Rumpum Advertisement

शंखधरलाई सम्झँदै नेपाल सम्वत ११४१ को स्वागत

शंखधरलाई सम्झँदै नेपाल सम्वत ११४१ को स्वागत

काठमाडौ, १ मंसिर । नेवार समुदायले राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्दै नेपाल सम्वत ११४१ लाई स्वागत गरेका छन् ।

विशेषगरी नेवार समुदायले नेपाल सम्वत धुमधामका साथ मनाउने गर्दछन् । विगत वर्षहरु मोटरसाइकल र्‍याली, शहर परिक्रमालगायतका विभिन्न कार्यक्रम गरी नेपाल सम्वत मनाउने गरिएको भए पनि यो वर्ष कोरोना महामारीका कारण औपचारिकतामा मात्रै सीमित रह्यो ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात गरेको विश्वास गरिन्छ । विश्वभरि नेपाल समुदायले नेपाल सम्वत मनाउने गरेका छन् ।

नेवार समुदायका अगुवाहरुले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा मान्यता दिएर पनि सरकारले आधिकारिकरुपमा प्रचलनमा नल्याएको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गरेका छन् । नेपालको आफ्नो सम्वत हुँदाहुँदै पनि प्रचलनमा नल्याउनु दुःखद भएको नेवार समुदायका अगुवा तथा सर्वसाधारणहरुको भनाइ छ ।

नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिँदै आधिकारिकरुपमा प्रचलनमा ल्याउनुपर्ने माग राख्दै विसं २००७ सालदेखि नै अभियान चल्दै आएको छ । अहिले विश्व नै कोरोना महामारीसँग लडिरहेको अवस्थामा ‘कोरोनामुक्त वर्ष ११४१’ होस् भन्ने कामनाका साथ शुभकामना आदानप्रदान गरी नेपाल सम्वत मनाइरहेको नेपाल सम्वत (न्हुँद) राष्ट्रिय समारोह समितिका संयोजक रमेश महर्जनले बताए ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सम्वतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । तर आधिकारिक दस्तावेजहरुमा भने राष्ट्रिय सम्वत भनेर उल्लेख गरेको पाइँदैन ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ