Rumpum Advertisement

रोनाल्डो युनाइटेड फर्किनसक्ने

रोनाल्डो युनाइटेड फर्किनसक्ने

विराटनगर, २७ कात्तिक । इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो पूर्वक्लब म्यानचेस्टर युनाइटेड फर्किनसक्ने देखिएको छ । खेल मिडिया ‘ईएसपीएन’का अनुसार पोर्चुगिज स्टार रोनाल्डो आगामी सिजनमा ओल्ड ट्राफोर्ड फर्किने सम्भावना छ ।

पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल मड्रिडबाट इटाली आएका हुन् । १०० मिलियन युरोमा ९ वर्षे रियल बसाइ बिट मार्दै इटाली आएका रोनाल्डोले युभेन्टसबाट ९४ खेलबाट ७१ गोल र १९ असिस्ट गरेका छन् ।

३५ वर्षीय रोनाल्डोले राम्रै प्रदर्शन गरिरहेका छन् । यस सिजन उनले सिरी ‘ए’मा ६ खेल खेल्दा ६ गोल गरिसकेका छन् । उनी सन् २००९ मा महँगो खेलाडी बन्दै युनाइटेडबाट स्पेन गएका थिए ।

रियलमा ९ वर्ष खेलेर इटाली आएका रोनाल्डो पुनः प्रिमियर क्लब फर्किन सक्ने ईएसपीएनका पत्रकार क्रिस्टियन मार्टिनले उल्लेख गरेका छन् ।

‘म्यानचेस्टर र पोर्टोमा भएको हाम्रो स्रोतका अनुसार रोनाल्डो आगामी सिजनमा युनाइटेड फर्किन सक्नेछन्,’ मार्टिनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘रोनाल्डोको तथ्यांकले पनि यहीँ देखाउँछ । रोनाल्डोको सरुवाको विषयमा युभेन्टस सकारात्मक छ ।’

रोनाल्डो र युभेन्टसबीच जुन २०२२ सम्मको सम्झौता छ । फ्रि ट्रान्सफरमा टुरिन छोड्नुभन्दा अगाडि ठूलो रकममा रोनाल्डोलाई बेच्ने दाउमा युभेन्टस रहेको बताइएको छ ।

कोरोना महामारीले क्लबमा परेको आर्थिक प्रभावका कारण उनलाई बेच्ने युभेन्टसको तयारी रहेको जनाइएको छ । रोनाल्डोलाई पारिश्रमिक दिन कठिन भएका कारण उनलाई अर्को समरमा बेच्ने तयारी युभेन्टसको रहेको बताइएको छ ।

यता, रोनाल्डोको पनि युनाइटेड मन पर्ने क्लबमध्ये एक हो । यो कुरा उनी आफैंले खुलाएका छन् । २०१४ मा उनले एक दिन आफू ओल्ड ट्राफोर्ड फर्किने कुरा बताएका थिए ।

‘मलाई म्यानचेस्टर मन पर्छ । सबैलाई थाहै होला, म्यानचेस्टर मेरो हृदयमा छ, त्यहाँका समर्थक अविश्वनीय छन् र एक दिन म त्यहीँ फर्किन चाहन्छु’, उनले भनेका थिए ।

रोनाल्डोले इंग्ल्याण्डमा ६ वर्ष बिताएका थिए । जसक्रममा उनले तीन पटक प्रिमियर लिग र एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । युनाइटेडबाट २९२ खेल खेल्दा ११८ गोल गरेका रोनाल्डो ९६ मिलियन युरोमा रियल मड्रिड सरुवा भएका थिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ