Rumpum Advertisement
Dazzu

जाडो मौसममा देखिने डिप्रेसन, यसरी बच्न सकिने

जाडो मौसममा देखिने डिप्रेसन, यसरी बच्न सकिने

विराटनगर, २७ कात्तिक । जाडोको मौसममा ‘सिजनल अफेक्टिभ डिसअर्डर’को समस्या अर्थात् मौसमी डिप्रेसन देखिने हुन्छ ।

जाडो महिनाको सुरुवाती समयमा सिजनल अफेक्टिभ डिसअर्डर समस्या धेरैमा देखिने गरेको पाइन्छ । मानसिक रोग विशेषज्ञका अनुसार यसलाई ‘विन्टर डिप्रेसन’ पनि भनिने गरिन्छ । डाक्टरहरूले यो समस्या किन हुन्छ भनेर थाहा पाउन सकेका छैनन्, तर अमेरिकन साइकियट्रिक एसोसिएसनले सूर्यको कमीले दिमागमा रासायनिक असन्तुलन सिर्जना गर्छ र मौसममा हुने परिवर्तनले गर्दा प्रायः यो समस्या सुरु हुने बताउँछन् ।

सेरोटोनिन र मेलाटोनिन हर्मोनको कमी र गडबडीका कारण सिजनल अफेक्टिभ डिसअर्डर हुने गर्छ । जाडोको सुरुवातसँगै घामको अभावले अल्छीपना बढ्ने, मुड परिवर्तन हुने, निराशा बढ्ने, सुतिरहन मन लाग्ने, काममा एकाग्र हुन नसक्ने, काम गर्न मन नलाग्ने र सामान्य डिप्रेसनको लक्षण देखा पर्न थाल्छ । गर्मी आएसँगै यसको असर पनि घट्दै जान्छ र पुनः जाडो मौसममा डिप्रेसनको समस्या बल्झिन थाल्छ ।

शरीरको हर्मोन परिवर्तनमा सामान्यतया सूर्यको किरणको भूमिका मुख्य हुन्छ । सूर्यको किरणको अभाव हुनु डिप्रेसनको मुख्य कारण हुने हुँदा दिनको समय केहीबेर मात्र घाममा निस्कनु आवश्यक हुन्छ साथै यसले एकदम धेरै फाइदासमेत गर्छ । पुरुषको तुलनामा हर्मोनमा आइरहने परिवर्तनका कारण युवती र महिलाहरू चारगुणा बढी प्रभावित हुने पाइएको छ । आफैं ठीक हुँदै जाने हुनाले कतिपयलाई डिप्रेसन भएकोसमेत पत्तो हुँदैन ।

सिजनल डिसअर्डरको उपचारका लागि थोरै मानिस मात्र चिकित्सककहाँ जाने गर्छन् । सिजनल डिसअर्डरबाट जोगिनका लागि योग तथा व्ययाम गर्ने, साथीभाइहरूसँग सम्पर्कका रहने, क्याफिनको सेवन कम गर्ने, समययमा सुत्ने र उठ्ने तालिका बनाउने, हिटरको प्रयोग गर्न सकिन्छ ।