Rumpum Advertisement
Dazzu

नेपाल र बंगलादेशको दोस्रो खेल आज, कसले मार्ला बाजी ?

नेपाल र बंगलादेशको दोस्रो खेल आज, कसले मार्ला बाजी ?

विराटनगर, २ मंसिर । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत आज नेपालले बंगलादेशसँग दोस्रो खेल खेल्दैछ । बंगलादेशको ढाकास्थित बंगबन्ध रंगशालामा हुने यो खेल अपराह्न ४ः४५ बजेबाट सुरु हुनेछ ।

यस खेलमा नेपाल घरेलु टोलीमाथि बदला लिने दाउमा छ । यसअघि पहिलो खेलमा नेपालले बंगलादेशसँग २-० गोलकाे हार ब्यहाेरेकाे थियो ।

यसैगरी ‘मुजिव बर्सो सिरिज’ नाम दिइएको यस प्रतियोगिताको दोस्रो खेलमा नेपाल जित निकाल्ने योजनामा छ ।

पहिलो खेलमा पराजित भएको नेपाली टोली दास्रो खेलमा जित्नैपर्ने दबावका मैदान उत्रिने छ ।नेपालले आफ्नो अन्तिम खेलका लागि शेख जमल धनमुण्डी मैदानमा प्रशिक्षण गरेको थियो ।

नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा व्यहोरेको हारलाई मध्यनजर गर्दै प्रशिक्षण गरिएको बताए ।

पहिलो खेलमा भएका कमीकमजोरीहरूलाई सच्याउनेगरी दोस्रो खेलको तयारीमा आफूहरू रहेको उनले बताए ।

कोभिडका कारण अभ्यासमा पर्याप्त नभएकाले पहिलो खेलमा पराजित हुनुपरेको उनले बताए । आगामी खेलमा पहिलो खेलमा देखिएका कमीहरूलाई सच्याउने पनि उनले बताए ।

खेलाडीहरू पनि दोस्रो खेलका लागि उत्साहित रहेका छन् । टिममा केही नयाँ अनुहार हुनु र कोभिडका कारण पर्याप्त अभ्यास नभएकाले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा नभएको उनीहरूको भनाइ छ ।

शनिबार गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि सबैको नेगेटिभ आएको छ ।

कोरोना महामारीका कारण विश्वकप छनोट खेलहरू स्थगित भएकाले नेपाल र बंगलादेश दुवैले यो खेललाई अनुभव साट्ने अवसरको रूपमा लिएका छन् ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रीपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको हो ।

एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरू जुन १५ सम्म सकिने जनाएको छ ।

यसअघि अक्टोबर र नोभेम्बरका लागि तय भएका छनोट खेल कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित भएका थिए ।

‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ ।

नेपाल र बंगलादेशबीच हालसम्म २० पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १३ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजाविहीन भएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ