Rumpum Advertisement
Dazzu

‘सुरक्षित चाडपर्व मनाउन सबै स्वतन्त्र’

‘सुरक्षित चाडपर्व मनाउन सबै स्वतन्त्र’

विराटनगर, २७ कात्तिक । तिहारको चहलपहल सुरु नहुँदै विराटनगरमा छठ मनाउन मोरङ प्रशासनले रोक्यो भन्दै हल्लाखल्ला सुरु भएको छ ।

विराटनगरका विभिन्न खोला, पोखरी र नहरमा छठ पूजा आयोजना गर्ने समितिहरुले प्रशासनले नदिए पनि पूजा गर्ने भन्दै पत्रकार सम्मेल गरे । मोरङ प्रशासनले छठ पूजामा रोक लागाएर धार्मिक आस्थामाथि प्रहार गरेको उनीहरुले आरोप लगाएका थिए ।

विराटनगरमा कात्तिक २३ गते पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाए पनि मोरङ प्रशासनले भने त्यस्तो नगरेको बताएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले चाडवाड मनाउन कसैलाई नरोकेको कोशी अनलाइनलाई बताए । ‘घाटमा जग्गा भाडामा लगाउनेहरुले हल्लाखल्ला गरेको हो,’ उनले भने, ‘चाडपर्वमा समूहमा भेला नहुन अनुरोधमात्र गरेका हौं ।’

कोभिड १९ को संक्रमण तीव्र रहेको अहिलेको अवस्थामा समूह–समूह बनाएर भिडभाड नगरिदिन मात्र भनेको निरौलाले बताए । उनले दसैँ मनाउन कसैलाई नरोकेको र तिहार पनि मनाउने तथा छठ पनि आफैं सुरक्षित भएर मनाउन कसैलाई रोक नभएको उनले बताए ।

छैठको समयमा विराटनगर महानगरपालिकाभित्र रहेका विभिन्न घाटहरुमा धेरै भिड हुने गर्छ । यसको व्यवस्थापनका लागि विराटनगर महानगरपालिका छलफलको क्रममा रहेको छ । कोभिड १९ संक्रमण फैलँदो अवस्थामा रहेको बेला मोरङ प्रशासनले सबैको हितलाई विचार गरेर निर्णय गरेको हुनुपर्ने विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेलले बताए । छठको समयमा हुने भिडभाडको व्यवस्थापन विराटनगर महानगरपालिकाबाट सम्भव नभएको पोखरेलले कोशी अनलाइनलाई बताए ।

बजार तथा नेताहरुले गर्ने कार्यक्रममा हुने भिडलाई प्रशासनले बेवास्था गर्ने तर सबैको आस्थाको पर्व छठ मनाउन रोक लागउन नहुने प्रदेश १ सांसद तथा नेपाली काग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए । उनले प्रशासन तथा जनप्रतिनिधिले सुरक्षितरुपले चाडपर्व मनाउन सहजीकरण गरिदिनु पर्ने बताए ।

तस्बिरहरु : नवीन गड्तौला