Rumpum Advertisement
Dazzu

कोरोना संक्रमणबाट जोगिन फोनलाई सफा राख्नुपर्ने

कोरोना संक्रमणबाट जोगिन फोनलाई सफा राख्नुपर्ने

विराटनगर, २ मंसिर । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि हात धुने, खोक्दा वा हाच्छ्यूँ गर्दा नाक र मुख ढाक्ने, मास्क लगाने र छोइएका सतह सफा गर्ने गरिन्छ । घरका कुना काप्चा र सतहलाई सफा गर्नुका साथै पटक-पटक छोइरहने फोनको टच स्क्रिनलाई पनि सफा गर्न महत्त्वपूर्ण हुन्छ ।

प्रायः व्यक्ति फोनलाई ९६ पटक छुने गर्छन् । फोन हातमा मात्र नभइ झोला, ढोकाको ह्यान्डल र अन्य सतहको सम्पर्कमा आउँछन्, जसमा हजारौं कीटाणु र ब्याक्टेरिया हुन्छन् ।

प्रत्येक चोटी फोनलाई फोहोर हातले छुँदा कीटाणु स्क्रिनमा टासिन्छन् । र, फोनमा कुरा गर्दा फोनलाई कान र मुखको नजिकमा राखिन्छ, जसले विभिन्न प्रकारका रोगजनकलाई फैलाएर सजिलै बिरामी बनाउन सक्छ ।

दिनहुँ छुने सबैभन्दा फोहोर चिजमध्ये एक फोन पनि हो । एरिजोना विश्वविद्यालयका अनुसन्धानकर्ताले २०१७ मा गरिएको अध्ययनअनुसार फोनमा शौचालय सिटभन्दा १० गुणा बढी ब्याक्टेरिया हुन्छ ।

प्रायःजसो व्यक्तिले आफ्ना फोन कम सफा गर्ने हुन्छन् । जसकारण ई. कोलाई, इन्फ्लूएन्जा, स्टेफिलोकोकस अरियस जस्ता किटाणु फोनमा हुनेगर्छ ।

त्यसैले संक्रमणको जोखिम रोक्नको लागि नियमित रूपमा आफ्नो फोन सतह सफा गर्न महत्त्वपूर्ण हुन्छ । धेरैजसो सतह सफा गर्न, साबुन र पानी धेरै राम्रो र प्रभावकारी तरिका मानिन्छ ।

फोनमा पानीको प्रयोग गर्न नमल्ने हुँदा रक्सीयुक्त वाइपको प्रयोग गर्नु उत्तम हुन्छ । यस प्रकारका वाइपले फोन सतहमा अवस्थित धेरैजसो किटाणु र ब्याक्टेरियालाई सजिलै मार्न सक्छ ।

तर, फोनको सतह तेलले ढाकिएमा सतह राम्रोसँग सफा गर्न गाह्रो हुन सक्छ । तेल वा अन्य सामग्रीको उपस्थितिले वाइपलाई जिवाणुमा प्रवेश गर्न र सतहबाट हटाउन गाह्रो बनाउँछ ।

फोन राम्ररी सफा छ भनेर निश्चित गर्न, पहिले फोनको कभर हटाउनुपर्छ । फोन र केस दुबैलाई कटनको कपडाले सफा गरेपछि रक्सी भएको वाइपले राम्ररी सफा गर्नुपर्छ ।

दिनमा धेरै पटक फोन सफा गर्नु महत्त्वपूर्ण हुन्छ । यदि राम्ररी हात धोइरहने बानी भए दिनको दुई वा तीन पटक मात्र फोन सफा गरे पुग्छ । यदि खोकी लागेको वा हाच्छ्यूँ गरेको व्यक्तिको वरिपरि भएमा फोन सफा गर्नुपर्छ ।