Rumpum Advertisement

नग्न नेतृत्व : लाचार जनता

सपनाको आयतन जत्रो र जस्तो भए पनि मानिसका हकमा भने त्यो यमानको आकारकै हुने गर्छ ।

नग्न नेतृत्व : लाचार जनतासपनाको आयतन जत्रो र जस्तो भए पनि मानिसका हकमा भने त्यो यमानको आकारकै हुने गर्छ ।
पेशल आचार्य

नेपाली राजनीति यतिखेर गम्भीर अवस्थामा पुगेको देखिन्छ । विगत केही सातादेखि चलेको बाह्य, आन्तरिक र भित्री–बाहिरी सबै प्रकारका दृश्य–अदृश्य गतिविधि, घटनाक्रम र परिवेशहरू हेर्दा अब सकारात्मक सोच राख्ने, देश दुनियाँका खातिर समभाव राखेर विचार गर्ने र सिस्टमको खोजी गर्ने देशप्रेमी जनतालाई देशमा भएका केही प्रतिनिधि घटनाहरूले दिक्क लगाउन थालेका छन् ।

देशका ठूला भनिएका र प्राय नेपाली जनताका आशाका केन्द्रविन्दु मानिसएका पार्टीहरूले नै देशलाई यतिखेर अनिर्णयको बन्दी बनाउने काम गरेका छन् । नेकपाको करिब वर्ष दिन अघिदेखिको पदका लागि, सुविधाका लागि, भ्रष्टाचारका लागि र केवल जुँगाको लडाइँमा देशले धेरै समय र स्रोत साधन स्वाहा पारिसकेको अवस्था छ ।

अहिले पनि दुई बुढा नेताकाबीच मन मिलेको छैन । पत्रयुद्धले अहिलेको तिहारको माहोललाई पनि तताएको देखिन्छ । अदालतले नेकपाकाहरु वा नेतालाई फेरि फैसला गरेर मन्त्री बन्ने बाटो खोलिदिएपछि एकाएक बामदेवको भाउ राजनीतिक बजारमा गर्माएको देखिन्छ । यो नेपाली राजनीतिका लागि सुखद् भविष्यको द्योतन पक्कै होइन ।

केही समय अघिसम्म देशैभरि भइरहेको सःशुल्क पीसीआर परीक्षणमा स्वास्थ्य माफियाहरूले सत्तासीनहरूहरुसँग मिलेर गएको एक महिनामा कुस्त कमाए । निरीह जनता विचरा हेरको हे¥यैै भए । सःशुल्क कोरोनाको उपचार र देशभरमा देखिएको अन्योलको तुँवालोलाई चिर्ने काम न त कुनै ठूला पार्टीहरूले गर्न सकेका छन् न त प्रतिपक्षले नै खबरदारी गर्न सकेको छ । शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातका सबालमा मुलुकको जुइनो यतिसम्म झुरिएर चुँडिन लागेको रहेछ कि त यसले अब जनविद्रोहको सानो झोक्कासमेत सहन सक्दैन ।

गएको मन्त्रिपरिषद्को बैठकले अदालतले बाध्यकारी निर्णय गरिदिएपछि बल्लबल्ल आएर पीसीआर परीक्षणलाई निःशुल्क गर्ने भनेर निर्णय गर्‍यो । डा. गोविन्द केसीलाई कोरोना संक्रमण भएको खबर आएको छ तर उनी आफ्नो उपचार आफैँ गर्ने भनेर सरकारलाई नै नैतिक रुपमा कमजोर बनाउन लाग्दैछन् । ओलीले उनको उपचार सरकारले गर्ने र उनको स्वास्थ्यलाभको कामना भनेर आफ्नो हुन सक्ने विरोधलाई केही मत्थर पार्ने रणनीति अख्तियार गर्न खोजेको भान हुन्छ ।

युवाहरूलाई खाडीमा पठाएर तिनको रगत अनि पसिनाको दोहन गर्न पल्केका साथै मिठा भाषणमा अल्झाएर सत्ताको सुविधा दोहन गर्न पल्केका हाम्रा सम्पूर्ण छोटेमोटे राजनीतिक कार्यकर्ता, तिनका सुमेरू–कुमेरू पर्वतरुपी मालिक, नेता र सत्ताका सबै हाँचका सञ्चालकहरूले जनता अहिलेको कोभिड महामारीको यो आक्रान्त परिस्थितिमा के–कसरी बाँचेका छन् भनेर सुन्न, हेर्न, बुझ्न र मनन गर्न चाहेको छैन ।

खुलामञ्चमा भात खानबाट रोक्ने तालुक मेयर, फेरि तिहारपछि लगत्तै १५ दिने लकडाउनको चाँजोपाँजो मिलाउने उपत्यकाका मेयर साबहरू, कामका लागि देशभर हिँडिरहनु पर्ने घुमन्ते जनता, स्कुल जान नपाएर आन्द्रा खाउँ कि भुँडी खाउँ गर्दै हिँड्ने छिचिमिरा भाँतीका स्कुले र कलेज लेभलका ठिटाठिटी, पैसो आउने मेलो सुकेर क्लान्त भएका पेसेबर व्यापारी, उद्यमी, जागिरे र ससाना खु्रद्रामसिना काममा हात हालेका मानिसहरूका लागि यो कोरोना भाइरस भनेको एकप्रकारको सत्ताले जनतालाई तह लगाउनैका लागि रचेको साजिस पनि भन्दारहेछन् ।

कहिले यु ट्युबमा दुई फरक विचार भएका डाक्टरहरूकाबीच नै मल्लयुद्ध भएको देखिन्छ । राजनीतिक विश्लेषकहरू नै एकापसमा चर्चरी बाझेका छन् । पत्रकारहरूका बीच मतैक्यता देखिँदैन । कोही सत्ताको पुच्छर डल्लो पारेर समर्थनमा लागेका छन् त कोही सधैँ विरोधका वमन मात्र ओकलिरहन्छन् । के साँचो के झुटो भन्ने कुरा पनि जनता जनाद्र्धनमा बोध हुन छोडिसक्यो ।

अमेरिकी चुनाबले देखाइदियो कि सत्तामा रहेर उन्मत्त भएको साँढे प्रवृत्तिको शासकको कुनै काम छैन । तिनीहरूलाई जनताले चाहेका बेला चुनावी प्रक्रियाबाटै रछ्यानमा पुर्‍याइदिन सक्छन् ।

यो कुरा अहिले विश्वका सानाठूला सबै खालका सत्ताका मसिहाहरूलाई काम लाग्ने दृष्टान्त हो । ‘बन्दुक मिलगया तो हबल्दार बनगया’ भन्ने एउटा हिन्दीमा उखान छ । त्यो भनेको के हो भने सत्तामा रहँदा मैले जे गरे पनि हुन्छ, मैले जे बोले पनि हुन्छ । जाबो जनता भनेका त निरीह हुन् । सहनशीलता उनीहरूको धर्म हो । उनीहरू सहनकै लागि जनता भएका हुन् भन्ने जोकोही शासकको अभिमत, बुझाइ, कार्य व्यापार र सोच छ भने त्यो फालिदिए भयो अब ।

यदि पाँच–पाँचवर्षमा रोटेपिङ्जस्तो घुमीघुमी चुनाव आउने व्यवस्था रहेछ भने अब कुनै पनि शासकले बहुमत, दुई तिहाई शतप्रतिशत आँकडामा पनि चुनाव जिते पनि त्यसले केही लछारपाटो लगाउँदैन ।

जनताले अब ‘वन क्लिक ओपन दी वल्र्ड’ शैलीमा संसारका कुराकन्थाहरू खार्न र बुझ्न थालिसक्या छन् । उनीहरू चीनको व्यापारका बारेमा, भारतको छिमेकी देशहरूप्रतिको दादागिरीका बारेमा, अमेरिकाको जर्ज फ्लोयडलाई त्यहाँको प्रहरीले घुँडाले थिचेर हत्या गरेकाबारेमा र मध्यपूर्वमा भएको अशान्तिका बारेमा समेत चाल मारेर सुनिरहेका छन्, पढिरहेका छन् र बुझिरहेका छन् ।

अहिले त प्रायः घरलौरी मानिस विदेश बत्तिएका छन् । तिनीहरूले वर्ष दुई वर्षमा आफ्नो घर आउँदा कोसेली र घरघरायसीका कुराहरू मात्र लेराउँदैनन् । विचार, विश्लेषण, वर्णन र व्याख्यासमेत लिएर आएका हुन्छन् । तर अहिलेको स्थितिमा पनि जोकोही नेताले जनतालाई अन्डर इस्टिमेट गरेर जनताका मूलभूत र भाइटल समस्याहरूमा अन्डर इस्टिमेट गरेर जाने हो भने त्यस्ता देशका नेताहरूको ढिलोचाँडो समूल अन्त्य हुने परिस्थिति विश्वभर नै बन्दै गएको छ ।

यतिजाबो कमनसेन्सका कुराहरू पनि अहिले हाम्रो देशका नेताहरू, शासकहरू र उपल्लो तहका कर्मचारी बुझ्न सकिरहेका छैनन् । नगन्य मात्रामा मात्र बुझेर असल काम गरिरहेका छन् भने धेरजसोका आँखामा अहिले पनि रतन्धो लागेको देखिन्छ । जनता त विचरा भन्नमात्र सकिरहेका छैनन् । उसले जुन दिन भन्ने अवसर पाउँछ नि त्यो दिन उसले धर्ती फाट्ने गरी र आकासै चिरिने गरी भन्ने छ । त्यो बेला हाम्रा समग्र बहिरा नेतानेतृहरूका कानमा जालीमा असर पर्न सक्छ ।

अहिले संसारमा एक प्रकारको कोलाहलमय वातावरणमा मानिसहरू निसास्सिरहेका छन् । कोभिडले प्रायः संसारका सबै मानिसहरूको जीजीविषालाई ध्वस्त पारेको छ । मानिसहरू बाँँच्नका लागि केवल आधारभूत आवश्यकताका लागि मात्र यतिखेर संघर्ष गरिरहेका छन् । यस्तो अवस्थामा पनि संसारका केही देशहरूले गतिला, उदाहरणीय र राम्रा कामसमेत गरेका छन् ।

रोग फैलन नदिनका लागि हाम्रै छिमेकी देश भुटानले गरेको प्रयोग हामीलाई काम लाग्न सक्थ्यो । तर हामीकहाँ सत्तापक्ष, प्रतिपक्ष, नागरिक समाज, बौद्धिक वर्ग र आम नेता/कार्यकर्ताहरूका बीचमा साउन्डफूल मानेमा वार्तालाप हुन सकेन ।

प्रतिपक्षले जोततोडले भन्न सकेन । भनेका कुराहरू पनि सत्ताले सुनेन । सुनेका कुराहरू पनि व्यवहारमा प्रयोग गरेन । व्यवहारमा प्रयोग गरेका कुराहरूको पनि जनतामा सकारात्मक सन्देश गएन । यसरी यो वृत्तमा फेरो लगाएर रोगले हामीमाथि निरन्तर धावा बोलिरह्यो । हामी मौन दर्शक बनेर सहनुको विकल्प रहेन ।

सपना देखाइएका कुराहरू विपनामा पनि पूरा भएनन् भने तिनीहरूको विश्वसनीयता घट्दो क्रममा जान्छ । फिलहाल वर्तमान नेपालमा सानाठूला सबैखाले राजनीतिक पार्टीहरूले जान्ने भनेको कुरा नै सपना देखाउने हो । सपना देखाउने पर्वका रुपमा आउने चुनावमा सपना देखाएर बाँकी समय सपना उडाउने गरियो भने जनता क्रमशः नेतृत्व पङ्क्तिबाटै टाढिनेछन् ।

वर्तमानको चासो र चिन्ता सपनाको सम्मान हो । चाहे त्यो बाटो, सडक, पुल, जलविद्युत्, खानेपानी आयोजना, स्कुल, कलेज र विश्वविद्यालयकै टुक्रे सपना नै किन नहुन् । सपनाको आयतन जत्रो र जस्तो भए पनि मानिसका हकमा भने त्यो यमानको आकारकै हुने गर्छ । हामीले हिजो देखाएको सपना आज पूरा भएको छैन भने आज देखाएको सपना पनि भोलि पूरा हुने कुनै गुञ्जायस नै हुन्न । अझ त्यस्तो देशमा त सपनाहरूकै अपहरण र बलात्कार हुने गर्छ जहाँ ‘नग्न नेतृत्व र निरीह जनता’हुने गर्दछन् ।

अहिले देशमा भइरहेको पनि त्यही हो । ताई न तुईका कुराहरू गरेर जनता अल्मल्याउने, उनीहरुका जनजीवनसँग जोडिएका कुराहरूलाई नजरअन्दाज गर्ने, दीगो व्यवस्थापन नगरी समस्याको वस्तुगत वर्गीकरण र योजनाबद्ध समाधान गर्न नसक्ने हो भने अब यी र यस्ता प्रकारका थोत्रा सिस्टमको कुनै काम छैन ।

प्रतिक्रिया

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ