Rumpum Advertisement
Dazzu

शीर्ष स्थानमा उक्लिने दाउमा ब्राजिल, उरुग्वे र कोलम्बिया पनि प्रतिस्पर्धामा

शीर्ष स्थानमा उक्लिने दाउमा ब्राजिल, उरुग्वे र कोलम्बिया पनि प्रतिस्पर्धामा

विराटनगर, २८ कात्तिक । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत शनिबार बिहान ब्राजिलले भेनेज्वेलासँग खेल्दैछ । यो खेल भोलि बिहान ६ः१५ बजे ब्राजिलको मैदानमा हुनेछ ।

यस खेलमा घरेलु टोली ब्राजिल लगातार तेस्रो जितको खोजीमा छ । यसअघि उसले पहिलो खेलमा बोलिभियामा ५–० गोलको फराकिलो जित निकालेको थियो भने दोस्रो खेलमा पेरुलाई ४–२ गोलले हराएको थियो ।

ब्राजिल छनौट चरणको दोस्रो स्थानमा छ । उसले दुई खेलबाट ६ अंक बनाएको छ । शीर्ष स्थानमा भने तीन खेल खेलेको अर्जेन्टिना छ । अर्जेन्टिनासँग ७ अंक छ । भेनेज्वेला भने अंकविहीन रहँदै नवौं स्थानमा छ । उसले दुवै खेलमा पराजय ब्यहोरेको छ ।

भेनेज्वेलाविरुद्धको खेलमा ब्राजिल स्टार खेलाडी नेयमारविना मैदान उत्रिनेछ । उनी चोटका कारण टोलीबाहिर छन् ।

यसैगरी शनिबार हुने अर्को खेलमा कोलम्बिया र उरुग्वेले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन् । राति २ः१५ बजे हुने सो खेल कोलम्बियाको मैदानमा हुनेछ । कोलम्बिया ४ अंकका साथ पाँचौं स्थानमा छ भने उरुग्वे ३ अंकका साथ छैटौं स्थानमा छ ।

बिहान ४ः४५ बजे हुने अर्को खेलमा चिली र पेरुले खेल्दैछन् । चिली सातौं र पेरु आठौं स्थानमा छ । दुवैसँग १–१ अंक छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ