Rumpum Advertisement
Dazzu

विश्वास

विश्वास
चन्द्र गुरुङ

तिमी आइपुग्यौ
मेचमाथिको गुलाबलाई मनभरि सजाइदेऊ
ता कि मगमगाओस् प्रेम ।

बरन्डामा
ल्याइदेऊ दुईटा कुर्सी
बसौँला केही आत्मीय पल
टेबलमाथि–
वाइनको बोतल र गिलास पनि राखिदेऊ
बात मारौँला–
जीवनका केही अंश ।

हेर त
मेरा थकित लुगाहरू
अनाथझैँ बनेका किताब, कलम र पानाहरू
बेवारिस लाशझैँ पल्टेका चुरोटका ठुटाहरू
चमक हराएको ऐना
सबै–सबैलाई
छ तिम्रो एक स्पर्शको पर्खाइ ।

अँध्यारो साँझ
तिमी एक्लै आइपुग्यौ मेरो सँघारमा
यस घडी
मनभरि
चलेको छ लहर–लहर मायापिरती ।

भो,
त्यो झ्याल चाहिँ बन्द नगर
यो त
– तिमी आउँछौ भन्ने
हो मेरो मुटुभरिको विश्वास ।