Rumpum Advertisement
Dazzu

पटाका पड्काउँदा आगलागी, १५ लाख बराबरको क्षति

पटाका पड्काउँदा आगलागी, १५ लाख बराबरको क्षति

सप्तरी, २७ कात्तिक । सप्तरीमा बालबालिकाले पटाका तथा अन्य विष्फोटक पदार्थहरू पड्काउँदा आगलागी भएकाे छ । पटाकाकै कारणले सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीस्थित मुखिया टोलमा आगलागीमा भएकाे हो । आगलागीबाट झण्डै १५ लाख मूल्य बराबरको क्षति भएको छ ।

डाक्नेश्वरी नगरपालिका-३ तरहीका बतहीदेवी मुखियाको घरबाट अचानक सुरु भएको आगो छिमेकी राजकुमार मुखिया, रामरुप मुखिया, नरेश मुखिया, राज मुखिया र मुकेशकुमार मुखियाको घर र घरमा रहेको सम्पूर्ण सरसामान जलेको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।

यता, आगलागीले राजकुमारको मात्रै ६ लाख ५० हजार रुपैयाँको धनमाल जलेको छ । यसैगरी, बतहीको ४७ हजार रुपैयाँ, रामरुपको १ लाख ५० हजार रुपैयाँ, नरेशको ३ लाख ५० हजार, राजको २ लाख रुपैयाँ र मुकेशको २ लाख ७० हजार रुपैयाँको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी स्थानीयवासिन्दा, प्रहरी र वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको सप्तरी प्रहरीले जनाएको छ ।