Rumpum Advertisement
Dazzu

नेकपाको सचिवालयको अर्को बैठक मंसिर ३ गते

नेकपाको सचिवालयको अर्को बैठक मंसिर ३ गते

काठमाडाैं, २८ कात्तिक । लामो समयपछि बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक ३ मंसिरमा अर्को बैठक बोलाउने निर्णय गर्दै सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ३ मंसिरमा अर्को बैठक बोलाउने र छलफलका लागि कार्यसूची बनाउने निर्णय गरेको हो । पार्टीमा उत्पन्न संकट, समस्या र समाधानका लागि कार्यसूची बनाएर छलफल गर्ने निष्कर्षका साथ बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यस्तै आजको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको संकटका विषयमा तयार पारेको राजनीति प्रतिवेदन सचिवालय सदस्यहरूलाई वितरण गरिएको छ । पार्टीभित्र देखिएको पछिल्लो संकटका विषयमा प्रचण्डले प्रतिवेदन तयार पारेकाे उनले बताए ।

यसैगरी स्थायी कमिटी बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशनपनि अध्ययनका लागि वितरण गरिएको उनले बताए । आजको बैठकमा यसअघि सचिवालय बैठक बोलाउनका लागि प्रचण्डले गरेको आग्रह र सचिवालयका बहुमत सदस्यहरूले पेश गरेको लिखित पत्रका विषयमा पनि छलफल भएको छ ।

प्रचण्डले ओलीलाई बैठक बोलाउन माग गर्दै पठाएको पत्र तयसको जवाफमा ओलीले प्रचण्डलाई पठाएको पत्र त्यसपछि प्रचण्डले ओलीलाई पठाएको पत्रको जवाफका विषयपनि बैठकमा उठेको उनले बताए ।

ती पत्रहरूसमेत सचिवालयका सदस्यहरूलाई वितरण गरिएको छ । वितरण भएका सबै सामग्री अध्ययन गरी अर्को बैठकमा पार्टी एकताको रक्षा, पार्टी र सरकारका सामु देखिएका ऐतिहासिक जिम्मेवारी पूरा गरेर अगाडी बढ्ने विषयमा छलफल गर्ने उनले बताए ।

आगामी बैठकमा कर्णाली र पर्सा घटनालगायतका विषय पनि छलफलका एजेण्डा बन्नेछन् ।