Rumpum Advertisement
Dazzu

खुलमञ्चमा भाइटीका

खुलमञ्चमा भाइटीका

काठमाडौ, १ मंसिर । लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले आज भाइटीकाको दिन सर्वसाधारणहरुलाई टीका लगाइदिएको छ ।

गत वर्षको चैत १४ गतेबाट काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले आज सर्वसाधारणलाई भाइटीका लगाइदिएको हो । कोही पनि दाजुभाइको निधार खाली नहोस् भनेर खुलामञ्चमै भाइटीका लगाइएको हाम्रो टीम नेपालकी संस्थापक सदस्य कविता पौडेलले बताइन् ।

कोरोनाका कारण आफ्ना दिदीबहिनीहरुलाई भेट्न जान नपाएका दाजुभाइहरुलाई आज भाइटीकाको दिन सप्तरंगी टीकासँगै मखमलीको माला र ढाका टोपी लगाइदिएको पनि उनले बताइन् ।

यो वर्ष आफ्ना दिदीबहिनीहरुबाट टाढा भए पनि खुलामञ्चमा हाम्रो टीम नेपालका सदस्यहरुबाट भाइटीका लगाएका सर्वसाधारणहरु खुसी देखिएका छन् ।

लकडाउनपछि निरन्तर खाना खुवाइरहेको सो समूहले दसैँमा पनि सर्वसाधारणहरुलाई टीका र जमरा लगाइदिएको थियो । मंसिर २ गतेबाट भने खुलाञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले स्वस्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको हो । महानगरपालिकाले व्यवस्थित ठाउँमा खाना खुवाउने व्यवस्थापन गर्न आग्रह गर्दै महानगरपालिकाले सक्दो सहयोग गर्ने बताएको छ ।