Rumpum Advertisement

रासायनिक मल वितरणमा जोडिए स्थानीय तह, कोटा प्रणालीबाट मल पाउने

रासायनिक मल वितरणमा जोडिए स्थानीय तह, कोटा प्रणालीबाट मल पाउने

यज्ञ अधिकारी
विराटनगर, २८ कात्तिक । रासायनिक मलको अभाव सहज बनाउन प्रदेश र स्थानीय सरकार पनि जोडिएका छन् । मल वितरण पारदर्शी र सहज बनाउन स्थानीय सरकार र प्रदेश सरकार जोडिएका हुन् । अहिले स्थानीय सरकारको सिफारिसमा नयाँ बिक्रेता कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ विराटनगरमा नियुक्ति भइरहेको छन् ।

संघ सरकारले रसायनिक मलको वितरणको लागि अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ जारी गरेर काम अगाडि बढाएको हो ।

१ भदौबाट लागू भएको निर्देशिकाले पुराना बिक्रेता ९० दिनभित्र स्वतः खारेज हुने र त्यस अवधिमा नयाँ बिक्रेता नियुक्त गरिसक्नु पर्ने कृषि सामग्री कम्पनी विराटनगरका प्रादेशिक प्रमुख नवरत्न गौतमले बताए ।

बिक्रेता स्थानीय सरकारको सिफारिसमा नियुक्त गर्नुपर्ने पनि निर्देशिकामा प्रष्ट व्यवस्था भएको उनले जानकारी दिए । बाली सघनताको अधारमा स्थानीय तहहरूले रासायनिक मलको कोटा पाउने छन् ।

संघीय सरकारले बाली सघनताको आधारमा जिल्लाअनुसार कोटा निर्धारण गर्ने निर्देशिकामा व्यवस्था भएको प्रमुख गौतमले जानकारी दिए । त्यसरी तोकिएको कोटालाई पालिकाको बाली सघनताको आधारमा कोटा निर्धारण गर्ने जिम्मा प्रदेश सरकारले दिएको छ ।

निर्देशिकाअनुसार १ मंसिरदेखि नयाँ प्रणालीबाट किसानलाई मल वितरण हुने छ । प्रदेश १ मा पालिकाको लागि कोटा निर्धारणको काम नभएकोले केही समय लाग्ने उनले बताए । २ कात्तिकमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँग बस्ने भनेको बैठक सार्वजनिक विदा भएकोले बस्न नसकेपछि कोटा निर्धारण गरेर वितरण सुरु गरिने निर्णय भएको उनले बताए ।

कोटा निर्धारण र नयाँ बिक्रेता नियुक्ति प्रक्रियाको कारण किसानलाई मल वितरण ढिलो हुनसक्ने उनले बताए । यता, रसायनीक मल पनि बिक्रि गर्दै आएको साल्ट ट्रेडिङ कम्पनी विराटनगरका प्रमुख राधेश्याम चौधरीले १ मंसिरबाट निर्देशिकाअनुसार बिक्रि वितरण गरिने बताए ।

कृषि सामग्रीमा डीएपी आउन सुरु, युरिया छैन, साल्ट ट्रेडिङमा भने केही मौज्दात

धानको फसल उठाएलगत्तै लगाइने गहुँ बालीको लागि आवश्यक पर्ने डीएपी मल कृषि सामग्री कम्पनी विराटनगरमा भर्खर आउन सुरु भएको छ । डीएपीको शून्य मौज्दात रहेको कम्पनीमा भर्खर डीएपी मल झर्न सुरु भएको प्रमुख गौतमले जानकारी दिए ।

कम्पनीमा यूरियाको मौज्दात भने शून्य रहेको उनले बताए । कम्पनीको विराटनगर गोदाममा पोटास भने २ हजार १ सय ९९ मेट्रिक टन रहेको गौतमले बताए । कार्यालयले अघिल्ला वर्षहरूमा गहुँका सिजनमा ३ हजार मेट्रिक टनसम्म रासायनिक मल बिक्री गर्ने गरेको थियो ।

विराटनगरस्थित साल्ट ट्रडिङसँग लगभग १५ सय मेट्रिक टन डीएपी मौज्दात रहेको छ । त्यसैगरी यूरिया लगभग ५ हजार मेट्रिक टन मौज्दात रहेको कार्यालय प्रमुख राधेश्याम चौधरीले बताए । थप मल आउनेक्रममा पनि रहेको उनले जानकारी दिए । साल्ट ट्रेडिङसँग पोटास भने छैन ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ