Rumpum Advertisement
Dazzu

कुकुरलाई लात्तेभकुन्डो

कुकुरलाई लात्तेभकुन्डो
यम घिमिरे

केही काम पाइएन भने विनाबिराम आनन्दले गुँडुल्किएर सुतिरहेको घरको कुकुरलाई लात्ती हानेर पौरख गर्नु मेरो काँचो उमेर जमानाको सामान्य कुरा थियो । आँगन, सिकुवामा बसिरहेका बेला उसै अल्छी लागेर आयो भने बिरालो पक्डेर छानामा फ्याँक्नु वा रुखमा मिल्काइदिनु अनि बिरालोले ओर्लिन गरेको संघर्षमा मनोरञ्जन लिनु मजाको खेल थियो त्यो बेला ।

‘पानीकिरो’ भन्न सिकेको घरपरिवारबाट अंग्रेजीको ‘ड्र्यागन फ्लाई’लाई । परिवार र गाउँपिच्छे यसका फरक नाम हुन्छन् जस्तो लाग्छ । लिम्बू साथीहरू ‘भदौरे’ भन्थे त्यही किरोलाई । मधेसका गाउँघरमा ‘टिकली’ पनि भन्छन् । आफ्नो संसारमा टहलेर, उडेर, आहार खोजेर, थाकेर झिँजा–छेस्का, फूलको बोट आदिमा बसेको हुन्थ्यो पानीकिरो । सिकारी बिरालोजस्तो पदचाप दबाएर गई दुई औँलाले च्यापेर पक्डिनु र पुच्छरमा एउटा सिन्को घुसारेर छोडिदिएपछि अधिक भारले त्यो उड्न नसकेर भुइँमा ढुन्मुनिएको हेर्नु स्वादको खेल हुन्थ्यो । कहिले पोथी भेटेर लठारिएर समागम मुद्रामा उडिरहेको भेटिने पानीकीरोलाई पक्डेर कति दुःख दिइन्थ्यो भनीसाध्य छैन ।

फर्सी, आँक वा अन्य तुलफुलका फूलमा पराग बटुल्न वा रस चुस्न आएका भमरा, मौरीजस्ता कीरालाई विनाबिराम कति पक्डेर मारियो, के कुरा गर्नु ! रछ्यानमा जुठोपुरो खान आएका भँगेरा, डाङ्ग्रे, ढुकुर, परेवा आदि निर्दोष चराचुरुंगीलाई देख्यो कि झट्टी हानेर खुत्रुक्कै पारिन्थ्यो । जानी–नजानी यस्तो बिज्याइँ किन गरियो त्यो बेला अहिले सम्झिँदा पनि छक्क पर्छु । यी चरा त प्राकृतिक कुचीकार हुन्, रछ्यानको फोहोर खाएर वातावरण संग्ल्याइदिने, यी त प्राकृतिक किटनाशक हुन्, बोटबिरुवालाई हानी पु¥याउने कीराकिरी खाइदिने भन्ने चेत मनको कुनै कुनामा पनि थिएन त्यो बेला । घरका माउसुलीको पुच्छर छेदन गरेर उस्तै रमाइलो गरियो ।

१७ वर्षको थिएँ । मान्छेलाई सुई हान्ने सिरिन्जबाट भ्यागुत्ताको शरीरमा पानी घुसाइदिँदा के हुँदो होला भनेर परीक्षण गर्दै थिएँ एकदिन । यस धरामा चराचर जगतका सबै प्राणी र किटपतङ्गको सहअस्तित्वमा विश्वास गर्ने र प्राणी हत्याको पापबाट सारै डर मान्ने वैष्णव धर्म अनुयायी बुबाले रंगेहात पक्डिनुभो त्यो दिन मलाई । ब्याधा, धन्धुकारी, राछेस, नर्के, आदि गालीका सहस्र वर्षासँगै मेरो सिरिन्ज खोसियो र भ्यागुत्तोले जीवनदान पायो ।

तराईतिर खिरखिरे भनिने अंग्रेजीको ‘रेड फक्स’जस्तो सानो काँटीको एउटा जनावर हुन्छ । बारी आँगनतिर चर्ने कुखुरा पक्डेर लगी परिवारका ‘डिनर’ जुटाउनु उसको कर्तव्य र जिम्मेवारी हुन्थ्यो । जमीनमा सुरुङ खनेर घरबार जोड्थ्यो यसले । दुलोबाट आहारको खोजीमा बाहिर निस्केका बेला खिरखिरे देख्यो कि ‘हातखुट्टा भाँचिए बरु डाक्टरमा गइन्छ भोलि,’ भनेजस्तो गरेर, ज्यान फालेर कुदिन्थ्यो लखेटेर मार्न । ज्यान जोगाउन विचरा आफ्नो दुलोमा पसेर पनि ऊ बाँच्नेवाला थिएन । घैमल बालेर, धुवाँ लगाएर, फरुवा, भाला तिस्कलो ल्याएर दुलो खनेर त्यसका हाडखोड गनेर छोडिन्थ्यो । जोतिरहेका बेला कीराकिरी टिप्न पछ्याउने चिबे, बकुल्ला, रूप्पी आदि चरालाई लौरोले हानेर कति ढालियो कति ।

अल्लारे जमानाका कुरा के गर्नु, अस्ति भर्खर नानीको बाउ भइसक्दा पनि यस पृथ्वीमा सबै प्राणीले बाँच्न पाउनुपर्छ, तिनलाई हानी–नोक्सानी गर्नुहुँदैन भन्नेबारे म गम्भीर भएको थिइनँ रहेछु । शान्त, स्वतन्त्र प्रकृतिको नियम कसैले कतै बिथोल्न नजानु हो तर यतापट्टि मनन गर्ने समय, शिक्षा, परिवेश र संगत नै पाइएनछ कि क्या हो । बरु मेरो सिकारी सोख पो प्रधान रहेछ अर्थोकभन्दा ।

क्यानाडा आउनुभन्दा पहिले सिन्धुपाल्चोकको एउटा गाउँमा मास्टरी गर्थें । त्यहाँ हाँगाहाँगा डुल्ने लोखर्केको छेलोखेलो थियो । सोचें काठमाडौँ गएका बेला एउटा ग्याटिस ल्याएर सिकार खेल्नुपर्छ । ग्याटिस आयो । अब आफैँले पढाउने भुरा साथमा लिएर साँझपख लोखर्के हान्न निस्किन थालेँ । रौँरौँले जोगिन्थे लोखर्के मेरो तारो हनाइबाट । एकदिन एउटा लोखर्के भ्यात्त भुइँमा झर्‍यो र हतपत उठेर कुलेलम ठोक्यो । भुराले मेरो बहादुरीको कथा नै हाले दुईचार दिन । अर्जुनदृष्टि मेरो त्यति गतिलो थिएन तर त्यहाँ प्रसंग अर्कै छ । विचरा अत्तालिएर झरेको हुनुपर्छ, मात्र त्यति हो मैले मट्याङ्ग्रो हान्नु र लोखर्के भुइँमा झर्नु एकैपटक परेको थियो । त्यही ग्याटिसले बिजुलीका तार हान्ने प्रतिस्पर्धा पनि चल्थ्यो कहिले मास्टरसाबहरूसँग ।

घरको दलिनमा, निदाल र बलोमा खुब मेहनतले कणकण माटो ओसारेर कुमालकोटीले गुँड बनाउँथ्यो । त्यसको गुँड त्यहाँ हुँदा वा घरको त्यो खण्ड कुमालकोटीसँग ‘सेयर’ गरेर बस्दा मलाई कति नि साँघुरो हुने होइन । तर कुनैदिन मलाई चलेको एक सनकले त्यसको हप्तौँको मेहनत र घरबार धूलोपिठो हुन्थ्यो । भगीरथ परिश्रमले गुँड बनाइसकेर सन्तान उत्पादन गर्ने एउटा हरियो लार्भा बोकेर हेलिकप्टर जस्तो उड्दै आएको कुमालकोटीलाई अनाहकमा सप्को हानेर झारियो कतिपल्ट ।

मान्छेलाई हानी गर्ने मुसा, सर्प जस्ता जनावर देख्यो कि खुत्रुक्कै पारिहाल्ने त हाम्रो सर्वस्वीकृत संस्कार नै हो । यी जनावरलाई दया गर्नुपर्छ, यिनलाई पनि बाँच्न दिनुपर्छ यो प्रकृतिमा, यो धर्ती हामी सबैको साझा हो भन्ने त न कसैबाट सिक्न पाइयो, न त्यस्तो सोच आफैँमा कहिले पलायो । बरु ज्यान जोगाउन छेर्दै भागेका जीव–जनावरलाई पानी माग्न नपाई ढालियो भने ‘बडो बहादुर’को पगरी पाइन्थ्यो, ठूला मान्छेबाट ।

नेपालमा मान्छे नै त थोकमा मर्नु सामान्य हो, जनावरको के कुरा ! मोटरमा ठेलमठेल गरेर चढ्नु र भीरबाट खुर्मुरिनु, निर्माण क्षेत्रमा मारिनु वा अंगभंग हुनु, इनारभित्र पसेर जिउँदो ननिस्किनु, विनासुरक्षा घाँस काट्न जाँदा रुख र भीरबाट लडेर मर्नु, नदी–तलाउमा दुईचार ज्यान ख्यालख्यालमा चढाउनु नेपालीको दिनचर्या नै हो । मान्छेको मतलब छैन कीराकिरीको चिन्ता ! यस्तै सोच र व्यवहारसहित हुर्किन्छौँ हामी । बुबाआमाले कीरा–फट्याङ्ग्रा मार्नु हुँदैन पाप लाग्छ त भन्थे बेलाबेलामा । तर यो अर्ति देख्या बेला भनिटोपल्ने मानेमुने मौखिक उपदेशमात्रै रहेछ । भुरालाई सकारात्मक सोच र जीवनपद्दतिको रूपमा सिकाइने संगठित शिक्षा बनाइएको रहेनछ, मान्छेइतर प्राणीलाई दया गर्ने कुराको गुह्यलाई ।

अचेल म क्यानाडामा छु आठ–नौ वर्षदेखि । यहाँ जनावर, किटपतङ्गलाई गर्ने व्यवहार आकाश–पतालकै फरक छ हाम्रोभन्दा । कुकुर–बिराला त छोराछोरीसरह नै भइगए । यिनलाई पिट्नु, लात्तेभकुन्डो बनाउनु, तर्साउनु, झम्टिनु, भोकै राख्नु कानुनतः वर्जित कुरा हुन् ।

कुकुरसम्बन्धी एउटा उल्लेख्य घटनाको म प्रत्यक्षदर्शी हुँ । एकदिन एउटी कुकुर्नीले उसको खानाको प्लेटमा परेको स्टिलको चम्चा झुक्किएर निलिछ । घरमा रुवाबासी सुरु भो । भुराहरू छाती पिटीपिटी रुन थाले, बाबुआमा आतिए । कुकुर्नी गली र ढली । हतारहतार एम्बुलेन्स बोलाइयो । कुकुर–एम्बुलेन्स मिलिक्क आइपुग्यो । कुकुरविज्ञ डाक्टरले एक्सरे गरेर हेरे । चम्ची आरामले कुकुर्नीका पेटमा सुतेको देखियो । तुरुन्त ‘ओटि’ (अपरेसन थिएटर) मा लगेर शल्यक्रिया गरी चम्चा निकालियो । र दुई हप्ता कुकुर्नीलाई हल न चल हुने साँचोमा राखेर घर पठाइयो । साथमा डाक्टरको र उपचार खर्चसहित तीन हजार रुपियाँको बिल पनि थमाइयो कुकुर मालिकलाई । कुकुरलाई बेलैमा बचाउन सकिएकोमा जति उल्लास थियो त्यो घरमा, त्यो महँगो बिलको झड्काले केही फरक पारेन ।

अर्को एउटा जुकाको कथा पनि छ । नगरपालिकाले तोकेको खोलाधारको कुकुर पार्कमा जुका लागेको भेटियो । जुकाले मान्छे र कुकुरलाई चुस्न थाले । जनताले मिडियामा गुनासो पु¥याए । मिडियाले नगरपालिकाको जीवशास्त्रीलाई सोध्यो अब के गर्ने ?

जीवशास्त्रीले सुझाव दिए, ‘जुकालाई नुन वा लाइटर प्रयोग गरेर दुःख नदिनू, जुकाले रगतमात्रै चुस्ने हो कुनै रोग सार्दैन र अघाएपछि आफैँ झर्छ, तपाईंले केही गर्नै पर्दैन । मान्छेले जुकालाई जुका नै हुन दिएर पर्यावरणीय व्यवस्थाको सम्मान गर्नुपर्छ ।’

यस्तो कुरा सुन्दा हामीलाई ‘के भनिस् रे डाम्ना ?’ भन्नुजस्तो हुन्छ तर म बसेकै सहरमा भएको कथा हो यो ।

यहाँका बच्चाहरू जनावर र किटपतङ्गसँग खुब ममता र सुसारको संस्कृति लिएर हुर्किन्छन् । चौरमा, घरमा वा बारीमा कुनै पनि प्रकारका कीरा–फट्याङ्ग्रा देखे भने तीनको जीवनको सुरक्षाबारे सबैभन्दा बढी चिन्ता देखाउँछन् । होसियारीपूर्वक किरालाई हातमा लिने र पुनः किराकै संसारमा छोडिदिने वा तिनलाई हेरेर आनन्द लिने तर छोएर, पखेटा उखेलिदिएर, खुट्टा चुँडाइदिएर बिज्याइँ नगर्ने । ठूला मान्छेले कीरा–फट्याङ्ग्रा समातेको देखे भने रुँलाझैँ गरेर ‘प्लिज डोन्ट किल इट’ भनेर तिनको जीवनदानको माग गर्छन् । बारी–आँगनमा खरायो, लोखर्केमात्र होइन अनेक थरी पक्षीहरू बिन्दास खेलिरहेका, आहार गरिरहेका हुन्छन्, कसैले तिनको बिझ्याइँ गरेको देखिँदैन ।

हामी हुर्केको समाज र समयमा भुराले पशुपक्षी किटपतङ्गप्रति कुनै मायादया राख्नुपर्ने सिकिएन । ठूला मान्छेले दिएको ‘ए नमार, ए नपिर’ भन्ने मौखिक आदेशलाई पनि खासै सुनुवाइ गरिएन । कुकुरको पूजा गर्ने, काग र नागको पूजा गर्ने समाज हो राम्रो तर यो संस्कारको कुरा हाम्रो जीवन पद्दति भने होइन रहेछ ।

बार्दलीमा कुकुर पाल्ने चलन पनि नयाँ होइन नेपालमा तर मान्छेबाहेकका जीवजन्तुको जीवनप्रति हामी आम रूपले गम्भीर मान्छे होइन रहेछौँ ।

अंग्रेजीको ‘पेट’ हाम्रो सोख वा रहरले घरमा पालिने जनावर हो । गाई, बाख्रा, सुँगुर, कुखुरा हाम्रा ‘पेट’ होइनन्, यी त आवश्यकताले पालिने जनावर हुन् । हाम्रोमा सामान्यतः कुकुर र बिरालोमात्रै ‘पेट हुन् तर उत्तर अमेरिकी समाजमा बाख्रो, सुँगुर, कुखुरा, गधा, खरायो, घोडा, सर्प, माछा, चरा, मुसाका अनेक प्रजाति सबथोक ‘पेट’ हुन्छन् । नानीहरूको रहरले घरमा पेट राख्ने चलन छ । कति दम्पती त बच्चा नै नपाई घरमा कुकुर–बिराला पालेर बस्ने समझदारीमा पनि हुन्छन् ।

नानीहरूले घरमा पालिएको ‘पेट’ जनावरबारे धेरै नै जानकारी राख्छन् । तिनको खानपानबारे, बानीब्यहोरा, संवेग, प्रजाति र रहनसहनबारे अनुसन्धानमा आधारित ज्ञान र सूचना तपाईंलाई फरर बताइदिन सक्छन् क्यानाडाका भुराले ।

बच्चालाई प्राणी संसारबारे क्यानेडियन शिक्षाले नै धेरै कुरा सिकाउँछ । कथा भन्न, व्यायाम गराउन, नृत्य सिकाउन, भ्रमणमा लैजान, कुनै तालिम वा सीप सिकाउन बनाएका पुस्तक, पोस्टर, भिडियो, सिनेमा आदिमा पशुपक्षीका छुट्दै–छुट्दैनन् । बाटो देखाउने, आइपरेका समस्या समाधान गर्ने, उट्याङ्ग काम गरेर हँसाउने, अभर परेका साथीलाई उद्दार गर्ने, दुःखका बेला सुम्सुम्याउने पात्रका रूपमा पशुपक्षी छुट्दैनन्, बालबालिकालक्षित श्रव्य–दृश्य वा पठनपाठनका सामग्रीमा ।

त्यसो भएर सहरमा जन्मे हुर्केको बच्चाले पनि आफ्नो देशमा पाइने आफूले कहिले नदेखेका सबै जनावर सजिलै चिन्छ । दैनिक जीवनका कुनै सन्दर्भमा सम्पर्कमै नआउने देखादेख नै नहुने समुद्री जीवका सहस्र नाम भन्न र तिनको तस्बिर हेरेर यहाँका भुराले चिन्न सकेको देख्दा मलाई त उदेक पो लागेर आउँछ । जनावर संसारप्रति खुब रुचि, प्रेम र सद्भाव राख्ने हुन्छन् भुरा सानैदेखि । साथसाथै पाण्डा कहाँ भन्दा चाइना, कङ्गारु कहाँ भन्दा अस्ट्रेलिया आदि आँखा चिम्लेर भन्दिन्छन् ।

हाम्रा घरका नेपाली भुरा पनि पशुपक्षीप्रति अति नै राग देखाउने भए यहाँको संस्कृतिअनुसार । घरमा छोरीले यहाँ ‘किटी’ भनिने बिरालो ल्याऊँ न भनेर हात जोड्छे । म चाहिँ ‘ल्याउँछु त्यो फोहोरी साँडेलाई घरमा, कसले सोहोर्छ त्यसको बिस्टा,’ भनेर चुप पार्छु सधैँ ।

अनि कुकुर डुलाउन निस्केका गोराले कुकुरले बाटैमा बिष्ट्याएपछि गोजीबाट प्लास्टिक झिकेर हातले कुकुरको आची टिपी साथमा बोकेको थैलोमा हालेर हिँडेको देखाउँदै छोरीले मलाई जिल्लाराम पार्छे ।

प्रसंगवश, तपाईंको कुकुरले बाटोमा फोहोर गर्‍यो र त्यो तपाईंले टिपेर यथास्थानमा फाल्नु भएन भने कानुनतः जरिवाना तिर्नुपर्छ तपाईंलाई । यदि तिर्दिनँ भन्नुभो भने सरकारी बक्यौतामा जान्छ । र कुनै पनि सरकारी कागजात नवीकरण गर्दा पहिले ब्याजसहित बक्यौता तिरेर आइज भनेर च्याप्प कठालो समाउने देशको कुरा काठमाडौँको सडक–गल्लीमा चटकीले कथा सुनाएजस्तो लाग्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ