Rumpum Advertisement
Dazzu

मेस्सीको गोललाई मान्यता नदिएकोमा अर्जेन्टिनाका प्रशिक्षकको आपत्ति

मेस्सीको गोललाई मान्यता नदिएकोमा अर्जेन्टिनाका प्रशिक्षकको आपत्ति

विराटनगर, २८ कात्तिक । सन् २०२२ मा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनौटतर्फ अर्जेन्टिना पराग्वेसँग बराबरीमा रोकियो । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना आफ्नै मैदानमा पराग्वेसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

ला बोम्बोनेरामा पराग्वेले खेलको २१औं मिनेटमा एन्जल रोमेरोको पेनाल्टी गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको ४१औं मिनेटमा निकोलास गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए ।

दोस्रो हाफमा मेस्सीले गोल गरेका थिए । तर, मेस्सीको गोल मान्य भएन । भीएआरले सो गोललाई मान्यता नदिएका कारण अर्जेन्टिना उक्त खेलमा विजयी हुनबाट बञ्चित भयो ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले भने भीएआरको निर्णयप्रति आपत्ति जनाएका छन् । खेलपछि पत्रकारसँग कुरा गर्दै स्कालोनीले भीएआरको निर्णयमा एकरुपता हुनुपर्ने बताए ।

‘मेरो विचारमा भीएआरको विषयमा एकरुपता हुनु जरुरी छ । म भीएआरको निर्णय राम्रो वा नराम्रो भएको विषयमा कुरा गरिरहेको छैन । तर, मापदण्ड हुनु आवश्यक छ । भीएआरले ठीकसँग रिभ्यु गर्न जरुरी छ’ उनले भने ।

बराबरीसँगै अर्जेन्टिना छनौट चरणको शीर्ष स्थानमा उक्लिएको छ । उसले ३ खेलबाट ७ अंक जोडेको छ ।

यसअघि अर्जेन्टिनाले पहिलो खेलमा इक्वाडरलाई १–० गोलले हराएको थियो भने दोस्रो खेलमा बोलिभियामाथि २–१ गोलको जित निकालेको थियो । ६ अंक भएको ब्राजिल दोस्रो स्थानमा छ । यता, पराग्वे भने ५ अंकसहित चौथो स्थानमा छ ।