Rumpum Advertisement
Dazzu

२२ विधामा रमपम पूर्वेली म्युजिक अवार्ड

२२ विधामा रमपम पूर्वेली म्युजिक अवार्ड

इटहरी, २९ कात्तिक । रमपम पूर्वेली म्युजिक अवार्ड २०२० समापन भएको छ । पहिलो पटक आयोजना गरिएको अवार्डमा २२ विधामा विभिन्न अवार्ड प्रदान गरिएको छ ।

पूर्वेली लोकगीत संगीतप्रति समर्पित कार्यक्रममा गायक तथा संगीतकार जितेन राईलाई २५ हजार नगद राशीसहितको लाइफ टाइम अचिभमेन्ट अवार्ड र पत्रकार गोपाल दाहाललाई पाँच हजारसहित रङ्ग पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले दुवैजनालाई अवार्ड प्रदान गरे ।

कार्यक्रममा उत्कृष्ट नयाँ गायक–गायिकातर्फ श्रेया राईको एक्ले बर, वर्षको उत्कृष्ट गीततर्फ केशव राईको जुनेली माया, उत्कृष्ट भोकल कोल्याब्रेसन कृष्णभक्त राई र सुनिता थेगिमको धानैमा नाच्नु, उत्कृष्ट शब्द गौरभ दर्पणको पूर्वै रमाइलो, उत्कृष्ट प्रस्तुति (पुरुष) मा भिषण मुकारूङ राईको खोर्सानी डल्ले, उत्कृष्ट प्रस्तुति (महिला)मा सृष्टि हिङमाङको पूर्वै रमाइलो, उत्कृष्ट पूर्वेली लोक दोहोरी, जुहारी गीतमा अन्जु गौतम तथा माधव दाहालको एकसरे मायाले अवार्ड उचालेका छन् ।

उत्कृष्ट कम्पोजिसनमा रोशन वान्तवा सुच्चा राईको भोजपुर डबली, बेस्ट एरेन्जमेन्टमा रूद्र श्रेष्ठको बर पिपलको छाँया, बेस्ट पूर्वेली कमेडी गीतमा श्रीकृष्ण लुईटेलको सुनको सिक्री, बेस्ट मारूनी गीत बबिना किरातीको माथिमाथि हिमाली भेगमा, उत्कृष्ट राई गीतमा उर्मिला राइको ढुड्कु–ढुड्कु ढोल बजाउँदै, उत्कृष्ट लिम्बू गीत हेमु स्मृतिको चोङ्माङको हिमधाङ तक्तेओ, उत्कृष्ट तामाङ गीतमा मंगल सिङ तामाङको च्याओला, उत्कृष्ट थारु गीतमा गीता चौधरीको हामे मोरङिया थरूनी, उत्कृष्ट राजवंशी गीत पवलदीप विश्वासको झोल मका झोल, उत्कृष्ट मैथिली गीतमा अन्जु यादवको चिपक चिपक, बेस्ट सिनेमेटोग्राफी शिरकुमार साङपाङको सुम्निमा, उत्कृष्ट भिडियोमा कुशल थुलुङको सेवारो सोल्टिनीज्यू उत्कृष्ट भिडियो सम्पादनमा हेमन तामाङको हान गुलेलीले उपाधि चुमेका छन् ।

पूर्वेली मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुरेसचन्द्र दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियत जितेन राई, गोपाल दाहाललगायतले आफ्नो भनाइ राखेका थिए ।