Rumpum Advertisement
Dazzu

बैतडी दुर्घटना : मृतक सबैको सनाखत

बैतडी दुर्घटना : मृतक सबैको सनाखत

बैतडी, २८ कात्तिक । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका नौजनाकै सनाखत भएको छ ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले शुक्रबार भएकाे सो दुर्घटनामा मृत्यु भएका ९ जनाकै सनाखत भएकाे छ ।

मृत्यु हुनेमा बैतडीको दोगडाकेदार-६ का २५ वर्षका प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार-६ कै २७ वर्षका करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौरका १५ वर्षका कीर्तिका कार्कीको रहेका छन् ।

यसैगरी दार्चुलाको लेकम गाउँपालिका-४ का तर्कराज गिरी, दार्चुलाकै मालिकार्जुन गाउँपालिका-५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० का बिजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका-४ का नरेन्द्र चौधरी र धनगढी उपमहानगरपालिका-१८ का ऋषिराम चौधरीको दुर्घटनामा मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी घाइते भएका ३४ मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । क्षमताभन्दा बढी यात्रु बोकेको बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।