Rumpum Advertisement
Dazzu

समाजभित्रै मेलमिलाप गर्ने प्रवृत्तिले यौन हिंसा न्यूनीकरणमा बाधा पुग्यो : कानूनमन्त्री तुम्बाहाङ्फे

समाजभित्रै मेलमिलाप गर्ने प्रवृत्तिले यौन हिंसा न्यूनीकरणमा बाधा पुग्यो : कानूनमन्त्री तुम्बाहाङ्फे

काठमाडाैं, २८ कात्तिक । कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले यौन हिंसासम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गर्ने प्रवृतिले हिंसा न्यूनीकरणमा बाधा पुगेको बताएकी छन् ।

यौन हिंसासम्बन्धमा कलम चलाउँदै आएका पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले कतिपय यौन हिंसासम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गर्ने गरिएकाले यौन हिंसालाई प्रोत्साहन गरिरहेको बताइन् ।

खासगरी बलात्कारजन्य घटनाहरूमा समाजभित्रै मेलमिलाप गर्ने गरिएको पाइएको छ । यौन हिंसासम्बन्धी घटनाहरूलाई समाजभित्रै मेलमिलाप गर्नु हुँदैन भन्ने व्यवस्था ऐन कानूनमा नै गर्नुपर्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताए ।

मेलमिलाप गराउने वा गर्नको लागि उत्साहित गर्ने व्यक्तिहरुलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने व्यवस्था गर्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको छ । स्थानीय तहमा गठित न्यायिक समितिमा यस्ता घटनाको मेलमिलाप गर्नु हुँदैन भन्ने जानकारी भएको तर यस्ता घटनाहरू न्यायिक समितिमा आउनै नदिनेगरी समाजभित्रै मेलमिलाप हुने गरेको बताइन् ।

समाजमा हुने यौन हिंसामा मेलमिलाप गर्नु हुँदैन भन्ने सन्देश सञ्चारमाध्यमबाट दिन सके यौन हिंसा न्यूनीकरणमा सघाउ पुग्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् ।

कडा प्रकृतिका सजाय दिने व्यवस्था कानूनमा गर्दैमा घटना कम हन्छ भन्ने नभएकाले सचेतनामा नै जोड दिनुपर्नेमा उनको भनाइ छ । यस्तै पछिल्लो समय बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने सम्बन्धमा बहस भएपनि संविधानमा भएको व्यवस्थाअनुरुप नेपालमा कुनैपनि घटनामा मृत्युदण्ड दिने कानून निर्माण गर्न नमिल्ने स्पष्ट पारिन् ।