Rumpum Advertisement
Dazzu

गायक–गायिकाको तिहार : कोरोनाले मिलायो माइती र चेली

गायक–गायिकाको तिहार : कोरोनाले मिलायो माइती र चेली

माधव काफ्ले
विराटनगर, २९ कात्तिक । कतिपय नकारात्मक कुराहरूको सकारात्मक पक्ष पनि हुन्छ । कोरोना भाइरस महामारीका कारण धेरै प्रभावित छन् । तर, यसले पनि कति ठाउँमा सकारात्मक प्रभाव पारेका थुप्रै उदाहरण छन् ।

यस्तै उदाहरण छन् चाडपर्वका बेला सधैं व्यस्त हुने गायक–गायिकाहरूमा पनि । गायक–गायिकाहरूलाई दसैं–तिहार सांगीतिक कार्यक्रमका लागि व्यस्त रहने एउटा अवसर हो । अघिल्ला वर्षका दसैं–तिहारमा थुप्रै गायक–गायिका स्टेज कार्यक्रममा व्यस्त भएका थिए । अझ, तिहारको टीकाको दिन गायकहरूलाई स्टेज कार्यक्रम गर्न भ्याइ–नभ्याइ हुन्थ्यो ।

कोही टीका नलगाइ–नलगाइ पनि कार्यक्रमका लागि समय निकाल्थे भने कोही टीका लगाएर हतार–हतार गर्दै कार्यक्रममा पुग्थे । तर, यसपालिको तिहारमा परिस्थिति बदलिएको छ ।

कोरोनाको जोखिमका कारण तीनै तहका सरकारले भेला–समारोहमा प्रतिबन्ध लगाएपछि कुनैपनि सांगीतिक इभेन्टहरू भएका छैनन् । गायक–गायिकाहरूका लागि दर्शक–स्रोता (मास) सबैभन्दा महत्त्वपूर्ण छन् । स्रोताबिना स्टेज कार्यक्रम सम्भव छैन ।

हुनतः अहिले डिजिटल प्लेटफर्ममार्फत् गायकहरूले आफ्ना दर्शक–स्रोतालाई संगीत सुनाइ पनि रहेका छन् । अघिल्ला वर्षहरूमा स्टेज कार्यक्रमबाटै आफ्नो सिर्जना पहिलोपल्ट स्रोतालाई सुनाउने गायकगायिकाले अहिले डिजिटल माध्यमबाट प्रशारण गरिरहेका छन् ।

गायक–गायिकालाई जीविको पार्जन गर्ने एउटा माध्यम स्टेज कार्यक्रम पनि हो । स्टेज कार्यक्रम विशेषगरी ठूला चाडपर्व दसैं, तिहारलगायतमा आयोजना हुने गर्छन् । यस्तैमा तिहारको टीकाको दिनमा गायक–गायिकालाई थुप्रै स्टेज कार्यक्रममा प्रस्तुति दिनुपर्ने भएका कारण आफ्ना दाजुभाइ तथा दिदीबहिनीसँग बिरलै भेट हुन्थ्यो ।

दर्शक स्रोतालाई खुशी बनाउँदा बनाउँदै गायकले आफ्ना चेलीबेटीको हातको टीका लगाउन पाउँदैन थिए, गायिकाले आफ्ना दाजुभाइलाई टिका लगाइदिन पाउँदैन थिए । तर, कोरोनाका कारण यसपालिको तिहारमा भने गायक–गायिकालाई टीका लगाउने मेसो मिलेको छ ।

यस्तै कथा छ गायक भूपु पाण्डेको पनि । दाङ घर भइ काठमाडौंमा बसेर सांगीतिक क्षेत्रमा क्रियाशिल रहेका उनी दुई वर्षपछि बहिनीको हातको टीका लगाउन नवलपरासीको कावासेती जाँदैछन् । अघिल्ला वर्षहरूमा स्टेज कार्यक्रमले व्यस्त बनेका उनी यो पल्ट भने बहिनीको हातको टीका लगाउँदैछन् ।

कोरोनाका कारण स्टेज कार्यक्रम नहुने भएपछि उनी बहिनीको हातबाट तिहारको टीका लगाउने बताउँछन् । ‘कोरोनाले सांगीतिक क्षेत्रमा धेरै नै असर पारेको छ । तर, कतिपय कुरा सकारात्मक रूपमा पनि लिनुपर्छ,’ उनले भने, ‘स्टेज कार्यक्रम नहुने भएपनि दुई वर्षपछि बहिनीको हातको टीका लगाउन जाने योजनामा छु । एउटी भएकी बहिनी यो वर्ष ज्यादै खुशी हुनेछिन् ।’

हाल पाथिभराको दर्शनका लागि पूर्व आएका भूपु अब सिधै बहिनीको घर जाने योजनामा छन् । ‘बोल न बोल चम्पा’ र ‘छोटो छ जिन्दगी’ जस्ता हिट गीत दिइसकेका भूपु तिहारपछि मात्र काठमाडौं जाने मनसायमा छन् ।

यसैगरी तेस्रो सिजनको ‘नेपाल आइडल’का सेकेन्ड रनरअप किरणकुमार भुजेल पनि कोरोनाका कारण चाडपर्वमा पारिवारिक भेटघाट चाँडै हुने बताउँछन् । बर्दिबासका गायक भुजेल अघिल्ला वर्षका चाडपर्वमा ढिका घर पुग्ने गरेका थिए । चाडपर्वका बेलामा ढिला घर पुग्दा किरणकी आमा रिसाउँथिन् ।

तर, यसपटक कोरोनाका कारण स्टेज कार्यक्रम नहुने भएपछि चाँडै घर पुग्ने मनसायमा छन्, किरण । आफू चाडपर्वमा चाँडै घर पुग्दा आमा मात्र नभएर घरमा भएका दुई बहिनी पनि खुशी हुने किरण बताउँछन् ।

काठमाडौमा रहेर सांगीतिक क्षेत्रमा संघर्षरत किरण भने प्रत्येक वर्ष बहिनीको हातको टीका लगाउँछन् । त्यै पनि कार्यक्रमको सेडुअल मिलाउँदै उनी ढिला घर पुग्ने गरेका थिए । ‘यसपालि बहिनीहरू र आमासँग चाँडै भेट हुँदैछ । अघिल्ला वर्ष कार्यक्रमहरू हुन्थे, सबैलाई मिलाउँदा मिलाउँदै टीका लगाउन मात्र घर गएजस्तो हुन्थ्यो । यसपल्ट चाँडै घर जाँदैछु । छुट्टै रमाइलो हुनेछ’, उनले भने ।

किरण विशेषगरी तिहारमा झिलिमिली बत्तीले घर सजाउन मन पराउँछन् । तिहारमा उनलाई देउसीभैलो र झिलिमिली बत्ती औधी मन पर्छ । ‘अब यसपालि भने देउसी–भैलो घरमै खेल्न पर्छ’, उनले भने ।

मोरङको पथरीशनिश्चरे घर भइ काठमाडौंमा सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेका गायक दीपक बराइली पनि यसपटक चेलीको हातको टीका लगाउन पाउँदैछन् । अघिल्ला वर्षहरू स्टेज कार्यक्रमका कारण टीका लगाउन भ्याइनभ्याइ भएको बताउँदै उनले यस पटक भने कुनै कार्यक्रम नहुँदा तिहारको टीका लगाउन पाउने बताए ।

कोरोनाका कारण सांगीतिक क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको उनको दाबी छ । त्यसमाथि आफू इभेन्ट अर्गनाजरसमेत भएका कारण कोरोनाले आफूलाई धेरै प्रभाव पारेको दीपकको भनाइ छ ।

उनले भने, ‘कोरोनाले हाम्रो क्षेत्रमा सबैभन्दा धेरै प्रभाव पारेको छ । तर, चाडपर्वमा भने यसले मिलन गराएको छ । अघिल्लो वर्षको तिहारमा सांगीतिक कार्यक्रम धेरै थिए । कार्यक्रमले टीका लगाउन पनि नभ्याएको अवस्था थियो । यस वर्ष भने टीका लगाउने माहोल मिलेको छ ।’

उनी टीका लगाउका लागि भने आफ्नै जन्मथलो पथरी फर्किने योजनामा छन् । तिहारमा देउसी खेल्न मन पराउने दीपक यस वर्ष खेल्न नपाउँदा दुःखी छन् । चाँडै नै कोरोनाको प्रकोप सकियोस् भन्ने उनको कामना छ ।

गजल गायक रामभक्त जोजिजु कोरोनाका कारण यो वर्षको तिहारमा खासै उमङ्ग र उत्साह नभएको बताउँछन् । पोखरा घर भएका उनी घरमै दिदीहरूको हातबाट टीका र आशीर्वाद ग्रहण गर्ने योजनामा छन् ।

अघिल्लो वर्षको तिहारमा भारत घुम्न गएको स्मरण गर्दै उनले कोरोनाको जोखिमले गर्दा यो वर्ष पहिलेको जस्तो रमाइलो गर्न नपाइने दुखेसो गर्छन् । उनलाई तिहारमा मन पर्ने कुरा भनेको टीका र माला लगाउनु नै हो ।

‘तिहारमा मलाई टीका लगाउन र माला लगाउन विशेष मन पर्छ । यसपालिको तिहार घरमै बसेर मनाउनेछु । घरमै रहँदा पनि सतर्कता अपनाउन जरुरी छ । हाम्रो चाड हो मान्नु पर्छ भन्ने हिसाबले मात्र चाड मनाएको जस्तो भइरहेको छ’, उनले भने ।

पूर्वेली गायिका श्रृष्टि हिमाङ अघिल्ला वर्षमा कार्यक्रमहरूमा सहभागी भएको सम्झिँदै कोरोनाको कहरले यस पटक दर्शक–स्रोतासँग भेट गर्न नपाएकोमा दुःखी छिन् ।

उर्लाबारी घर भएकी श्रृष्टि यसपालिको तिहार परिवारसँग मनाउने योजनामा छिन् । तिहार उनलाई सबैभन्दा मनपर्ने चाड हो । तिहारको टीका भाइलाई लगाइदिने बताउँदै उनले भनिन्, ‘तिहार मलाई धेरै मन पर्ने चाड हो । विशेषगरी झिलिमिली बत्तीहरू बलेको मलाई औधी मन पर्छ । अघिल्लो वर्ष पनि परिवारसँग बसेर नै दीपावली मनाएकी थिएँ । स्वदेशभित्रका तिहार विशेष विभिन्न कार्यक्रमहरूमा सहभागी भएकी थिएँ ।’

‘विश्वलाई कोरोनाले आक्रान्त बनाएको बेला मलाई पनि यसले प्रभाव नपार्ने कुरै भएन, यो वर्ष अघिल्लो वर्षहरूमा जस्तो स्टेज प्रोग्रामहरू छैन । कोरोना कहरको चपेटाले गर्दा आफ्नो र परिवारको सुरक्षालाई मध्यनजर गर्दै भीडभाडमा नजाने र घरमै बसेर परिवारसँग यसपालिको तिहार मनाउँदै छु,’ उनले भनिन् ।

मोरङको पथरीशनिश्चिरे घर भएका गायक समीर बिक पनि यस वर्ष दिदी–बहिनीको हातबाट टीका लगाउँदैछन् । अघिल्लो वर्ष कार्यक्रमका लागि धनकुटा पुगेका उनले यसपालि कार्यक्रम नभएका कारण चेलीहरूसँग चाडपर्व मनाउँदै रमाइलो गर्ने योजना बुनेका छन् ।

कोरोनाबाट सतर्क रहँदै परिवारमै देउसी–भैलो खेल्ने उनको योजना छ । ‘एउटी बहिनी छिन् र अरु फूपुका छोरीहरूको हातबाट टीका लगाउँछु । कोरोनाबाट निकै प्रभाव परेको छ । दसैं–तिहार जस्तो मुख्य सिजनका बेला पनि घरमा बस्नुपर्ने बाध्यता छ,’ उनले भने ।

उनलाई विशेषगरी तिहारमा देउसी–भैलो खेल्न मन पर्छ । तर, कोरोना कहरका कारण देउसी खेल्ने अवस्था नरहेको उनी बताउँछन् ।

बेलबारीका गायक सञ्जीव धिमाल पनि अघिल्ला वर्षहरूमा सांगीतिक कार्यक्रममा व्यस्त भएका थिए । दिदीहरूको हातबाट टीका लगाएर पनि विभिन्न ठाउँका स्टेज कार्यक्रममा पुग्ने सञ्जीव यसपटक भने कोरोनाका कारण घरमै बस्नुपर्ने बाध्यता रहेको सुनाउँछन् ।

उनले भने, ‘परिवारसँग बसेर मीठो मसिनो खाएर तिहार मनाउने योजना छ । अघिल्लो वर्ष पनि दिदीहरूको हातबाट टीका लगाएर परिवारसँगै बसेर तिहार मनाइएको थियो । त्यसैगरी विभिन्न ठाउँको सांगीतिक कार्यक्रममा पनि गएको थिए । तर, अहिले त्यो अवस्था छैन,’ उनले भने ।

तिहारमा उनलाई विशेषगरी भाइटीका, बत्तीहरूको झिलीमिली अनि सयपत्री फूलहरूको झिलिमिली मन पर्छ ।

कोरोनाका कारण कार्यक्रम नहुँदा पूर्वेली गायक कृष्ण खवास परिवारलाई समय दिएर तिहार धूमधामले मनाउने योजनामा छन् । अघिल्ला वर्ष टीका लगाए पनि टाइम म्यानेज गर्न गाह्रो भएकाले यस वर्ष पारिवारिक जमघटका लागि उनीसँग पर्याप्त समय छ ।

सुन्दरहरैंचा घर भएका कृष्णले तीन जना दिदी–बहिनीको हातबाट टीका लगाउने छन् । तिहारको झिलिमिली बत्ती मन पराउने कृष्ण यसपालि भने कोरोनाले पारिवारिक मिलनका लागि समय मिलाइदिएको बताउँछन् ।

उनले भने, ‘तिहारमा टीका लगाएर पनि विभिन्न कार्यक्रमका लागि समय छुट्याउनु पर्ने भए पनि यस वर्ष परिवारसँगै तिहार मनाउने योजनामा छु । कोरोनाको प्रभाव धेरै छ । तर पनि सुरक्षित भएर गीत रेकर्ड र सुटिङ गरिरहेको छु ।’

गायक तुलसी पराजुली यस वर्ष तिहार मनाउँदैनन् । जेठी बहिनीको ज्वाइँको निधन भएका कारण तिहारमा निधार खाली रहने उनको भनाइ छ । कोरोनाको जोखिमका कारण उनी यसपटक घरमै बसेर तिहार मनाउने योजनामा छन् ।

प्रत्येक वर्ष तिहारको टीका लगाउँदै आएका तुलसी यस वर्ष तीन दिदी–बहिनीको हात खाली रहँदा दुःखी छन् । अघिल्ला वर्षका तिहारमा उनी स्टेज कार्यक्रमबाट समय निकाल्दै भए पनि टीका लगाउँथे ।

उनलाई विषेशगरी झिलिमिली बत्ती, सेलरोटी र फूलहरू मन पर्छ । झिलिमिली बत्ती हेर्नकै लागि उनी प्रत्येक वर्ष लक्ष्मीपूजाको रात इटहरीबाट दमकसम्म पुग्ने गर्दछन् । ‘खास गरेर म तिहारमा बत्तीमा रमाउँछु । म हरेक वर्ष झिलिमिली बत्ती हेर्न लामो यात्रा गर्ने गर्छु । उस्तै पर्दा प्रत्येक वर्षको लक्ष्मी पूजामा झिलिमिली बत्ती हेर्नकै लागि इटहरीदेखि दमकसम्म बाइकको यात्रा गर्छु,’ उनले भने ।

गायक प्रमोद निर्वान तिहारमा टीका लगाउँदैनन् । ईशाइ धर्म मान्ने उनी तिहारमा टीका नलगाए पनि तिहार भने धूमधामका साथ मनाउँछन् । खानपिनमा पोख्त उनको घरमा तिहारविशेष परिकारहरू बन्छन् ।

त्यसबाहेक उनी तिहारमा पारिवारिक भेटघाट गर्न रुचाउँछन् । विशेषगरी त्यो दिन उनी दिदी–बहिनीका लागि समय निकाल्छन् र रमाइलो गर्छन् । उनलाई तिहारमा देउसीभैलो खेलेको हेर्न मन पर्छ । तर कोरोनाका कारण यसपालि देउसी–भैलो नहुने भएकाले उनलाई तिहार अन्य वर्षको जस्तो रमाइलो लागेको छैन ।

‘कोरोनाका कारण यो वर्षको तिहार अन्य वर्षको जस्तो रमाइलो छैन । आफूले टीका नलगाउने भए पनि पारिवारिक भेटघाट हुन्थ्यो तर यो पटक धेरै सतर्क रहेर भेटघाट गर्नुपर्ने हुन्छ । त्यो पनि होला–नहोला थाहा छैन । विशेषगरी तिहारमा देउसी–भैलो खेलेको हेर्न मन पर्छ’, उनले भने ।

गायक अमन अली पनि टीका लगाउँदैनन् । इश्लाम धर्मावलम्बी भएका कारण उनी तिहार मनाउँदैनन् । त्यैपनि तिहारमा उनी साथीभाइ भेटघाट गर्न रुचाउँछन् । तर यसपटक कोभिड–१९ महामारीका कारण घरमै बसेर परिवारसँग रमाइलो गर्ने उनको योजना छ ।