Rumpum Advertisement
Dazzu

घरमै सजिलोसँग भक्का बनाउने तरिका

घरमै सजिलोसँग भक्का बनाउने तरिका

विराटनगर, २७ कात्तिक । विशेषगरी तराईमा जाडोको बेला बिहानको खाजाको रूपमा भक्का रुचाइन्छ ।

जाडो सुरु भएदेखि नै तराईका ठाउँठाउँमा भक्काको व्यापार सुरु भइसकेको छ । चिल्लो तथा मसला नहुने कारण मानिसका लागि भक्का हलुका नास्ता हुने हुन्छ ।

फाइबरको स्वस्थ मात्रा समावेश हुने भक्काले पाचन पथ सक्रिय राख्छ । एक उच्च फाइबर आहार हृदय स्वास्थ्यको सुधार गर्न, रगतमा चिनीको स्तर नियन्त्रण गर्न र पाचन समस्या हटाउन मद्दत गर्न सक्छ ।

छिटो पाक्ने तथा मीठो पनि हुने हुँदा भक्कालाई सजिलो नास्ताको रूपमा उपभोग गरिन्छ । भक्का चामलको पीठोबाट बनाइने परिकार हो । यसलाई घरमा मोमो पकाउने भाडामा सजिलै तरिकाले बनाउन सकिन्छ ।

भक्का बनाउन चाहिने सामाग्री : चामलको पीठो, आवश्यकताअनुसार चिनी, घ्यु, खीरमा हालिने मसला (नराखेपनि हुन्छ), मनतोतो पानी, सुतीको कपडा ।

भक्का बनाउने तरिका : सुरुमा चामलको पीठोमा थोरै मनतातो पानी, घ्यु र खीर मसाला राखेर मज्जाले माड्नु पर्छ । धेरै पानी राखेर पिठो जस्तो नभएर थोरै पानी राखी सुख्खा हुनेगरी माड्नुपर्छ । त्यसपछि, मोमोको भाडोमा पानी राखेर आगोमा बसाल्नु पर्छ ।  

तयार पारिएको पीठोलाई सानो कचौरा वा प्लेटभरि राखेर पातलो सुतीको कपडा माथिबाट छोपेर भाडामा बाफ निस्किने दुलो छोप्नेगरी उल्टो पारेर राख्ने । र, १० देखि १५ सेकेन्डपछि कचौरालाई निकाल्नु पर्छ ।

३ देखि ४ मिनेटसम्मका लागि बाफ लागेपछि कपडासँगै भक्का निकाल्ने । भाँडामा उमालिएको पानीको वाफबाट पीठो पाकेपछि स्वादिलो भक्का बन्छ । र, बनेको भक्कालाई प्लेटमा राखी धनियाँको अचारसँग सेवन गर्न सकिन्छ ।