Rumpum Advertisement
Dazzu

रामोसले पेनाल्टी हान्न नछोड्ने

रामोसले पेनाल्टी हान्न नछोड्ने

विराटनगर, २ मंसिर । स्पेनका कप्तान सर्जियो रामोसले आफू पेनाल्टी हान्न नछोड्ने बताएका छन् । रियल मड्रिडका डिफेन्डर रामोसले स्पेनिस मिडियासँगको कुराकानीमा आफू पेनाल्टी हान्न नछोड्ने बताएका हुन् ।

स्पेनले यूईएफए नेशन्स लिगअन्तर्गत शनिबार राति स्वीट्जरल्याण्डविरुद्ध १–१ गोलको बराबरी खेल्दा रामोसले दुई वटा पेनाल्टी मिस गरेका थिए । स्वीट्जरल्याण्डको मैदानमा भएको समूह चरणको खेलमा स्पेनले दुई पटक पेनाल्टीको मौका पाएको थियो ।

जसमा, कप्तान रामोस चुक्न पुगेका थिए । खेलको ५७औं मिनेटमा र ८०औं मिनेटमा रामोस पेनाल्टीमा चुकेका थिए । उनी पेनाल्टीमा चुक्दा स्पेनल जित्नबाट बञ्चित भएको थियो ।

त्यसअघि रामोसले स्पेन र रियलका लागि लगातार २५ पेनाल्टीमा गोल गरेका थिए । ‘यदि, त्यहाँ अर्को एउटा पेनाल्टी हुन्थ्यो भनेपनि म हान्ने थिएँ’, जर्मनीसँगको खेलको पूर्वसन्ध्यामा उनले भने, ‘पक्कै पनि । यदि, मैले त्यो नगरेमा म नै म रहन्न ।’

स्पेनले मंगलबार राति १ः३० जर्मनीसँग खेल्दैछ । आफ्नै मैदानमा हुने सो खेलमा जित निकालेमा ऊ नेशन्स लिगको सेमिफाइनल पुग्नेछ ।

यसैगरी रामोसले आफू तत्काल राष्ट्रिय टोलीबाट सन्यास नलिने पनि स्पष्ट पारे । इटालियन गोलरक्षक जियानलुइगी बुफनको रेकर्ड आफ्नो नाम गर्दा खुशी मिलेको उल्लेख गर्दै उनले अहिले सन्यास नलिने बताए ।

स्वीट्जरल्याण्डसँगको खेल खेलेसँगै ३४ वर्षीय रामोस युरोपियन मुलुकका लागि सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउने खेलाडी बने । बुफनलाई उछिन्दै उनी युरोपियन मुलुकका लागि सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउने खेलाडी बनेका हुन् ।

इटालियन क्लब युभेन्टसका गोलरक्षक बुफनले मार्च २०१८ मा १७६ खेल खेल्दै यो कीर्तिमान बनाएका थिए । रामोसले १७७ खेल खेलेका छन् । जसमा १२९ खेलमा स्पेनले जित निकालेको छ भने रामोसले २३ गोल गरेका छन् ।

‘बुफनजस्तो लिजेन्डको रेकर्ड तोड्नु गर्वको विषय हो । जब तपाईंले सुरु गर्नुहुन्छ, तपाईंले यो स्तरसम्म आइपुग्नेबारेमा सोच्नुहुन्न । यसका लागि मैले धेरै मेहनत गरेको छु । र, अन्त्यमा म निरन्तरता दिन चाहन्छु । आफ्नो थाप्लोमा आएको जिम्मेवारी बहन गरेरै छोड्छु,’ उनले भने ।

रामोसले मार्च २००५ मा चीनविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन् । उनले राष्ट्रिय टोलीबाट कुल ३१ गोल गरेका छन् ।