Rumpum Advertisement
Dazzu

डा. युवराज खतिवडालाई सांसदहरूको आरोप : अर्थमन्त्री हुँदा धेरै गलत निर्णय गर्नुभो

डा. युवराज खतिवडालाई सांसदहरूको आरोप : अर्थमन्त्री हुँदा धेरै गलत निर्णय गर्नुभो

काठमाडाैं, २७ कात्तिक । अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाको सुनुवाईमा सांसदहरूले एमसीसी, क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरण, एनसेल, स्वेतपत्र लगायतका विषय उठाउँदै प्रश्न गरेका छन् ।

संघीय संसदको संसदीय सुनुवाई समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरूले अर्थमन्त्री खतिवडाले विगतमा गरेका कामहरूलाई लिएर कडा प्रश्न गरेका हुन् । सुनुवाइका क्रममा नेकपाका सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री भएको बेला एमसिसी पारित गराउन भूमिका खेल्न नसक्नेले राजदूत भएर कसरी भूमिका खेल्नुहुन्छ भन्दै प्रश्न गरे ।

यस्तै डा. खतिवडा अर्थमन्त्री भएलगत्तै ल्याएको स्वेतपत्रमा अर्थतन्त्रको अवस्था कमजोर देखाइएको भन्दै पाण्डेले प्रश्न गरे । देशमा उच्च आर्थिक वृद्धि भएको अवस्थामा अर्थतन्त्र कोल्याप्स हुन लागेको जस्तो स्वेत पत्र जारी गर्नु अनुचित भएको बताए ।

यस्तै क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरणको सम्बन्धमा समेत सांसद पाण्डेले स्पष्ट पार्न आग्रह गरेका थिए । त्यसबाहेक एनसेल प्रकरणमा सर्वोच्च अदालतको फैसलाको बारेमा केही मुद्दा चलेको भन्ने सुनिएको र त्यसमा अर्थमन्त्री हुँदा मुद्दाको प्रतिवादी नलगाउन निर्देशन दिएको भन्ने प्रश्न उठेको भन्दै स्पष्ट पार्न सांसद पाण्डेले आग्रह गरे ।

नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डा. खतिवडा अर्थमन्त्री हुनेबित्तिकै ल्याएको स्वेत पत्रलाई लालपत्रको संज्ञा दिए । उनले स्वेतपत्र प्रस्तुत गरेर आफ्नै विश्वसनियतामाथि प्रश्न उठाउने काम गरेको बताए ।

सुनुवाईमा नेपाली कांग्रेसकी सांसद पुस्पा भुषालले डा. खतिवडा अर्थमन्त्री भएपछि धेरै गलत निर्णयहरू गरेको बताइन् । विद्युतीय मोटर र पुस्तकमा कर बढाउने र चक्लेटमा घटाउने काम गरेको र अर्थमन्त्रीबाट हट्नेबित्तिककै सरकारले नै त्यसलाई उल्ट्याउने निर्णयले डा. खतिवडाका निर्णयहरू गलत थिए भन्ने पुष्टि भएको उनले बताइन् ।

राजदूत भएर एमसीसीको प्रक्रिया अगाडि बढाउन भूमिका खेल्ने आधार स्पष्ट पार्नसमेत आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शिवकुमार मण्डलले अर्थमन्त्री भएको बेला आफ्नै नातेदारले चक्लेटजन्य वस्तुहरू आयात गर्ने व्यवसाय गर्ने भएकाले कर घटाइदिएको आरोप लागेको भन्दै स्पष्ट पार्न आग्रह गरे ।