Rumpum Advertisement
Dazzu

चाडपर्वमा राराताल घुम्नेको लर्को

चाडपर्वमा राराताल घुम्नेको लर्को

सिञ्जा, २८ कात्तिक । मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दसैंतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो ।

दसैंतिहारको बीचमा आन्तरिक पर्यटकको सङ्ख्या वृृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले कोरोना महामारीले करिब सात महिना सुनसान रहेको रारामा अहिले दैनिक १५० जनासम्म आन्तरिक पर्यटक सडक र हवाईमार्गबाट आउने गरेको जानकारी दिए ।

कोरोनाका कारण सुनसान रहेको रारामा अहिले घुम्न आउनेको सङ्ख्या बढ्दै गएको र अहिले राराका आसपासका होटेल र गाउँ भरिभराउन हुन थालेकाे उनले बताए ।

निकुञ्जका अनुसार यस वर्षको असोज र कात्तिकमा रारामा झण्डै तीन हजार आन्तरिक पर्यटक भित्रिएका छन् ।

प्रायः आन्तरिक पर्यटक मोटरसाइकल, जीप र हवाईमार्गबाट रारा आउने गरेको निमित्त संरक्षण अधिकृत बुढाले जानकारी दिए ।

रारामा घुम्न आउने पर्यटक बढेका कारण रारा विमानस्थलमा तारा, सीता र गोमा एयरलाइन्सले दैनिक पाँचदेखि सात वटासम्म सुर्खेत र नेपालगञ्जबाट उडान भर्ने गरेका छन् ।

रारा घुम्नलाई चैत, वैशाख, जेठ, भदौ, असोज र कात्तिक महिना उपयुक्त भएका कारण आन्तरिक पर्यटकको सङ्ख्या बढेको मुगु झ्यारिका रमेश रावतले बताए ।

बिदामा रारामा जानेको सङ्ख्या बढेपछि कर्णाली राजमार्गमा रहेका होटेलमा पनि चहलपहल बढेको सिञ्जा गोठिज्युलाका होटेल व्यवसायी भक्तबहादुर बुढाले बताए । रासस