Rumpum Advertisement
Dazzu

खुलामञ्चबाट थापाथली सारियो निःशुल्क खाना

खुलामञ्चबाट थापाथली सारियो निःशुल्क खाना

काठमाडौ, ३ मंसिर । काठमाडौं महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्चमा सञ्चालन हुँदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथलीस्थित प्रसूति गृहपछाडि सारिएको छ ।

खुलामञ्चमा खाना खुवाउँदा धुँवाधुलो हुने र यसबाट कोभिड–१९ संक्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना भएको भन्दै महानगरपालिकाले मंसिर २ गतेदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो ।

तर मानिसहरु खाना खानका लागि लामबद्ध भएपछि हाम्रो टीम नेपालले मंगलबार खाना खुवाएको थियो । त्यसपछि भने महानगरपालिकाले वैकल्पिक ठाउँ दिएको छ ।

थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालको पछाडिपट्टि रहेको खुला ठाउँ उपलब्ध गराएपछि आजदेखि सोही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँलगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता भएको पनि अध्यक्ष पन्तले बताए । उनले काम नपाएर भोकै बस्नुपर्ने स्थिति आएमा प्रत्येक दिन बिहान ९ बजे थापाथलीस्थित व्यवस्था गरिएको ठाउँमा खाना खान आउनसमेत आग्रह गरे ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात सुचारु भएको अवस्थामा सार्वजनिक स्थलहरुमा भिडभाड हुनेगरी खाना खुवाउँदा स्वास्थ्य मापदण्ड कार्यान्वयनमा जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गरिएको बताएको छ ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले असहाय, अशक्तलाई भोजन गराउने संघसंस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा नयाँ ठाउँको व्यवस्था गरिएको बताए ।

स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी वैकल्पिक स्थानमा भोजन गराउने नीतिअनुसार नयाँ ठाउँको व्यवस्था गरिएको उनले बताए ।

निःशुल्क भोजन गराउने स्थानमा शौचालय, पानीसहितको संरचना निर्माण महानगरपालिकाले गरिदिने पनि सापकोटाले बताए ।

यसबाहेक काठमाडौं महानगरपालिकाले काम गर्न सक्नेका लागि हप्तामा दुई दिन काम दिने व्यवस्था गरेको पनि नगर प्रहरी प्रमुख सापकोटाले बताए । त्यसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न उनको आग्रह छ । काम गर्न सक्नेका लागि काम दिने र नसक्नेलाई निःशुल्क खाना खान खुवाउने नीति महानगरपालिकाले लिएको पनि सापकोटाले स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ