Rumpum Advertisement
Dazzu

भारतीय मजदूरको भरमा इँटा उद्योग, नाका नखुल्दा उद्योग बन्द

उद्योगी भन्छन् – ‘निर्माण क्षेत्रमा असर गर्छ’

भारतीय मजदूरको भरमा इँटा उद्योग, नाका नखुल्दा उद्योग बन्दउद्योगी भन्छन् – ‘निर्माण क्षेत्रमा असर गर्छ’

विराटनगर, ३० कात्तिक । कोरोना महामारीका कारण भारतीय मजदूर ल्याउन नपाउँदा पूर्वी नेपालका इँटा उद्योग बन्द भएका छन् ।

प्रदेश १ मा रहेका उद्योगमा भदौबाट इँटा उत्पादन सुरु हुन्छ । तर कोरोना महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय नाका सिल भएका कारण भारतबाट मजदूर आउन पाएनन् । मजदूर ल्याउन नपाउँदा उद्योग बन्द भएका हुन् ।

प्रदेश १ मा ८५ वटा इँटा उद्योग सञ्चालनमा छन् । तर मजदूर अभावमा सबै उद्योग बन्द भएको कोशी इँटा व्यावसायी संघका अध्यक्ष महेन्द्र साहले बताए । मजदूर अभावमा सबै उद्योग बन्द भएको उनले बताए ।

‘हामीले संघीय सरकार र प्रदेश सरकारलाई मजदूर ल्याउने बातावरण बनाइदिन आग्रह गर्‍याैं, तर हाम्रो आग्रह सुनिएन,’ साहले भने, ‘प्राविधिक मजदूर अन्यन्त्र गइसके, अब यो सिजनमा इँटा उत्पादन हुँदैन ।’

प्रदेश १ का इँट्टा उद्योगमा भारतको पश्चिमबंगालको कुचबिहारबाट मजदूर आउने गर्छन् । प्रदेशका उद्योगमा २३ हजारभन्दा बढी भारतीय नागरिकले रोजगार पाउँदै आएका थिए । ‘इँटा उद्योगमा ६० प्रतिशतभन्दा बढी भारतीय मजदूर काम गर्छन् । प्राविधिक मजदूर पनि उतैबाट आउँछन्,’ उनले भने, ‘नेपालमा प्राविधिक जनशक्ति छैन, जनशक्ति नहुँदा उत्पादन गर्ने सम्भावना रहँदैन ।’

इँटा उद्योगले बर्षमा एक सिजन हिउँदमा इँटा बनाउने र बिक्री गर्छन् । इँट्टा उद्योगीले अग्रिम भुक्तानी दिएर मजदूरलाई स–परिवार आवासीय रूपमा भदौमा ल्याएर बैशाखमा काम सरेर बिदा गर्थे । तर कोभिड-१९ महामारीको कारण अन्तराष्ट्रीय नाका सिल भएपछि भारतबाट मजदूर ल्याउन नपाइएको एबीआई इँटा उद्योगका सञ्चालकसमेत रहेका उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए ।

उनका अनुसार ८–१० वटा उद्योगले सीमित मात्रामा उत्पादनको काम सुरु गरेका छन् । ‘कोरोना महामारीका कारण भारतबाट मजदूर आएनन्,’ उनले भने, ‘मजदूर नपाउँदा उद्योग बन्द भए ।’

निर्माणमा असर

इँटा उत्पादन नहुँदा निर्माण क्षेत्रमा असर पर्ने अध्यक्ष घिमिरे बताउँछन् । ‘भोलि इँटा पर्याप्त नहुँदा निर्माण सामाग्री अभाव हुन्छ । मूल्य पनि बढ्न सक्छ,’ उनले भने, ‘राज्यले सञ्चालन गरेका निर्माणका परियोजनालाई असर गर्छ ।’

इँटा व्यवसायी संघका अध्यक्ष साह समग्र निर्माण क्षेत्रको चेनमा असर गर्ने बताउँछन् । ‘इँटा अभाव हुँदा विकास निर्माणको चेनमा असर गर्छ,’उनले भने, ‘दैनिक मजदूरी गर्नेदेखि रड तथा सिमेन्ट उद्योगलाई पनि असर गर्छ ।’

उद्योगले उत्पादन गर्ने इँटा ७ रुपैयाँदेखि १८ रुपैयाँ गोटासम्म बिक्री हुन्छ । प्रदेश १ मा रहेका ८५ इँट्टा उद्योगले वार्षिक ३४ करोड इँटा उत्पादन गर्दै आएका छन् । प्रदेशमा इँटा उद्योगले मात्र वार्षिक ३ अर्ब ४० करोडमाथि कारोबार गर्दै आएका थिए ।