Rumpum Advertisement
Dazzu

डोल्पा र गोरखामा हिमपात, जनजीवन प्रभावित

डोल्पा र गोरखामा हिमपात, जनजीवन प्रभावित

विराटनगर, १ मंसिर । डोल्पा र गोरखामा हिमपात भएको छ । आज बिहानैदेखि परेको हिमपातले डोल्पाको जनजीवन प्रभावित भएको छ ।

भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाको विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन प्रभावित बनेको हो । हिउँ परेपछि डोल्पामा चिसो अत्याधिक बढेको स्थानीयवासी बताउँछन् ।

माथिल्लो डोल्पास्थित शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा पर्ने फोक्सुण्डो, साल्दाङ्ग, धो, तिन्जे, छार्का, मुकोटलगायत बस्तीहरुमा आइतबार रातिदेखि नै हिमपात शुरु भएको शे–फोक्सुण्डो गाउँपालिका–८ का वडाध्यक्ष निमा लामाले जानकारी दिए ।

हिमपातका कारण फोक्सुण्डो ताल आसपासमा दुई ईन्चसम्म हिउँ जमेको र अहिलेपनि निरन्तर रुपमा हिमपात भइरहेको उनको भनाइ छ ।

बाक्लो हिउँ जमेका कारण माथिल्लो डोल्पाका डाँडापाखा र विकट गाउँबस्तीहरु सेताम्मे भएका छन् । चौरी लिएर तल्लो डोल्पा आउने भोटवासी बाटैमा रहेकाले निकै अप्ठयारोमा परेको वडाध्यक्ष लामाको भनाइ छ ।

उत्तरी गोरखामा गएरातिदेखि भीषण हिमपात पर्न शुरु भएको छ । मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायतका क्षेत्रमा हिमपात पर्न शाुरु भएको सामागाउँका स्थानीयबासी मिङ्मार लामाले जानकारी दिए ।

हिमपात पर्न शुरु भएसँगै जनजीवन प्रभावित हुन थालेको उनले बताए । “हिमपातसँगै चिसो पनि बढ्न थालेको छ”, लामाले भने “दैनिक घरायसी कामकाजमा समेत समस्या हुन थालेको छ ।”

हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको जानकारी दिए ।

अहिले प्रोकभन्दा माथिल्लो क्षेत्रमा हिमपात परेको चुमनुव्री गाउँपालिका—१ का वडाध्यक्ष बीरबहादुर लामाले बताए । हिमपातका कारण लार्केपास र रुइला नाका जानेबाटो समेत अवरुद्ध भएको छ । रासस

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ