Rumpum Advertisement
Dazzu

अन्न भण्डारमा दुई लाख मेट्रिक टन बढी धान उत्पादन हुने

अन्न भण्डारमा दुई लाख मेट्रिक टन बढी धान उत्पादन हुने

यज्ञ अधिकारी

विराटनगर, ३ मंसिर । अघिल्लो वर्षको तुलनामा यस वर्ष प्रदेश १ मा धानको उत्पादन २ लाख मेट्रिक टन बढी हुने अनुमान गरिएको छ । मौसमले साथ दिएको कारण धानको उत्पादन बढ्ने अनुमान गरिएको हो ।

प्रदेश १ कृषि निर्देशनालयले यो वर्ष १३ लाख ११ हजार २ सय ४५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ ।

समयमा मनसुन सुरु हुनु, किसानले समयमा रोप्न पाउनु र रोग, किराको प्रकोप कम हुनुले धानको उत्पादन बढेको कृषि निर्देशनालय विराटनगरकी सूचना अधिकारी सरस्वति श्रेष्ठले बताइन् । साथै यस वर्ष धान रोपाइँको क्षेत्रफल पनि बढेको उनले जानकारी दिइन् ।

अघिल्लो आर्थिक वर्षमा प्रदेश १ मा ११ लाख ९८ हजार ७ सय ४० मेट्रिक टन धान उत्पदन भएको थियो । त्यसबेला ३ लाख २० हजार १ सय ३४ हेक्टर क्षेफलमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

यस वर्ष प्रदेश १ मा ३ लाख ३२ हजार ९ सय १७ हेक्टरमा धान रोपाइँ भएको थियो । जसअनुसार अघिल्लो वर्षभन्दा १२ हजार हेक्टरमा धान रोपाइँ थपिएको थियो ।

प्रदेश १ का झापा, मोरङ र सुनसरी अन्न भण्डार हुन् । झापामा यस वर्ष ४ लाख १५ हजार ६ सय २५ मेट्रिक टन धान उत्पादन हुने कृषि निर्देशनालयको आँकलन छ ।

त्यसैगरी मोरङमा ३ लाख ४९ हजार ६० मे.टन उत्पादन हुने अनुमान गरिएको छ । सुनसरीमा २ लाख ३० हजार ६ सय ९२ मे.टन उत्पादन हुने निर्देशनालयले प्रक्षेपण गरेको छ ।

तराईका तीन जिल्ला गरेर ९ लाख ९५ हजार ३ सय ७७ मे. टन उत्पान हुने भएको हो ।

उच्च पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा ६० हजार ७ सय १४ मे.टन धान उत्पादन हुने कार्यालयले जनाएको छ । त्यसैगरी मध्य पहाडी जिल्लाहरू २ लाख ५५ हजार १ सय ५२ मे.टन धान उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी श्रेष्ठले बताइन् ।

प्रदेश १ को १४ जिल्लामा ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेती गर्नयोग्य जमिन छ । ताप्लेजङमा ८ हजार ७ सय ३७ हेक्टर धान खेतीयोग्य जमिन छ ।

संखुवासभामा १३ हजार ५१ हेक्टर, ओखलढुङ्गामा ४ हजार ४ सय ३ हेक्टर, धनकुटामा ७ हजार ९ सय ५० हेक्टर, तेह्रथुममा १० हजार १ सय ७५ हेक्टर, खोटाङमा १२ हजार ८ सय, भोजपुरमा १ हजार ८ सय २ हेक्टरमा धान खेती हुन्छ ।

त्यस्तै अन्नभण्डार मानिएको झापामा ८७ हजार ५ सय हेक्टर, मोरङमा ८३ हजार ३ सय हेक्टर र सुनसरीमा ५५ हजार हेक्टरमा धान खेती हुन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ