Rumpum Advertisement

तिहारका लागि खजुरी पकाउने सजिलो विधि

तिहारका लागि खजुरी पकाउने सजिलो विधि

विराटनगर, २७ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिएको छ ।

तिहारलाई परिवारसँग मिलेर विभिन्न खानाको परिकार बनाएर खाने पर्वको रूपमा पनि मनाउने गरिन्छ । तिहारमा अन्य परिकारभन्दा रोटीका थरीथरी परिकार बनाएर खाने गरिन्छ । खजुरीलाई पनि तिहारको विशेष परिकार मानिन्छ ।

खजुरी आँटा, मैदा र सुजिले तयार पारिन्छ ।

तिहारमा बनाइने चोखो परिकारको रूपमा खजुरीलाई प्रयोग गरिन्छ । मैदा मननपरेमा आँटाको पिठोमा मात्र तयार गरिने खजुरी एक प्रकारको क्रन्ची परिकार हो । खजुरीलाई घरमा सजिलैसँग तयार गर्न सकिन्छ ।

खजुरी बनाउन चाहिने आवश्यक सामग्री : १ कप आँटा, आधा कप मैदा, १÷३ कप सुजी, नरिवल, हाडे बदाम वा आफूलाई मनपर्ने ड्राइ फ्रुट्स, २ चम्चा पगलेको घ्यु, दालचीनी, चिनी, दुध, तेल ।

खजुरी रोटी बनाउने तरिका : आँटा, मैदा र सुजिमा ड्राइ फ्रुट्स, एक चम्चा दालचीनी राखेर सबै मिलाउने । घ्यु राखेर मज्जाले मुछ्ने र चिनी राख्ने र माड्ने । माडिएको आटामा आधा कप दुध वा पानी राखेर मुछ्ने । दुध एकै पटक राखेरभन्दा पनि थोरैथोरै राखेर मुछ्नु पर्छ । नरम भएपछि खजुरी बनाउन तयार हुन्छ ।

तयार भएको पिठोलाई बेल्ने र ग्लासको सहयताले गोलो–गोलो गरेर काट्ने । वा हातले सानो–सानो डल्लो लिएर गोलो आकार दिएर बीचमा बुट्टा पनि बनाउन सकिन्छ । त्यसपछि तातो तेलमा फ्राई गर्ने । राम्रोसँग पाक्ने गरेर दुबैपट्टि फर्काएर सुनौलो खैरो नहुन्जेल खजुरीलाई पकाउनु पर्छ ।

यसलाई हाइ हिटमा पकाएमा बाहिर दढे पनि भित्र काँचै हुने हुँदा यसलाई लो हिटमा पकाउनु पर्छ । अब यो खान तयार भयो । यसलाई राम्ररी हावा नछिर्ने ठाउँमा राखे धेरै दिन बिग्रँदैन ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ