Rumpum Advertisement
Dazzu

पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन

पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन

पोखरा, २ मंसिर । मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छाया फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक–पटक यो दृश्य देख्दा उनीहरुबाट निस्किने पहिलो शब्द हो ‘वाउ पोखरा !’

पोखराको सौन्दर्यसँग जोडिएको विशेष आकर्षण भनेकै हिमाल र ताल हुन् । अनि भू–गर्भबाट कलकल बग्ने सेती, उत्तरतर्फ देखिने माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी हिमशृंखला यहाँका थप आकर्षण । फेवा, रुपा, वेगनास, गुँदे, दिपाङ, खास्टे, निउरेनी, मैदी र कमलपोखरीजस्ता नौ ताल त छँदै छन् । नौ तालले सिगारिएको पोखरा उपत्यकाका शान्ति स्तुपा, पातले छाँगो (डेभिज फल्स), गुप्तेश्वर गुफा, चमेरे गुफा, महेन्द्र गुफा, विन्ध्यवासिनी आदि थप गहना हुन् ।

पछिल्लो समय पोखराको थपिएको पहिचान विविध साहसिक खेलको शहर पनि हो । पोखरामा प्याराग्लाइडिङ, जिप फ्लायर, टावरसहितको बञ्जी जम्प, अल्ट्रालाइट, क्यानोनिङ, हट एयर बेलुन, स्काइ डाइभसँगै पर्यटकले रमाइलोका लागि गर्ने साइकलिङ, बोटिङ, घोडा सवारी, सेती नदीमा गरिने जलयात्रा (र्‍याफ्टिङ) तथा कायाकिङले पनि यस क्षेत्र साहासिक खेलको मुख्य गन्तव्य बन्दै गएको छ ।

प्राकृतिक सुन्दरता अवर्णित शहर पोखरामा मौसम जसरी खुलेको छ त्यसरी पोखराका पर्यटन व्यवसायीको मन भने खुल्न सकेको छैन । पोखराको सुन्दरताले व्यवसायीको अनुहारमा कान्ति ल्याउन सकेको छैन । यसअघिका वर्षहरुमा पर्यटकको चाप धान्न धौधौ पर्ने मौसम हो यो । विगतको अनुभव सम्झँदै, बिहानीको झुल्के घामसँगै आँगनीमा निस्कने व्यवसायी फेवातालमा डुंगा छचल्किएको कल्पनासँगै शून्य मन लिएर साँझ फर्किन बाध्य छन् ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि सुस्ताएको पर्यटन असारयता बन्दाबन्दी खुले पनि लयमा फर्कन सकेको छैन । दसैँ–तिहारको समयमा केही आन्तरिक पर्यटक देखिए पनि कोरोनाको उच्च जोखिम रहेकाले यहाँस्थित होटल रेष्टुरेन्टहरुले सहजरुपमा सेवा प्रवाह गर्न सकेका छैनन् ।

पोखरा आएका आन्तरिक पर्यटक वरपरका पदयात्रा मार्ग एवं पर्यटकीयस्थल समेत नखुल्दा थप समस्यामा परेका छन् । कोरोनाको महामारी फैलन सक्ने अवस्थालाई दृष्टिगत गरी विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने मनाङले कोरोनाको पीसीआर नेगेटिभ अनिवार्य गराएको छ । कास्कीको मर्दी हिमाल पदयात्रामा जाँदा पीसीआर रिपोर्ट नेगेटिभ पेश गर्नुपर्ने नियमले पर्यटकलाई पोखरा आउनुअघि नै सोच्न बाध्य बनाइदिएको छ । पोखरा हुँदै जाने धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ पनि दर्शनार्थीका लागि अहिले बन्देज छ ।

पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी भट्टराई मौसम खुले पनि यतिबेला व्यवसायीको मन खुल्न नसकेको बताउँछन्, ‘यो महामारीमा व्यवसायीले सरकारबाट केही आशा गरेका थिए, मौद्रिक नीतिको चौतर्फी स्वागत भयो, तर सरकारले आफैँले ल्याएको नीति कार्यान्वयन गर्न सकेन, व्यवसायीलाई थप पीडा दिने मात्रै काम भयो,’ भट्टराईले भने, ‘व्यवसाय सञ्चालन कोष छ तर खै त त्यसको प्रयोग ? सरकारले व्यवसायीलाई झुक्याउने काममात्र गर्‍यो, मौद्रिक नीतिबाट कोही लाभान्वित हुन सकेन ।’ उनले सबै कुरा केन्द्रीय नीतिबाट मात्र चल्ने हुँदा संघीयताको अनुभव व्यवसायीले गर्न नपाएको गुनासो गरे ।

‘प्रदेश सरकारले भनेको कुरा कतै लागू हुँदैन, स्पष्ट नीति नियम नहुँदा सबैले आफूखुसी पर्यटनमा रोक लगाएका छन्,’ भट्टराईले पोखराको पर्यटन चलायमान हुन पोखरा मात्र खुलेर नहुने र आसपासका घान्द्रुक र धम्पुसका लगायतका स्थान खुल्न नसक्दा पर्यटक नै दोधारमा भएको उनी बताउँछन् ।

‘मर्दी हिमालमा पर्यटकको चहलपहल राम्रो थियो, तर अहिले एक्कासी पीसीआर नेगेटिभ अनिवार्य गराइयो, कहीँकतै समन्वय नगरी गरिने यस्ता निर्णयले पर्यटनमा दीर्घकालीन असर पार्छ,’ सरकारले व्यवसायीलाई साथ नदिँदा पोखरामा २० देखि ३० प्रतिशत व्यवसायी विस्थापित भइसकेको उनले बताए । पोखराभित्रका पर्यटकीय गन्तव्य पनि सुरक्षितरुपमा खोल्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको जोड छ ।

नेपाल पर्यटन बोर्डको सञ्चालक समितिका पूर्वसदस्य बासु त्रिपाठीले पर्यटनसम्बन्धी मूल कानून र स्पष्ट नीति अभावमा स्थानीय तहले आ–आफैं नियम बनाउँदा पर्यटकले खुलारुपमा घुम्न डुल्नबाट बञ्चित हुनुपरेको बताउँछन् । ‘लोन्ली प्लानेटले संसारको एक आकर्षक गन्तव्यमा अन्नपूर्ण पदमार्गलाई राखेको छ, तर पर्यटकलाई त्यहाँ जान रोक लगाइएको छ । यसले कस्तो सन्देश जान्छ ?’ उनले संघीय सरकारले आफू मातहतका निकायलाई निर्देशन जारी गरेर आवश्यक मापदण्ड पालना गर्न लगाउनुपर्ने बताए ।

उनले भने, ‘जहाँबाट पर्यटक आए पनि पर्यटनसम्बन्धी एउटै नीति नियमको आधारमा निर्धक्क घुम्न, डुल्न पाउनुप¥यो, प्रत्येक जिल्ला, गाउँपालिका पुग्दा फरक–फरक नियमले पर्यटकलाई अन्योल बनाएको छ, यसले राम्रो सन्देश जादैन ।’ उनले प्याराग्लाइडिङ उडेर मात्र पोखराको पर्यटन नधानिने भन्दै सरोकारवाला सबैको साझा धारणासहित एउटै पर्यटन नीतिको आवश्यकता औल्याए । संघीय कानुन नीतिसँग नबाझिने गरी संघको अनुमतिमा स्थानीय तहले केही नियम बनाउन सक्ने उनको भनाइ छ ।

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले पर्यटकको स्वास्थ्य सुरक्षाप्रति सजग बन्दै यहाँका केही होटल सञ्चालन भए पनि अन्य पर्यटकीय गतिविधि र गन्तव्य खुला नहुँदा समस्या भएको बताए । उनले पोखराका होटल खुले पनि आसपासका विन्ध्यवासनी, तालबाराही, डेभिज फल्स, चमेरे गुफा, विश्वशान्ति स्तूप, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलगायतका स्थल एवम् घान्द्रकु, धम्पुसलगायतका पर्यटकीय गन्तव्य खुल्न नसक्दा पर्यटकीय गतिविधि बढ्न नसकेको उनको भनाइ छ ।

‘आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै पर्यटकीयस्थल एवं गतिविधि खुल्ला नगर्दासम्म पोखराको पर्यटन अपेक्षित चलायमान हुँदैन,’ उनले भने, ‘पर्यटकीय गतिविधिका लागि तीनै तहको पर्यटन नीति स्पष्ट हुनुपर्छ र सम्बन्धित निकायसँग समन्वय गरेर पर्यटकीयस्थल एवं गतिवधि तत्काल सञ्चालनमा ल्याउन आवश्यक छ ।’ ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल, टान पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले कुनै ठाउँमा बन्द कुनै ठाउँमा खुल्ने गर्दा पर्यटनलाई अन्यौल बनाउने बताउँछन् ।

उनी भन्छन्, ‘संघीय सरकारले पदयात्रा र हिमाल आरोहरण खुला गरिसकेपछि पर्यटकलाई त्यहाँ जाने वातावरण मिलाएर सहज वातावरण बनाउनुपर्नेमा ठाउँ–ठाउँमा र स्थानीय तहमा आफूअनुकुलका निर्णय गर्दा पर्यटन क्षेत्र अस्तव्यस्त भएको छ ।’

पौडेलले भने, ‘अहिलेको कठिन अवस्थामा राज्यले पर्यटनमैत्री नीति ल्याएर व्यवसायीलाई पलायन हुनबाट जोगाउनु राज्यको दायित्व हो तर राज्यले ल्याएको नीति पनि कार्यान्वयन हुन सकेन, यसले व्यवसायीलाई निरास बनाएको छ ।’ पौडेलले स्थानीय समुदायको सुरक्षालाई पनि ध्यान दिएर स्थानीयसँग समन्वय गरेर जनचेतनाका लागि स्वास्थ्य सतर्कताका तालिमहरु प्रदान गरी पर्यटन चलायमान बनाउन सकिने बताउँछन् ।

पोखराको सुन्दर र आकर्षक सन्देशलाई विश्व बजारमा पु¥याएर आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिँदै आएका गण्डकी प्रदेश उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले कोभिड–१९ का कारण पर्यटकीय गतिविधि सञ्चालनमा समस्या भएको बताए ।

‘महामारी बढिरहेको छ, पर्यटकीय गन्तव्य खुलाउँदा थप जोखिम हुनेतर्फ पनि सरकार उत्तिकै संवेदनशील छ, अब तिहारपछि स्वास्थ्य सुरक्षा रणनीति अवलम्बन गरेर पर्यटन चलायमानको विकल्पको खोजी गर्नेछौँ ।’ उनले पर्यटकीय गन्तव्यहरुमा पीसीआर अनिवार्यभन्दा पनि लक्षण देखिएकाहरुलाई समुदायमा नजान भनिएको जानकारी दिए ।

‘हामीले केही लक्षण देखिए एकान्तबास बस्न र स्वास्थ्यप्रति सजग र संवेदनशील बन्न आग्रह गरेका हौँ, एक–दुईजनाको लापरवाहीले समुदायमा नै संक्रमणको जोखिम हुन्छ, सबैको फरक–फरक बुझाइले यस क्षेत्रमा अन्यौल सिर्जना गरेको छ ।’ मन्त्री लम्सालले प्रदेश पर्यटन ऐन आएपछि यससँग सम्बन्धित धेरै समस्याको समाधान हुने र यसैको आधारमा स्थानीय तहले केही नियम बनाएर अघि बढ्न सक्ने बताए ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष टिकाराम सापकोटाका अनुसार पोखरामा जमिनबाहेक पर्यटन क्षेत्रमा एक खर्ब ९२ अर्ब लगानी रहेको छ । यस क्षेत्रमा ७५ हजारले रोजगार पाएका छन् भने अहिले पोखराको पर्यटनले हाल दैनिक १३ करोड ३६ लाख घाटा व्यहोरिरहेको छ ।

पर्यटनबाट कूल ग्राहस्थ्य उत्पादनमा ७.९ प्रतिशत योगदान रहेको छ । नेपालमा आउने पर्यटकको औसत बसाइ ११ दिन रहेको छ । त्यसमा पोखरा उनीहरु २ देखि ३ दिनसम्म बस्ने गरेको विगतको तथ्यांक छ । त्यसैगरी नेपाल आउने पर्यटकले औसतमा ४५ देखि ५० अमेरिकी डलर खर्च गर्ने गर्दछन् ।

गत वर्ष नेपालमा करिब ११ लाख ९८ हजार पर्यटक आएकोमा तीमध्ये पाँच लाख जति पोखरा पुगेको पर्यटन परिषद पोखराले जानकारी दिएको छ । उक्त परिषदले आफ्नो यही मङ्सिर १२ को निर्वाचनपछि पोखरामा आन्तरिक पर्यटक प्रवद्र्धन के कसरी गर्ने भन्ने विषयमा आवश्यक छलफल गरेर कार्यक्रम (प्याकेज) ल्याउने तयारी गरिरहेको पनि बताएको छ । रासस

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ