Rumpum Advertisement
Dazzu

मोरङमा १२ घण्टाभित्र पाँच संक्रमितको मृत्यु

मोरङमा १२ घण्टाभित्र पाँच संक्रमितको मृत्यु

विराटनगर, २७ कात्तिक । कोरोना भाइरसको संक्रमण पुष्टि भएका पाँच जनाको पछिल्लो १२ घण्टाभित्र मोरङमा मृत्यु भएको छ ।

चार जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसमा मृत्यु भएको हो । मृत्यु भएकामध्ये दुई जना झापा, दुई जना मोरङ र एक जना सुनसरीका छन् । उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मात्रै तीन जनाको ज्यान गएको छ ।

मृत्यु भएकामध्ये झापा र सुनसरीका दुई महिला तथा मोरङका एक पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको बिहीबार बिहान ८ बजेतिर ज्यान गएको हो । रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र वान्ता हुने समस्या देखिएपछि महिलालाई कात्तिक ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएको दाहालले बताए ।

अस्पताल भर्ना गरेपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको उनको भनाइ छ । कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी महिलाको तीन सातापछि मृत्यु भएको प्रबन्धक दाहालको भनाइ छ ।

त्यस्तै सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको पनि नोबेलमै बिहान ८ः१० बजेतिर मृत्यु भएको छ । दाहालका अनुसार ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएकी महिलालाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको उनको भनाइ छ । कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरेर थप उपचार थालिए पनि महिलालाई बचाउन नसकिएको जानकारी दाहालले दिए ।

यसैबीच मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि बिहान ७ः३० बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका उनको संक्रमण देखिएको १० दिनपछि उपचारकै क्रममा ज्यान गएको दाहालले बताए । मृतकमा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या रहेको उनको भनाइ छ ।

त्यस्तै झापाको दमक–६ की ४६ वर्षीया महिलाको बुधबार राति ८ बजेतिर मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा ज्यान गएको छ । अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई उपचारका लागि बुधबार बिहान ल्याइएको थियो ।

पीसीआर परीक्षण गराउँदा दिउँसो रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको केही बेरमै महिलाको ज्यान गएको देवले बताए ।

मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया संक्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा कात्तिक १५ गते रिपोर्ट पोजिटिभ आएपछि उनी घरमै होम आइसोलेसनमा रहेको प्रहरीले जनाएको छ ।

श्वास फेर्न गाह्रो भएर स्वास्थ्यमा एक्कासि समस्या आए पनि उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको राति १० बजेतिर मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ । मृतकको शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको जानकारी प्रहरीले दिएको छ ।