Rumpum Advertisement
Dazzu

पार्टीको निर्णय सबैले स्वीकार गरे पार्टीभित्रको समस्या समाधान हुन्छ : नेता नेपाल

पार्टीको निर्णय सबैले स्वीकार गरे पार्टीभित्रको समस्या समाधान हुन्छ : नेता नेपाल

काठमाडाैं, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिवद्धता भए पार्टीभित्र देखिएको समस्या समाधान हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफैं हुने बताएका हुन् ।

त्यसका लागि पार्टी कमिटीको बैठक निरन्तर राखी छलफल, बहस र वादविवाद गर्नुपर्ने बताए । बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन नसक्ने पनि वरिष्ठ नेता नेपालले बताए ।

‘पार्टी कमिटी नै एउटा ठाउँ हो जहाँ सबै खालका कुराहरू आउँछन, आउनुपर्छ । छलफल बहसबाट नै उपाय खोज्नुपर्छ । किनभने हामीले आन्दोलनलाई र यो पार्टीलाई एकतावद्ध भएर अगाडी बढाउनुपर्छ । एकतावद्ध भएर अगाडी बढाउन गई हामी सबै अनुशासनमा बाँधिनुपर्छ । अनुशासनमा बाँधिने हो भने आफ्नो आफ्नो ठाउँमा सशक्त र प्रभावकारी भूमिका खेल्ने हो भने भएका कमी कमजोरीलाई सुधार्ने हो भने त्यसपछि यो आन्दोलन अगाडि बढ्छ, पार्टी अगाडि बढ्छ’, उनले भने ।

‘जनताको चाहनालाई हामी विगतमा पनि छलफल बहस बादविवाद हुँदै आएका छन् । छलफल बहसबाट भाग्नेपनि होइन, बैठकबाट भाग्नेपनि होइन, कमिटी प्रणालीबाट भाग्नेपनि होइन एक्लै बन्ने पनि होइन, पार्टीको सामूहिक नेतृत्वलाई पार्टीको निर्णयलाई स्वीकार गर्ने सबैमा प्रतिवद्धता चाहिन्छ,’ उनले थपे ।

पार्टीलाई एकतावद्ध भएर अगाडि बढाउन सबै नेता कार्यकर्ता अनुशासनमा बाँधिनुपर्ने पनि वरिष्ठ नेता नेपालले बताए । पार्टीको अनुशासनमा बाँधिने र आ–आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्ने र कमिकमजोरीहरूलाई सुधारेमा कम्युनिष्ट आन्दोलन र पार्टी एकतालाई बचाउन सकिने बताए ।