Rumpum Advertisement
Dazzu

पश्चिमी वायुको प्रभावले चिसो बढ्यो, तीन दिन वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले चिसो बढ्यो, तीन दिन वर्षाको सम्भावना

विराटनगर, १ मंसिर । पश्चिमी बायुको प्रभावका कारण देशभर चिसो बढेको छ । चिसोका कारण उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । सोमबार विहानैदेखि मौसममा आएको बदलीका कारण चिसो बढेको हो ।

विभागका अनुसार पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको छ ।

प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानहरुलगायत गण्डकी, बागमती र प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।