Rumpum Advertisement
Dazzu

फ्रन्टलाइनरको तिहार : कोहीको सामान्य योजना, कोही ड्युटीमै ब्यस्त

फ्रन्टलाइनरको तिहार : कोहीको सामान्य योजना, कोही ड्युटीमै ब्यस्त

अंकिता ताम्राकार

विराटनगर, २९ कात्तिक । नेपालीको महान चाड दसैँपछिको दोस्रो ठूलो चाड तिहारको चहलपहल सुरु भइसकेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण यसपालिको दसैँ खासै उत्साहजनक हुन सकेन । त्यस्तै, तिहारमा पनि गम्भीर प्रभाव परेको देखिन्छ । तिहार चहलपहल सुरु भएसँगै किनमेल गर्नेहरूको भिड उत्तिकै बढेको छ । गुलियो मिठाइ, रोटीका विभिन्न परिकारको सेवनदेखि लिएर देउसी भैलो खेल्ने परिवार तथा साथीभाइसँगको भेटघाट, दिदीबहिनी तथा दाजुभाइसँगको भेट गरेर मनाइने झिलिमिली तिहार योपालि खल्लो भएको छ ।

अन्य मानिसहरूको तुलनामा स्वास्थ्यकर्मीको चाडपर्वको योजना भने फरक हुन्छ । सधैँ बिरामीको उपचारका लागि तयार रहुनुपर्ने हुँदा स्वास्थ्यकर्मीलाई चाडपर्व वास्तवमै चुनौतीपूर्ण हुन्छ । घरपरिवार बसेर चाडपर्व मनाउने सबैको चाहना हुँदाहुँदै पनि समय र परिस्थितिका कारण कहिलेकाहीँ सम्भव हुन सक्दैन । झन्, कोरोनाको उपचारमा खटिएका अग्रपंक्तिका स्वास्थ्यकर्मी तिहारजस्तो पर्वमा पनि जोखिमका घरपरिवारसँग पहिलेको जस्तो रमाइलो गर्न पाउँने छैनन् । योपालिको तिहारमा पनि अन्य समयको जस्तै कोही स्वास्थ्यकर्मीहरू ड्युटीमै व्यस्त हुन्छन् भने कोही घरमै परिवारसँग सीमित भई तिहार मनाउने छन् ।

डा. बालकृष्ण साह, स्त्री तथा प्रसूति रोग विशेषज्ञ मोरङ सहकारी अस्पताल

कोभिड संक्रमणको जोखिमका कारण यसपालिको तिहारमा खासै कुनै योजना छैन । हर्ष र उल्लासले मनाउनु पर्ने, साथीभाइसँग बस्नुपर्ने पर्व भएता पनि यो पटक मनमा पहिलेको जस्तो हर्ष छैन । साथीभाइसँग बस्ने उमंग छैन । त्यो झिलिमिली बत्ती नि खासै नबाल्ने भनेर सोच भए पनि छोराको रहरका कारण घरमा झिलिमिली बत्ती र दियो भने बाल्ने भएका छौँ । यसपालिको तिहारमा देउसी र तासजुवा खेलिँदैन । योपालिको तिहार घरमै साधारण तरिकाले कहीँ कतै नगई मनाउने सोच बनाएको छु ।

नर्स रेशिका चौधरी, एनआईसीयू विभाग सञ्जीवनी अस्पताल

दसैँमा बिदा नहुनेका लागि तिहारमा बिदा दिने व्यवस्था मिलाइएको हुन्छ । त्यसैले तिहारमा बिदा मिलाउनका लागि यसपालिको दसैँमा डवल ड्युटी गरेकी थिएँ । तर, कोरोनाको संक्रमण बढ्ने क्रम जारी रहेका कारण पहिला जस्तो तिहार भने मनाउने सोच छैन । योपालिको तिहारका लागि केही खास योजना भने बनाएको छैन । छुट्टी हुने कारण तिहार घरमा परिवारसँग सामान्य तरिकाले समय बिताएर, विभिन्न परिकार पकाएर मनाउने छु । कोरोनाबाट बचेर स्वास्थ्य रहन सके अर्को वर्ष रमाइलो तरिकाले चाडपर्व मनाउने छु ।

ओमप्रकाश साह, आहारविद् तथा पोषण विशेषज्ञ विराट मेडिकल कलेज र शिक्षण अस्पताल

यसपालिको तिहार कोरोनाका कारण पहिला जस्तो मनाउन नपाइने भएको छ । त्यही भएर कुनै खासै योजना पनि बनाएको छैन । यसपालि घरका लागि चाहिने सामान किन्ने, सरसफाइ गर्ने र मिठोमिठो पकाएर खाने मात्र योजना बनाएको छु । पहिलाको तिहारमा विभिन्न ठाउँ घुम्न जाने, साथीभाइकोमा गएर रमाइलो गरिन्थ्यो । तर, योपालि स्वास्थ्यलाई ध्यानमा राखेर घरमै सामान्य तरिकाले तिहार मनाउने सोच बनाएको छु ।

नर्स खुश्बु ढकाल, सीसीयू विभाग न्यूरो कार्डियो एन्ड मल्टी स्पेसालिटी हस्पिटल

sdf

सधैंजस्तो तिहारमा छुट्टी मिलाएर घर जाने गर्थेँ, तर, यसपटक जुठो परेको हुँदा घर जान भने मन लागेन । त्यसैले यो पटकको तिहारमा ड्युटी गरेरै विराटनगरमै मनाउने सोचेको छु । छुट्टी मिल्ने साथीहरू भने घर जानेछन्, म भने योपालि ड्युटी मै व्यस्त हुनेछु । यो मेरो विराटनगरको पहिलो तिहार हुनेछ । लक्ष्मी पूजाको दिन इभिनिङ ड्युटी परेको छ । ड्युटी सकेर भने विराटनगरको तिहार कस्तो हुन्छ भनेर हेर्नका लागि एकछिन बजार घुम्ने योजना बनाएको छु । झन् भाइटीकाको दिन त बिहान र साँझ डबल ड्युटी गर्ने विचार गरेको छु ।

डा. डेनप्रसाद आचार्य, फिजिसियन कोशी अस्पताल

कोरोना संक्रमितको उपचारमा खटिएका कारण दसैँमा पनि घर गइनँ । र, तिहारमा पनि संक्रमितकै उपचारमा खटिने हुँदा घर (झापा) नजाने सोच बनाएको छु । घरमा ९२ वर्षीय आमा हुनु हुन्छ । वृद्धहरूलाई छिट्टै संक्रमण फैलिन सक्छ । आफ्नो कारणले उनलाई जोखिम हुन सक्ने हुँदा घर नजाने निर्णय लिएको छु । त्यसैले योपालिको तिहार कोशी अस्पतालको क्वाटरमै बसेर मनाउने योजना बनाएको छु । कोरोनाको संक्रमण बढिरहेका कारण पहिलेजस्तो तिहार मनाउन पनि सकिँदैन । कोरोनाबाट बचेर स्वास्थ्य रहन सके अर्को वर्ष रमाइलो तरिकाले चाडपर्व मनाउन सकिन्छ । त्यसैले योपालिको चाडपर्वमा आफूलाई मात्र नभएर अरूलाई पनि सुरक्षित राखेर तिहार मनाउन आग्रह गर्छु ।