर्शन तारिफयोग्य नभए पनि औसत रह्यो ।

पहिलो खेलमा पराजय भोगिसकेको अवस्थामा दोस्रो खेलमा पहिलो पटक राष्ट्रिय टोलीमा परेर केही दबाबमा उनी देखिए पनि उनको ट्याक्ल, ड्रिभ्लिङ र क्रस हेर्न लायक थियो ।

सेसेहाङ आङदेम्बे, मिडफिल्डर

नेपाल आर्मीका मिडिफिल्डर सेसेहाङ आङदेम्बे नेपालका उदयीमान युवा मिडफिल्डर हुन् । बंगलादेशविरुद्धको पहिलो खेलमा प्रशिक्षकको रोजाईमा नपरे पनि दोस्रो खेलको ७१औं मिनेटमा उनी मैदान प्रवेश गर्न सफल भएका थिए ।

दर्शन गुरुङको स्थानमा मैदान छिरेका आङदेम्बेको हिजोको खेल नै राष्ट्रिय टोलीबाट डेब्यू्र खेल हो । सेन्टर मिडफिल्डमा खेल्न रुचाउने उनी एन्फा एकेडेमीका उत्पादन एवम् नेपाल आर्मीका नियमित खेलाडी हुन् । उमेर समूहमा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गरिसकेका उनले १३औं दक्षिण एसियाली खेलकुदमा नेपालको मिडफिल्डमा सम्हाल्ने जिम्मेवारी पाएका थिए ।

पुजन उपरकोटी, मिडफिल्डर

प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा विश्वास नगरे पनि बंगलादेशविरुद्धको दोस्रो खेलमा भने युवा मिडफिल्डर पुजन उपरकोटीलाई मिडफिल्डको जिम्मेवारी सुम्पिए । दोस्रो खेलको दोस्रो हाफपछि मैदान प्रवेश गरेका उनले तेज तामाङलाई रिप्लेस गर्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन् ।

अघिल्लो सिजन ‘ए’ डिभिजन लिग मनाङको जर्सी लगाएर खेलेका उपरकोटीले आफ्नो फुटबल करिअर झापा–११ र च्यासल फुटबल क्लब हुँदै सुरु गरेका थिए । नेपालको यू–२३ राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्वसमेत गरिसकेका उपरकोटीलाई नेपाली मिडफिल्डको भविष्य मान्ने गरिन्छ ।

एरिक विष्ट, मिडफिल्डर

बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलको सिरिजको पहिलो खेलका दौरान विक्रम लामा घाइते भएपछि ४२औं मिनेटमा मैदान प्रवेश गर्दै एरिक विष्टले राष्ट्रिय टोलीमा डेब्यू गरे । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्यू रोड टिम (एनआरटी) बाट खेलेका विष्ट बी डिभिजन क्लब ‘अराउण्ड द हिमालयज बाँसबारी क्लब’का उत्पादन हुन् ।

विष्ट एन्फा एकेडेमीको यू–१६ उमेर समूहका खेलाडीसमेत हुन् । नेपाल आर्मीको यू–१८ टोलीमा रहँदै लगातार दुई पटक ललित स्मृति यू–१८ लिग जितेका विष्टसँग नेपाली आर्मीको सिनियर टिममा खेलेका अनुभव पनि छ ।

शारीरिक रूपमा बलिया एरिक बक्स टू बक्स मिडफिल्डरको भूमिका निर्वाह गर्न माहिर छन् । अघिल्लो सिजन लिगमा १२ खेल खेल्दै दुई खेलमा म्यान अफ द म्याच घोषित भएका विष्ट सेट पिसका प्रहार गर्न पनि सिपालु छन् । पहिलो खेलमा खासै मौका नपाए पनि दोस्रो खेलमा नेपालको तर्फबाट कर्नर र फ्रि–किक विष्टले नै प्रहार गरेका थिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ