Rumpum Advertisement
Dazzu

तिहारमा मदिराको ह्याङओभर हटाउने तरिका

तिहारमा मदिराको ह्याङओभर हटाउने तरिका

विराटनगर, २ मंसिर । नेपालीहरूको महान चाड तिहारमा घरघरमा वाइन, बियर, विभिन्न ब्रान्डका रक्सीको सेवन गरिन्छ ।

रमाइलोका लागि थोरै मात्रामा रक्सीको सेवनले शरीरका धेरै असर नगरे पनि अत्यधिक मात्रामा सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्छ । शारीरिक समस्या भएका व्यक्तिले रक्सीको सेवन गर्नु हुँदैन । साथै, कुनै पनि शारीरिक समस्या नभएका स्वस्थ व्यक्तिले समेत एक दिनमा दुई पेग हार्ड ड्रिंक, एक ग्लास वाइन र एक बोतल बियर खाएसम्म खासै बिगार भने गर्दैन ।

तर, सोभन्दा धेरै मदिराको सेवनले भने ह्याङओभर हुन सक्छ । मदिराको नसा लाग्न थालेपछि टाउको भारी हुनुका साथै थकान महसुस हुन थाल्छ । यसलाई मदिरा पिएपछिको ह्याङओभर भनिन्छ । कतिलाई टाउको दुख्ने, उल्टी हुने, चक्कर आउनेसमेत हुन सक्छ । अत्यधिक रक्सीको सेवनले कोहीलाई अर्को दिनसम्म पनि ह्याङओभरले सताउन सक्छ ।

रक्सी पिउँदा शरीरमा पानीको मात्रा कम हुन्छ जसकारण अम्लको मात्रा बढ्न जान्छ र शरीर थाकेको जस्तो सुस्त हुन्छ । रक्सीको ह्याङओभर हटाउनका लागि विभिन्न उपाय अपनाउने गरिन्छ । खालीपेट रक्सीको सेवन गर्दा धेरै लाग्ने हुँदा खालीपेटमा रक्सीको सेवन गर्नु हुँदैन । शरीरमा पानीको कमी हुने हुँदा ह्याङओभरबाट मुक्ति पाउनका लागि प्रशस्त मात्रामा पानी पिउनु पर्छ ।

ह्याङओभर भएको बेलामा अमिलो खानु पर्छ । कागती तथा अमिलो खानेकुरामा भएको तत्वले चक्कर लाग्न नदिएर रक्सीको नशा हटाउने गर्छ । ह्याङओभर हटाउनका लागि धेरैजसो कागतीपानी पिउने गरिन्छ । रक्सीले शरीरमा ग्लुकोजको मात्रा कम गराउने हुँदा ग्लुकोज पानी, गोलभेँडाको जुस खाएमा शरीरको आलस्यताका साथै ह्याङओभर पनि हटेर जान्छ ।

काँचो अदुवा वा अदुवा हालेको चिया पिउँदा टाउको दुखेको कम गरी ह्याङओभर हटाउन सकिन्छ । दूध वा दही पिउँदा पनि रक्सीको नशा कम हुन्छ । ह्याङओभर भएको बेलामा केरा खानु पनि निकै लाभदायक हुन सक्छ ।