Rumpum Advertisement
Dazzu

नेयमारविना पनि ब्राजिललाई जिताउने जेससको चाहना

नेयमारविना पनि ब्राजिललाई जिताउने जेससको चाहना

विराटनगर, २७ कात्तिक । ब्राजिलियन फरवार्ड नेयमारले विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत भेनेज्वेलासँगको खेल गुमाउने पक्का भइसकेको छ ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमारले चोटका कारण शनिबार बिहान हुने उक्त खेल गुमाउने पक्का भएको छ । तर, ब्राजिलका अर्का फरवार्ड ग्राबियल जेससले भने नेयमारविना पनि ब्राजिललाई जिताउने चाहना ब्यक्त गरेका छन् ।

२८ वर्षीय नेयमारले चोटका कारण पीएसजीका तीन खेल गुमाइसकेका छन् । सन् २०१४ को विश्वकप नेयमारले चोट बोकेपछि ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग ७–१ गोलको लज्जास्पद हार ब्यहोरेको थियो ।

तर, अघिल्लो वर्ष भएको कोपा अमेरिकामा ब्राजिलले नेयमारविना पनि उपाधि जितेको थियो । यस्तैमा जेससले नेयमारको अनुपस्थितिमा पनि ब्राजिललाई जिताउँदै आफूहरूलाई सावित गर्ने बताए ।

‘पक्कै पनि क्लबका लागि र राष्ट्रका लागि नेयमारको महत्त्वका बारेमा हामी कुरा गर्नेछौं, उनले कति योगदान दिएका छन् र दिनेछन् । म उनको ठूलो फ्यान हुँ । तर, जब राष्ट्रिय टोलीको कुरा आउँछ । सबैले आफ्नो योगदान दिएकै हुन्छन्, यसमा म उनलाई तल झार्न सक्दिँन,’ उनले भने ।

‘नेयमारसँग हुँदा हामी जितको नजिक हुन्छौं तर ब्राजिलले नेयमारविना पनि हामीहरू खेल्न सक्छौं भन्ने बुझ्नपर्छ । उनी सधैं उपलब्ध भएको हेर्न हामी पनि चाहन्छौं र गोल गरेको अनि असिस्ट गरेको हेर्न चाहन्छौं । जब उनले खेल्न सक्दैनन्, हामी उनको महत्त्व बुझ्छौं र जिम्मेवारी बाँड्छौं । तर, उनीविना पनि हामी जित्न सक्छौं ।, उनले थपे ।