Rumpum Advertisement
Dazzu

कतारका राजकुमारले गरे सफल आरोहण

कतारका राजकुमारले गरे सफल आरोहण

विराटनगर, २७ कात्तिक । कोरोना भाइरस (कोभिड–१९) महामारीको असहज अवस्थाका बाबजुद कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाहले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् ।

गत असोजमा नेपाल आइपुगेका कतारका राजकुमार शेख मोहमदसहितको आरोहण दल बुधबार बिहान ११ः२० बजे आमादब्लम हिमालको चुचुरोमा पुगेको हो । कोरोना महामारीका बीच आमादब्लम हिमालको सफल आरोहण गरी अन्तर्राष्ट्रिय जगत्मै नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिदिएको उनको आरोहण व्यस्थापनमा सहभागी हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए ।

कतारका राजकुमारसहित अमेरिकी र क्यानेडियन आरोहीका प्रतिनिधि गत दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो । सो आरोहण दलमा कतारका राजकुमार अब्दुल्लाहसहित अमेरिकी, क्यानेडियन र स्वदेशी गरी १४ जना सहभागी थिए ।

यसअघि बहराइनका राजकुमार पनि नेपालका विभिन्न क्षेत्रको पदयात्रा भ्रमण गरी स्वदेश फर्किएका थिए । बहराइनका राजकुमार फर्किएलगत्तै नेपाल आएका कतारका राजकुमार अब्दुल्लाह गत दसैंको बेला आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका थिए । राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली कात्तिकको पहिलो साता आमादब्लम हिमालको आधार शिविर पुगेको थियो ।

सोलुखुम्बुमा अवस्थित ६ हजार ८ सय १२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो । यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले गत २९ असोजमा ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेको थियो । सोही टोलीले गत १७ असोजमा ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि चढेको थियो । आजको राजधानी दैनिकमा समाचार छ