Rumpum Advertisement

विश्वकप छनोटको बाँकी खेल २०२१ जुनभित्र हुने

विश्वकप छनोटको बाँकी खेल २०२१ जुनभित्र हुने

काठमाडौ, २७ कात्तिक । कतार विश्वकप छनोटअन्तर्गत नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ को जुन महिनाभित्र सकिने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो । यसअघि अक्टोबर र नोभेम्बरका लागि तय भएका छनोट खेल कोरोना महामारीका कारण अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।

एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको हो । छनोटअन्तर्गत बाँकी रहेको खेल मार्च र जुनमा हुने एएफसीले बताएको छ ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटका लागि नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।

छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशको ढाकामा छ । बंगलादेशसँग भोलि (शुक्रबार) पहिलो मैत्रिपूर्ण खेल खेल्दै छ भने मंसिर २ गते दोस्रो मैत्रिपूर्ण खेल सकेर स्वदेश फर्किने तालिका रहेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ