Rumpum Advertisement
Dazzu

सरकारको व्यवहारले जनतामा भ्रम : महत

सरकारको व्यवहारले जनतामा भ्रम : महत

काठमाडौ, ३ मंसिर । सत्तारुढ दलको आन्तरिक किचलोका कारण अहिलेको प्रणालीमाथि नै जनतामा भ्रम पैदा हुन थालेको कांग्रेसले बताएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक किचलोले अहिलेको प्रणालीमाथि नै जनताले आशंका गरिरहेको कांग्रेसको भनाइ छ ।

निर्वाचित भएर आएकाहरुले नै जनतामाथि विश्वासघात गरेकोले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको कांग्रेसका सहमहामन्त्री प्रकाशशरणले महतले बताए ।

सहमहामन्त्री महतले प्रणालीमाथि नै आक्रमण गरेर धमिलो पानीमा खेल्न खोजे पनि देश त्यो बाटोमा जान नसक्ने बताए ।

उनले भने, ‘प्रणालीको कुरा होइन । निर्वाचित भएर आएकाहरुले जनतामाथि विश्वासघात गरेकाले जनतामा प्रणालीको नराम्रो हो कि भन्ने परेको छ । तर त्यो होइन् । जनताले अर्को निर्वाचनमा अर्को विकल्प खोज्ने हो ।’ सरकारले रहँदासम्म सरकारलाई सच्चिनका लागि बाध्य पार्न सबैले आवाज बुलन्द गर्नुपर्ने उनले बताए ।

‘प्रणालीमाथि आक्रमण गरेर धमिलो पानीमा खेल्न खोज्दैछन्,’ महतले भने, ‘त्यो बाटोमा देश जान सक्दैन ।’

उनले सरकार संवेदनशील नबनेका कारण महामारी नियन्त्रण बाहिर गएकोसमेत बताए । महामारीविरुद्धको लडाइँमा सरकारले सुरुवाती दिनदेखि आइसोलेसन निर्माण/व्यवस्थापन, क्वारेन्टिन व्यवस्थापन अस्पतालहरुमा बेडको व्यवस्था गरी अगाडि बढ्नुपर्नेमा त्यसो गर्न नसकेको उनले बताए ।

उनले भने, ‘निर्वाचनमा गरेको वाचाविपरित सरकारले काम गरिहरेको छ । सरकारस संवेदनशील भएको भए कोभिड सहजै नियन्त्रण गर्न सकिन्थ्यो ।

अहिले सरकार औषधि खरिद र राहत वितरणको रुपमा फाइदा उठाउने अभियानमा लागेको उनको आरोप छ ।

सहमहामन्त्री महतले जनतामाथि विश्वासघात गरेर नेकपा नेतृत्वको सम्पूर्ण ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएको बताए । संघ, प्रदेश र स्थानीय तहका तीनवटै सरकारप्रति जनताको विश्वास टुट्दै गएको पनि उनको भनाइ छ ।

उनले भने, ‘नेकपाको झगडाले जनतालाई ठूलो असर परेको छ । यो सरकार निर्वाचित भएर आएदेखि नै आन्तरिक सत्ता संघर्षमा नेताहरु देखिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली जसरी भए पनि सत्ता टिकाउने र उहाँको ठाउँमा जान चाहने नेताहरुले त्यहाँ पुग्न गरिरहेको लडाइँले नेपाली जनता मारमा परेका छन् ।’