Rumpum Advertisement
Dazzu

राजदूत बन्न पदको दुरुपयोग गरेको छैन : लोकदर्शन रेग्मी

राजदूत बन्न पदको दुरुपयोग गरेको छैन : लोकदर्शन रेग्मी

काठमाडाैं, २७ कात्तिक । बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफूले पदको दुरुपयोग नगरेको स्पष्ट पारेका छन् ।

संघीय संसदको संसदीय सुनुवाई समितिमा बिहीबार भएको सुनुवाईमा सांसदहरूको प्रश्नको जवाफ दिँदै रेग्मीले राजदूत पाउन आफूले पदको दुरुपयोग नगरेको स्पष्ट पारेका हुन् ।

सनुवाईका क्रममा सांसदहरूले राजदूत पाउनका लागि मुख्य सचिवबाट राजीनामा दिएको भन्दै प्रश्न गरेका थिए । प्रस्तावित राजदूत रेग्मीले अहिलेको संविधान र कानूनबमोजिम सरकारले गरेको निर्णयलाई शिरोधार्य गरेको बताए ।

तर पद पाउनैका लागि मात्रै राजीनामा नगरेको पनि उनले स्पष्ट पारे । राजदूत पद परराष्ट्र मन्त्रालयको मात्रै विषय नभएकाले यसलाई मुलुकको प्रतिनिधित्वको रूपमा लिनुपर्ने बताए ।

यस्तै सार्वजनिक पदमा रहेका बेला आफूले कुनै किसिमको आर्थिक अनियमितता नगरेको, आर्थिक आर्जन गरी कुनैपनि व्यक्तिको नाउँमा रकम नराखेको बताउँदै राज्यका जुनसुकै निकायबाट छानविन भएमा आफू सघाउन तयार रहेको बताए ।

सनुवाईमा सांसदहरुले मुख्य सचिवमा पदबाहली रहेको बेला राजीनामा दिएर राजदूतको सिफरिस लिन जाँदा कर्मचारीतन्त्रको रूपरेखा बिग्रिएको भन्दै आपत्ति जनाएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सुरेन्द्र पाण्डेले मुख्यसचिव पद बीचैमा छाडेर हिँडदा कर्मचारीतन्त्रकै रूपरेखा बदलिएको बताए ।

सरकारी नोकरी सकिएपछि तत्काल अर्को नियुक्तिमा जानुपर्ने प्रवृति देखा परेको भन्दै त्यसलाई नियन्त्रण गर्न कुलिङ पिरियडको व्यवस्था गर्नुपर्ने स्थिति देखिएको उनले बताए ।

नेपाली कांग्रेसकी सांसद पुस्पा भुषालले पनि मुख्यसचिव हुँदाहुँदै राजीनामा दिएर अर्को नियुक्ति लिँदा कर्मचारीतन्त्रमा नराम्रो असर परेको बताइन् ।

मुख्य सचिवबाट दिएको राजीनामाको सिफारिस भएको मन्त्रिपरिषद् बैठकबाटै राजदूत सिफरिस हुनुले पदको दुरुपयोग गरिएको हुनसक्ने सांसदहरूले बताएका हुन् । तर रेग्मीले अहिलेको संविधान र कानूनबमोजिम सरकारले गरेको निर्णयलाई नै आफूले शिरोधार्य गरेको जवाफ दिए ।