Rumpum Advertisement
Dazzu

रामोसले चोट बोके

रामोसले चोट बोके

विराटनगर, ३ मंसिर । स्पेनका कप्तान सर्जियो रामोसले चोट बोकेका छन् । मंगलबार राति जर्मनीसँगको खेलका क्रममा रियल मड्रिडका डिफेन्डर रामोसले चोट बोकेका हुन् ।

गए राति स्पेनले जर्मनीमाथि ६–० गोलको फराकिलो जित दर्ता गरेको थियो । स्पेनको मैदानमा भएको खेलमा घरेलु टोलीको जितमा फेर्रान टोरेसले ह्याट्रिक गर्दा अल्भारो मोरोटा, रोड्रि र मिकेल ओयार्जाबालले समान एक–एक गोल गरे ।

जर्मनीविरुद्ध जित निकालेपछि स्पेन समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्पेनले सो खेलकाृ पहिलो हाफमा दुई खेलाडी परिवर्तन गरेको थियो । १२औं मिनेटमा सर्जियो क्यानेल्सले घाइते हुँदै मैदान छोडेका थिए ।

यस्तै ४३औं मिनेटमा रामोस घाइते भएपछि प्रशिक्षक लुइस इनरिकले उनको स्थानमा इरिक गार्सियालाई मैदान प्रवेश गराएका थिए ।

खेलपछि पत्रकार सम्मेलनका क्रममा बोल्दै इनरिकले रामोस र क्यानेल्सले चोट बोकेको जानकारी दिए । तथापि, ३४ वर्षीय रामोसको चोट सामान्य नै रहेको इनरिकले जनाए ।

बार्सिलोनाका पूर्वप्रशिक्षक इनरिकले भने, ‘रामोसले जर्मनीविरुद्ध राम्रो प्रदर्शन गरे । दुर्भाग्यबस उनले चोट बोके । ह्याम्स्ट्रिङको समस्याका कारण उनले मैदान छोडे तर उनले लामो समय मैदानबाहिर बस्नुपर्ने छैन ।’

‘चोट सामान्य छ र म आशा गर्छु कि चाँडै रामोस र क्यानेल्स चोटमुक्त हुनेछन् । मैले उनीहरूको चोट महशूस गरेको छु किनकि म प्रशिक्षक हुँ र मैले आफूलाई उनीहरूको स्थानमा राखेर सोच्नुपर्छ’, उनले थपे ।